भारतका विद्युत् र आभास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपालको दुईदिने भ्रमणका क्रममा आज काठमाडौँ आइपुग्नुभएको छ ।
जलवायु परिवर्तनका असरले पारेको प्रभावका विषयमा छलफल गर्न हिमाली संवाद सुरु भएको छ । नेपाल सरकारको २०८१ माघ ७ गतेको निर्णय अनुसार २०८२ जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो ।
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उपल्लो मुस्ताङको चराङ–छोसेर २५ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ ।
जाजरकोटमा पहिलो पटक पेट्रोल पम्प सञ्चालनमा आएको छ । भेरी नगरपालिका ४ बोहोरा गाउँमा मुक्ति बस्नेत सप्लायर्सले मङ्गलबारदेखि पेट्रोल पम्प सञ्चालनमा ल्याएको हो । यस अघि पेट्रोल पम्प नहुँदा फुटपाथमा ड्रम तथा जर्कीनबाट आपुर्ति हुँदै आएको थियो ।
दुई दिन अघि संयुक्त अरब इमिरेट्सको दुबईमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको नेपाली श्रमिकहरूको उपचार तथा मानसिक स्वास्थ्य परामर्शका लागि निर्णय भएको छ ।
काठमाडौँ महानगरापलिकाले खुला स्थानमा फोहर नबाल्न महानगरवासीलाई आग्रह गरेको छ । प्लास्टिकजन्य फोहरबाट निस्कने धुँवा मानव स्वास्थ्यका लागि हानीकारक हुने भएकाले जथाभावी फोहर नबाल्न महानगरले आग्रह गरेको हो ।
सल्यानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सोमबार राति शारदा नदीमा करेन्ट लगाई माछा मार्न गएका एक पुरुषको मृत्यु भएको हो ।
पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । १६ महिनादेखि ५९ महिनासम्म कुल ६३१ जना बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितता भएपछि सो घोषणा गरिएको हो ।
दक्षिण बागलुङको बरेङ गाउँपालिकाको सुदला–मान्द्रेढुङ्गा सडक खण्डमा स्तरोन्नतिसहित कालोपत्रको काम सुरु भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले तोकिएकै मितिमा कक्षा १२ को परीक्षा गर्ने भएको छ । मङ्गलबार बसेको बोर्डको बैठकले यसअघि तोकिएकै मितिमा कक्षा १२ को परीक्षा गर्ने निर्णय गरेको हो ।
मुस्ताङको थासाङ गाउँपालिका–२,घट्टेखोलामा वैशाख ६ गतेदेखि चौरीको आलो रगत पिउने मेलामा सर्वसाधारणको भिड लागेको छ ।
अन्तरराष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढेको छ । त्यसको असर स्थानीय बजारमा पनि परेको छ । आज एक तोला पहेँलो धातुको मूल्य रू एक लाख ९७ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
टिकटकमा पेस्तोल देखाएर भिडियो पोस्ट गरेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वैशाख ६ गते रघुबिन्द यादव नामक टिकटक एकाउन्टबाट पेस्तोलसहितको भिडियो भाइरल भएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो ।
रूपन्देहीको दानव नदीमा बेपत्ता दुई बालकको शव फेला परेको छ । सोमबार रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जनामध्ये दुई बालकको शव सशस्त्र प्रहरीले मङ्गलबार बिहान निकालेको हो ।
नवलपुरको बौदीकाली गाउँपालिका–१ अर्मलेमा बाबुआमाको कुटाइ र लछारपछारबाट चार महिने शिशुको मृत्यु भएको छ । नवलपुर प्रहरीका अनुसार बाबु ३५ वर्षीय दीपेन्द्र परियार र आमा २१ वर्षीया कमला परियारले सोमबार राति मादक पदार्थ सेवन गरी आफ्ना चार महिने शिशुलाई लछारपछार गर्दा शिशु गम्भीर घाइते भएका थिए ।