• ४ असोज २०८२, शनिबार

जेनजी आन्दोलनमा गएका थुक्तेन तामाङ ११ दिनदेखि बेपत्ता

blog

दाने बोहरा

सिमकोट, (हुम्ला), असोज ४ गते । हुम्ला घर भएका हाल काठमाडौँमा बस्दै आएका थुक्तेन पाल्वर तामाङ ११ दिनदेखि बेपत्ता हुनुभएका छ । काठमाडौँमा भदौ २४ भएको जेनजी आन्दोलनमा सहभागी भएका हुम्लाको नाम्खा गाउँँपालिका–३, खगालगाउँ स्थायी घर भएका हाल काठमाडौँको तीनचुलीमा बस्दै आउनुभएका थुक्तेन ११ दिनदेखि बेपत्ता हुनुभएको छ । 

गत भदौ २३ गते जेनजी प्रदर्शनमा सहभागी भएर लामा कोठा फिर्ता भएको बुवा टसी छिरिङले बताउनुभयो । होटेलमा काम गर्दै आउनुभएको लामा २४ गते बिहानी सिफ्टको काम सकाएर दिउँसो २ः०० बजे कोठामा आएर प्रदर्शनमा जानुभएको थियो । पछिल्लो दिनको जेनजी प्रदर्शनमा गएको दिनदेखि लामा कोठा फिर्ता नभएको बुवा टसी छिरिङले बताउनुभयो । एघार दिनसम्म काठमाडौँका विभिन्न ठाउँहरूमा खोजी कार्य गर्दा कतै नभेटिएको बताइएको छ । 

बौद्धमा भएको आन्दोलनमा सहभागी हुन कोठाबाट निस्केका छोरा त्यसपछि भने बेपत्ता भएको बुवाले बताउनुभयो । जेनजी प्रदर्शनमा निस्केर बेपत्ता भएको छोराको खोजी गरिदिन उहाँले आग्रह गर्नुभयो । उहाँका दुई छोरामध्ये बेपत्ता भएको छोरा कान्छो हुन् ।

हुम्लाको युवा जेनजी प्रदर्शनमा गएर बेपत्ता भएपछि नाम्ख्योम हुम्ला बौद्ध समाजका अध्यक्ष अङ्गबहादुर लामाले एक सूचना निकालेर खोजीका लागि आग्रह गर्नुभएको छ । समाजका तर्फबाट बुधबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाएर खोजी गर्न आग्रह गरिएको अध्यक्ष लामाले बताउनुभयो । चौबीस वर्षका लामा नारायनथान गुम्बामा लामा ज्ञान अध्ययन सकाएर हाल तीनचुलीमा कोठा लिएर भतिजोसँग बस्दै आउनुभएको उहाँका बुवाले जानकारी दिनुभयो । रासस