गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २८ गते । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले रासायनिक मल आपूर्तिमा सहजीकरणका लागि भारतसँग आग्रह गर्नुभएको छ । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले मन्त्री चौधरीसँग गर्नुभएको शिष्टाचार भेटवार्तामा उहाँले सो आग्रह गर्नुभएको हो ।
कृषि मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय कृषि सहकार्य, विशेष गरी रासायनिक मल आपूर्तिसम्बन्धी विषयमा छलफल भएको जनाइएको छ । मन्त्री चौधरीले नेपालमा रासायनिक मल आपूर्तिमा सहयोग गरेकोमा भारत सरकारप्रति आभार व्यक्त गर्दै सरकार–सरकारबिचको पुरानो सम्झौताको म्याद सकिएको विषयमा ध्यानाकर्षण गराउनुभयो । उहाँले नयाँ सम्झौताको प्रक्रिया छिटो अघि बढाउन सहजीकरण गरिदिन भारतीय पक्षसँग अनुरोध गर्नुभएको छ ।
पश्चिम एसियामा उत्पन्न सङ्कटका कारण मल आपूर्तिमा समस्या देखिएको उल्लेख गर्दै मन्त्री चौधरीले आगामी बर्खे धान सिजनलक्षित भारतबाट एक लाख मेट्रिक टन युरिया र ५० हजार मेट्रिक टन डिएपी सरकार सरकार प्रणालीमार्फत खरिद प्रक्रिया सहज बनाइदिन आग्रह गर्नुभयो । मन्त्री चौधरीले नेपाल–भारतबिचको कृषि सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै दुई देशबिचको मित्रता र सहकार्य निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै भारतका राजदूत श्रीवास्तवले अरुण जलविद्युत् आयोजनामा वनसँग सम्बन्धित देखिएका समस्याबारे मन्त्री चौधरीलाई जानकारी गराउनुभएको थियो । भारतको सिलगुढीदेखि नेपालको झापासम्मको दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइप लाइनमा देखिएको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) कार्यमा सहयोग गर्नुपर्नेबारे जानकारी गराउनुभएको छ ।
भेटवार्तामा कृषिक्षेत्रको सहकार्य विस्तारका लागि विभिन्न प्रस्ताव अघि सारिएका छन् । नयाँ कृषि स्टार्टअपमार्फत कृषि उद्यमीलाई अनुभव आदानप्रदान, आधुनिक कृषि प्रविधिबारे ज्ञान अभिवृद्धि तथा क्षमता विकासका लागि पुनः भारत भ्रमणको आयोजना गर्ने प्रस्तावसमेत राजदूत श्रीवास्तवले राख्नुभएको छ ।
त्यसै गरी उखुको उन्नत बिउ अनुदानमा उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ । यसका साथै नेपाल–भारत सीमाक्षेत्रमा देखिने पशुजन्य रोग नियन्त्रणका लागि दुवै देशबिच संस्थागत समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने सहमति भएको जनाइएको छ ।