• २८ चैत २०८२, शनिबार

चियाको समर्थन मूल्य तोक्न आग्रह

blog

कोकिला ढकाल

इलाम, चैत २८ गते । नेपाली चियाको समर्थन मूल्य तोक्न किसानले आग्रह गरेका छन् । चिया रोप्न थालेको करिब १६२ वर्ष पुग्दा पनि अहिलेसम्म सरकारीस्तरबाट नेपाली चियाको न्यूनतम समर्थन मूल्य तोकिएको छैन । 

यसअघि इलामको सूर्योदय नगरपालिकाले ४० प्रतिशत मुना रहेको चियाको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ४० रुपियाँ तोकेको थियो । किसानबाट सो मूल्य कम भएको गुनासो आएपछि सूर्योदय नगरपालिकाले पनि उक्त मूल्य १८ औँ नगर सभाको तेस्रो बैठकबाट हटाउने निर्णय गरेको छ । 

“किसानको गुनासो र खुला बजारको अवधारणा अनुसार यो समर्थन मूल्य हटाउने निर्णय गरिएको छ,” नगरपालिकाका कार्यवाहक प्रमुख दुर्गाकुमार बरालले भन्नुभयो, “अब हाम्रो नगरपालिकाले होइन सङ्घीय सरकारले चियाको समर्थन मूल्य तोक्नु पर्छ । किनकि जुट, उखु, गहुँलगायतका कृषि उत्पादनको पनि सरकारले समर्थन मूल्य तोकेको अवस्था हो ।” 

यस पटक इलामका सबै जसो कारखानाले आआफ्नै ढङ्गले हरियो चियाको मूल्य भने निर्धारण गरिसकेका छन् । देशभरका चिया उद्योगीको संस्था सूर्योदय अर्थोडक्स टी प्रोडुसर्स एसोसिएसनमा आबद्ध कारखानाले प्रतिकिलो ५० रुपियाँदेखि ७५० रुपियाँसम्म तोकेर किसानबाट हरियो पत्ती खरिद गरिरहेको एसोसिएसनका महासचिव गोपाल कट्टेलले जानकारी दिनुभयो । 

“अहिले चियाको खुला बजार छ, निकासी र विदेशी मुद्रा आर्जनको एउटा हिस्सा रहेको चियाको सरकारले समर्थन मूल्य तोकिदिए किसान र उद्योगी सबैलाई फाइदा पुग्छ ।” कट्टेलले भन्नुभयो, “हरियो पत्तीको मूल्य तोक्ने हो भने तयारी चियाको मूल्य पनि सुरक्षित हुन्छ । यसबाट चिया किसान, उद्योगीसहित देशलाई नै फाइदा पुग्छ ।” यस पटक पनि उत्पादन भएको करिब ३० हजार किलो चिया निर्यात भइसकेको कट्टेलले जानकारी दिनुभयो । 

बर्सेनि करोडौँ रुपियाँ विदेशी मुद्रा आर्जनमा देशमै एउटा हिस्सा बोकेको नेपाली चियालाई सरकारले भने चिन्नै नसकेको चिया सरोकारवालाको गुनासो छ । चियाले जसरी आम्दानी गरेको छ त्यसरी सरकारले चियालाई निलिएको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राई बताउनुहुन्छ ।