हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार आइतबार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहनेछ ।
जेनजी आन्दोलनका क्रममा देशभर भएका तोडफोड, आगजनी, लुटपाट र सम्पत्तिमा भएका क्षतिको बिमा दाबीको डेढ अर्बभन्दा बढी रुपियाँ भुक्तानी भएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार अहिलेसम्म परेको दाबीमध्ये एक अर्ब ५८ करोड ५६ लाख रुपियाँ भुक्तानी भइसकेको हो ।
प्रमुख निर्यातयोग्य वस्तुका रूपमा रहेको अलैँचीको उत्पादन बढेको छ । उत्पादन बढ्दा यस वर्ष अलैँचीको मूल्य भने घटेको छ । गत वर्ष उत्पादन घट्दा मूल्य बढे पनि यस पटक भने घटेको नेपाल अलैँची व्यवसायी महासङ्घले जनाएको छ ।
बाँकेको खजुरास्थित कुखुरा विकास फार्ममा पोल्ट्री म्युजियम बन्ने भएको छ । लुम्बिनी प्रदेश सरकारको तीन लाख लगानीमा पोल्ट्री म्युजियम बनाउने योजनामा काम गरिरहेको कुखुरा विकास फार्मका कार्यालय प्रमुख डा. सुमन खनालले जानकारी दिनुभएको छ ।
पछिल्लो तीन महिनामा करिब ४० हजार मतदाता थपिएका छन् । रुपन्देही–३ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मिति घोषणा हुनुभन्दा अघिसम्म नामावली सङ्कलन गर्दा करिब ४० हजार मतदाता थपिएका हुन् ।
न्याय सेवा आयोगले दुई जनालाई विशिष्ट श्रेणी (सचिव) मा बढुवा र पदस्थापनका लागि सिफारिस गरेको छ । आयोगको बैठकले सहसचिव जितेन्द्रबाबु थपलिया र कायममुकायम नायब महान्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीलाई बढुवा र पदस्थापन सिफारिस गरेको हो । आयोगको सिफारिस अनुसार अब मन्त्रीपरिषद्ले नियुक्तिको प्रक्रिया अघि बढाउने छ ।
यस वर्षको शरद् ऋतुमा हिमाल आरोहण गर्न ७२ देशका आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार विभिन्न ४२ वटा हिमाल आरोहण गर्नका लागि नेपालसहित ७२ देशका ८०२ जनाले अनुमति लिएका हुन् ।
लगनखेलस्थित मानसिक अस्पतालमा दैनिक १३० देखि १५० जना बिरामी बहिरङ्ग विभाग (ओपिडी) मा आउने गर्छन् । तीमध्ये १० जना भर्ना गरेर उपचार गराउनुपर्ने अवस्थाका बिरामी आउँछन् । यो मानसिक अस्पताल देशकै केन्द्रीय अस्पताल भएको हुनाले देशभरबाट प्रेषण भएर लगनखेलस्थित मानसिक अस्पतालमा बिरामी आउने गरेका छन् ।
गत भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलनका क्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का विभिन्न शिक्षालयमा अध्ययनरत १५ हजार परीक्षार्थीको उत्तरपुस्तिका जलेर नष्ट भएका छन् ।
जेनजी आन्दोलनमा मालपोत कार्यालय जलेर नस्ट भए पनि जग्गाको स्रेस्ता कायम गर्न समस्या नहुने भएको छ । भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले मातहतका निकायलाई स्रेस्ता कायम गर्न विभिन्न विकल्पसहितको परिपत्र गरेको छ ।
पूर्वी मकवानपुरको बकैयामा विद्युत् सर्ट भई आगलागी हुँदा घर जलेर नष्ट भएको छ । बकैया गाउँपालिका –५ श्रीपुरमा शनिवार साँझ ६ बजेर २० मिनेटको समयमा विद्युत् सर्ट भई आगलागी हुँदा स्थानीय शेरटाव घिसिङको घर जलेर नष्ट भएको हो ।
जेनजी आन्दोलनका प्रतिनिधिले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दललगायत सबै तह र तप्कालाई आह्वान गर्नुभएको छ ।
ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्था बागलुङका संस्थापक देवकुमार नेपालीलाई सम्पती शुद्धिकरण मुद्दा लागेको छ।
नेपाली कांग्रेसका युवाले ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न पार्टीको ध्यानाकर्षण गराएका छन्।
काठमाडौँको हलचोकबाट शनिबार मौसम सफा हुँदा देखिएको काठमाडौँ उपत्यकाको दृश्य ।