अविरल घनघोर वर्षा र त्यसैका कारण आएको बाढीपहिरो र डुबानले सङ्घीय राजधानी काठमाडौँ सडक सञ्जाल सम्पर्कबाट अलग हुँदा सुरुङमार्ग सहारा बनेको छ ।
यस वर्षको दसैँअघि नै सर्वोच्च अदालतका न्यायाधीशहरू ललितपुरको पुल्चोकस्थित हरिहर भवन मन्त्री निवासमा सर्नुहुने भएको छ ।
काठमाडौँ उपत्यकाको पानीमा मापदण्डभन्दा बढी आर्सेनिक भेटिएको छ । काठमाडौँ उपत्यकाको दक्षिण–पूर्वी क्षेत्रको पानीमा आर्सेनिकको मात्रा बढी भेटिएको खानेपानी मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव कृष्णप्रसाद आचार्यले यसअघि प्रायः तराईका जिल्लाको पानीमा निर्धारित मापदण्डभन्दा बढी भेटिने आर्सेनिक काठमाडौँ उपत्यकामा समेत भेटिएको जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकामा ललितपुरको इमाडोल, टीकाथली, बाँझेपोखरी, सानेपा, काठमाडौँको बल्खु, स्युचाटार र भक्तपुरको बालकोट क्षेत्रको पानीमा मापदण्डभन्दा बढी आर्सेनिक भेटिएको हो । काठमाडौँको अन्य क्षेत्रको पानीमा अहिलेसम्म मापदण्डभन्दा बढी आर्सेनिक नभेटिएको उहाँले स्पष्ट पार्नुभयो ।
सङ्घीय सरकारका मन्त्रीहरू ललितपुरको पुल्चोकस्थित हरिहर भवन मन्त्रीनिवासबाट भैँसेपाटीस्थित नवनिर्मित सुविधासम्पन्न मन्त्रीनिवास सर्न सुरु गर्नुभएको छ । अहिलेसम्म पाँच जना मन्त्री भैँसेपाटी निवासमा सर्नुभएको सहरी विकास मन्त्रालयले जनाएको छ । यसै गरी राष्ट्रिय सभाका उपाध्यक्षसमेत भैँसेपाटीस्थित नवनिर्मित भवनमा सर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ कार्यक्रम र आयोजना थप नगर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहतका निकायलाई निर्देशन दिनुभएको छ । उहाँले बाटो छोटिने, दुर्घटना कम हुने र बढीभन्दा बढी जनता लाभान्वित हुने गरी पूर्वाधार निर्माणलाई अगाडि बढाउनसमेत निर्देशन दिनुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागको आर्थिक वर्ष २०८०/८१ को दुई दिवसीय वार्षिक प्रगति समीक्षा गोष्ठीको समापन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो निर्देशन दिनुभएको हो ।
काठमाडौँ उपत्यकाको सरसफाइको अवस्था अहिले चुस्त छ । सामान्यतः आर्थिक वर्ष समाप्त हुने र नयाँ आव लाग्ने सङक्रमणको समयमा उपत्यकामा हुने फोहोरको सकस यस पटक बेहोर्नु परेन । विगतमा हरेक वर्ष जसो असार र साउनमा विभिन्न माग राखी काठमाडौँको फोहोर व्यवस्थापन अवरोध हुन्थ्यो । एक/एक महिनासम्म फोहोर नउठेर काठमाडौँको चोक र गल्ली दुर्गन्धित बन्थे । फोहोर व्यवस्थापनको अवरोध हटाउन सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र स्थानीयवासीबिच पटक पटक वार्ता र संवाद हुन्थ्यो ।
काठमाडौँको सुन्धारास्थित धरहरा पुनर्निर्माणका लागि सातौँ पटक म्याद थप गरिएको छ । सातौँ पटक २०८१ असोज २० गतेसम्मका लागि म्याद थप गरिएको सम्बन्धित निकायले जनाएको छ । यसअघि छैटौँ पटक थप गरिएको म्याद गत वर्षको माघ ४ गते सकिएको थियो ।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको तीन चौथाइ काम सकिएको छ । आयोजनाको मुख्य सुरुङ र आपत्कालीन सुरुङ छिचोलिएर ‘फिनिसिङ’ (कङक्रिट लाइनिङ) को काम भइरहेको छ । राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालको नेतृत्वमा आइतबार गरिएको स्थलगत अनुगमनमा सुरुङमार्ग आयोजनाका इन्जिनियर तथा प्रवक्ता रमेश कोइरालाले अहिलेसम्म आयोजनाको ७६ प्रतिशत काम सकिएको जानकारी दिनुभयो । त्यसै गरी आयोजनाको वित्तीय प्रगति ७० प्रतिशत पुगेको छ । अनुगमन टोली नागढुङ्गातर्फबाट सुरुङमार्गमा प्रवेश गरी धादिङको सिस्नेखोला निस्केका थिए ।
भूमण्डलीय उष्मीकरण (ग्लोबल वार्मिङ) का कारण प्राकृतिक स्रोतहरू सुकेर पानीको समस्या बढ्दै गए पनि खानेपानी क्षेत्रमा सरकारको लगानी घट्दै गएको छ । खानेपानीको माग बढ्दै गएको अवस्थामा यस क्षेत्रमा बजेट वृद्धि हुनुको सट्टा घट्दै जाँदा खानेपानी व्यवस्थापनमा थप चुनौतीको सामना गर्नुपर्ने अवस्था बन्दै गएको छ । हरेक वर्ष बजेटको आकार वृद्धि हुँदै गए पनि विगत पाँच वर्षदेखि खानेपानी क्षेत्रको बजेट खुम्चिँदै गएको खानेपानी मन्त्रालयका पदाधिकारीको भनाइ छ ।
जेठ ३१ गतेदेखि मेलम्चीको पानी वितरण बन्द हुने भएको छ । जेठको दोस्रो सातादेखि नै मेलम्ची खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेदेखि आयोजनाको सुरुङमा पानी पथान्तरण रोकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । जेठ ३१ देखि नै नेपालमा मनसुन सक्रिय हुँदै छ । समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले मनसुन सुरु नहुँदै खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेबाट आयोजनाको सुरुङमा पानी पथान्तरण रोकिने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यही जेठ ३१ गतेबाट सुरुङमा पानी पथान्तरण बन्द गर्ने खानेपानी मन्त्रालयमा निर्णय भएको छ तर मनसुन भित्रिए पनि ठुलो पानी नपर्दासम्म पानी पथान्तरण बन्द गरिने छैन ।”
राष्ट्रिय परिचयपत्रलाई राज्यद्वारा प्रदान गरिने थप सेवा प्रणालीसँग जोड्न लागिएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ देखि राज्यद्वारा प्रदान गरिने सामाजिक सुरक्षा भत्ता पाउन, सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण गर्न, बैङ्क खाता खोल्न, स्वास्थ्य बिमा खोल्न, स्थायी खाता नम्बर लिन, जग्गा जमिनको खरिद बिक्रीलगायत विभिन्न कामका लागि अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि वा परिचयपत्र सङ्ख्या (नम्बर) पेस गर्नुपर्ने भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । अहिले राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ ।
जनक्रान्तिको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १६ वर्ष पूरा हुँदा देशको भौतिक पूर्वाधारमा पनि तीव्र विकास भएको छ । यस अवधिमा देशमा सडक, पुल, रेल, सुरुङमार्गसहित पूर्वाधार निर्माणमा द्रुत प्रगति हासिल भएको हो । गणतन्त्र स्थापनापछि सङ्घ, प्रदेश र स्थानीय सरकारको संयोजनका कारण सडक सञ्जालको विस्तारमा अपेक्षाकृत सफलता हासिल भएको छ । ९० प्रतिशतभन्दा बढी नागरिक आफ्नो गाउँबाट एक घण्टा पैदल यात्रामा सडकमार्गसम्म पुग्न सक्ने भएका छन् । २०६४ मा पाँच हजार ४०२ किलोमिटर पक्की सडक रहेको थियो । सडक विभागका अनुसार अहिले सडक विस्तार १६ हजार ६१४ किलोमिटर पुगेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को फागुनसम्म सडक विभाग अन्तर्गत निर्माण भएका सडकको जम्मा लम्बाइ ३४ हजार २६७ किलोमिटर पुगेको छ ।
रणनीतिक महत्त्व बोकेको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गतको धेद्रे सुरुङमार्ग छिचोलिएको छ । रक्षामन्त्री हरि उप्रेती, प्रधान सेना
बाहिरी चक्रपथ विकास आयोजना शीर्षकमा चार आर्थिक वर्षदेखि विनियोजित पुँजीगत खर्च एक रुपियाँ पनि हुन सकेको छैन । तर सोही आयोजनाका लागि ती आर्थिक वर्षमा विनियोजित चालु खर्च भने एक सुका पनि बचत हुँदैन । आर्थिक वर्षको अन्त्यसम्म चालु खर्चको विनियोजित रकम सबै सकिन्छ । हाल सहरी विकास मन्त्रालय अन्तर्गतको उपत्यका विकास प्राधिकरण मातहत रहेको यस आयोजना दुई दशकदेखि चर्चामा रहे पनि यसको काम अगाडि बढ्न सकेको छैन ।
मुलुकमा एक महिनामा दुई वटा सुरुङ छिचोलिएका छन् । यी दुई सुरुङमा एउटा सडक यातायात सुरुङ छिचोलिएको हो भने अर्को सिँचाइ र जलविद्युत्सँग सम्बन्धित बहुउद्देश्यीय सुरुङ हो । २०८१ सालको पहिलो महिनामा नै दुई वटा सुरुङ छिचोलिएसँगै मुलुक सुरुङमार्गको नयाँ ढोका उघार्दै पूर्वाधार विकासको नयाँ गन्तव्यमा प्रवेश गरेको हो ।