• २६ असोज २०८२, आइतबार

इमेज सहकारीका अध्यक्षविरुद्व मुद्दा

blog

जिल्ला अदालतमा बयान दिन जाँदै देवकुमार नेपाली।

रामकृष्ण बोहरा

बागलुङ, असोज २५ गते। ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्था बागलुङका संस्थापक देवकुमार नेपालीलाई सम्पती शुद्धिकरण मुद्दा लागेको छ। जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार सहकारीका अध्यक्ष नेपालीविरुद्व सम्पती शुद्धिकरणको मुद्दा दर्ता गरेको हो। 

उक्त मुद्दाको जाहेरी वकिलको कार्यालयले वेवसाइटमा प्रकाशित गरेको छ। नेपाली सहकारी ठगी मुद्दामा एक वर्षदेखि जिल्ला कारागार बागलुङमा हुनुहुन्छ। महान्यायाधिवक्ताको कार्यालयमार्फत सरकारी वकिलको कार्यालयमा एक वर्ष अघिनै उहाँको मुद्दा तयार थियो। केही बचतकर्ताको रकम फिर्ता भए पनि नेपालीविरुद्व अर्को मुद्दा दर्ता भएको हो। 

२०८१ जेठमा सरकारी वकिलको कार्यालयमा आइपुगेको उक्त मुद्दाको मिसिल अध्ययनपछि अदालतमा दर्ता भएको हो। नेपालीविरुद्व एक अर्ब ५८ करोड रुपियाँ बिगो मागदाबीसहित शुद्धिकरण मुद्दा दर्ता भएको जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो। 

सहकारी ठगी मुद्दामा कारागारमा रहेका नेपालीले एक लाख रुपियाँभन्दा कम बचतकर्ताको रकम फिर्ता गरिसक्नुभएको छ। २०८० को वैशाखमा तरलता अभाव देखाएर सहकारी बन्द गरिएको थियो। २०८० कै जेठदेखि नेपाली फरार भएका थिए। भारतमा पक्राउ गरेर नेपालीलाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि कारागार पठाएको थियो। 

नेपालीविरुद्ध एक हजार ५ सय ४३ बचतकर्ताले रकम ठगी गरेको आरोपमा जाहेरी दिएपछि अदालते पुर्पक्षका लागि थुनामा पठाएको हो। नेपालीले बचतकर्ताको एक अर्ब ५८ करोड हिनामिना गरेको उल्लेख छ। त्यसबाहेक विभिन्न सहकारी संस्थाबाट ऋण लिएर नतिरेपछि उहाँको घरजग्गा लिलाम भएको छ। 

राष्ट्रिय सहकारी बैंकले सदरमुकामस्थित दुई घर २२ करोडमा लिलाम गरिसकेको छ भने बुर्तिवाङस्थित केही घरजग्गा अन्य बैंकले लिलामीको प्रक्रियामा लगेका छन्। बचतकर्ताले भने अझै रकम फिर्ता नपाएको गुनासो गरेका छन्।