जयपृथ्वीबहादुर स्मृतिग्रन्थ कक्ष स्थापना
गोरखापत्र संस्थानको पुस्तकालयमा जयपृथ्वीबहादुर सिंहको स्मृतिग्रन्थ कक्ष स्थापना गरिएको छ । गोरखापत्र प्रकाशनको आसन्न १२६ औँ वार्षिकोत्सव तथा ९९ औँ राष्ट्रिय फोटोपत्रकारिता दिवसका अवसर पारेर गोरखापत्र संस्थानको पुस्तकालय हाताभित्र जयपृथ्वीबहादुर सिंहको स्मृति कक्ष राखिएको हो । संस्थानका कार्यकारी अध्यक्ष गोविन्दप्रसाद (अखण्ड) भण्डारीले स्मृतिग्रन्थ कक्षको उद्घाटन गर्नुभयो ।
‘शिक्षामा बेलाको बोली’ सार्वजनिक
प्राडा विद्यानाथ कोइरालाद्वारा लिखित पुस्तक ‘शिक्षामा बेलाको बोली’ आइतबार लोकार्पण भएको छ । त्रिभुवन विश्वविद्यालयमा शिक्षाशास्त्रका डिन डा. वेदराज आचार्य, नेपाल सरकारका पूर्वसचिव डा. हरि लम्साल, काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. रुपा मुनाकर्मी, नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिलापत्र डटकमका सम्पादक योगेश ढकालले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभयो ।
कक्षा १२ को परीक्षाः गुल्मीमा २१ सयभन्दा बढी सहभागी हुँदै
गुल्मीबाट माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को परीक्षाका लागि २१ सयभन्दा बढी परीक्षार्थी सहभागी हुनेभएका छन्।
सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना
लामो समयदेखि सहकारीमा फसेको बचत फिर्ताको पर्खाइमा रहेका सर्वसाधारणका लागि सरकारले ‘चक्रीय कोष’ मार्फत रकम फिर्ता गर्ने नयाँ कार्यविधि लागु गरेको छ । नयाँ कार्यविधि अनुसार अब बचतकर्ताले चरणबद्ध रूपमा आफ्नो रकम फिर्ता पाउने भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०८३’ राजपत्रमा प्रकाशित गर्दै लागु गरेको जनाएको छ ।
‘साना तथा मझौला व्यवसायी अर्थतन्त्रको मेरुदण्ड’
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले साना तथा मझौला व्यवसायी देशको अर्थतन्त्रको मेरुदण्ड भएको बताउनुभएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको आठौँ साधारण सभालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष दाहालले स्थानीय उत्पादन, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा साना व्यवसायीको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपियाँ ५० पैसा र बिक्रीदर १५१ रुपियाँ १० पैसा तोकिएको छ ।
तीन गाडीको भार एउटै ट्रकमा
मर्यादपुर नाका हुँदै नेपाल प्रवेश गरेको भारतीय नम्बर प्लेटको एक मालवाहक ट्रकमा अनुमतिभन्दा करिब तीन गुणा बढी माल ढुवानी गरिएको फेला परेको छ । ट्राफिक प्रहरीले गरेको चेकजाँचमा उक्त ट्रकले तीन वटा सवारीसाधनमा बोक्नुपर्ने माल एउटै ट्रकमा ओभरलोड गरेको पाइएको हो । युपी ७० एफटी २६२६ नम्बरको ट्रकले नियम अनुसार २७.५ टनसम्म मात्र माल ढुवानी गर्न पाउने भए पनि भन्सारको कागजात अनुसार सोही ट्रकमा ६९.९ टन सामग्री फेला परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
पूर्वमन्त्री पाण्डेसहित नौ जनामाथि अनुसन्धान जारी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सरकारी ठेक्का प्रणाली नै ह्याक गरी कब्जामा लिएर अनियमितता गर्ने नौ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । सिआइबीले सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) को विद्युतीय खरिद प्रणाली (इजिपी) मा अनधिकृत पहुँच गरी ठेक्कासम्बन्धी विवरण हेरफेरमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।
मनमोहन अविचलित निष्ठाका प्रतीक
नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रथम अध्यक्ष मनमोहन अधिकारीको २७ औँ स्मृति दिवस आइतबार एमालेले विभिन्न कार्यक्रम गरेर मनायो । विसं १९७७ मा जन्मिनुभएका कम्युनिस्ट नेता अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । २०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ १ र ३ नम्बर क्षेत्रबाट उम्मेदवार रही प्रचारप्रसारका सिलसिलामा गोठाटारमा अधिकारीको हृदयाघात भएको थियो । उहाँ दक्षिण एसियाकै पहिलो कम्युनिस्ट प्रधानमन्त्रीसमेत हुनुहुन्थ्यो ।
सरकारको योजना : सुकुमवासीको दिगो व्यवस्थापन
सरकारले भूमिहीन सुकुमवासीलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न विस्तृत अध्ययन थालेको छ । नदी र खोलाकिनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएको बस्ती खाली गरिएपछि त्यहाँ आश्रित नागरिकलाई दीर्घकालीन बसोबासको व्यवस्था मिलाउने तयारी गरेको हो । काठमाडौँ, ललितपुर र भक्तपुरमा अव्यवस्थित तरिकाले बागमती नदीसहित अन्य खोलाकिनारमा गरिएको अतिक्रमण हटाउने अभियानसँगै त्यहाँबाट विस्थापित भएका नागरिकलाई अल्पकालीन आवासको प्रबन्ध गरिँदै छ । सहरी विकास मन्त्रालय अन्तर्गत काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले वास्तविक भूमिहीन नागरिकको पहिचान गरी नागार्जुन नगरपालिकास्थित इचङ्गुनारायणमा निर्मित एकीकृत आवास आयोजना भवनमा राखिने बताउनुभयो ।
नौ महिनामै बाहिरियो ३४ अर्ब
साउनदेखि चैतसम्म मोबाइल आयातका लागि नेपालबाट करिब ३४ अर्ब रुपियाँ बाहिरिएको छ । यो रकम पछिल्लो एक दशकमै सर्वाधिक बढी हो । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनासम्मको तथ्याङ्क अनुसार नेपालले यो अवधिमा ३३ अर्ब ८२ करोड रुपियाँको स्मार्टफोन आयात गरेको छ । यसबाहेक ७२ करोड २२ लाख रुपियाँको अन्य प्रकृति (बार तथा फिचर फोन) का मोबाइल आयात भएको भन्सारको तथ्याङ्क छ । गत आर्थिक वर्षभर ३५ अर्ब ५४ करोड रुपियाँको स्मार्टफोन आयात भएको थियो । चालु वर्ष पूरा हुन तीन महिना बाँकी रहेको र भन्सारमा सरकारले कडाइ गरेका कारण यस वर्ष स्मार्टफोनको आयात गत आवभन्दा स्वाभाविक बढी हुने व्यवसायीहरूको भनाइ छ ।
स्मार्ट लाइसेन्स आज हस्तान्तरण गरिने
बर्सौंदेखि छाप्न बाँकी रहेका १२ लाखप्रति स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सम्पन्न भएको छ । सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबिच भएको पहिलो चरणको सम्झौता अनुसार उक्त छपाइ सम्पन्न भएको हो । छापिएका लाइसेन्स वैशाख १४ गते औपचारिक कार्यक्रम गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरिने केन्द्रले जनाएको छ । केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले पहिलो चरणको सम्झौता अनुसार १२ लाखप्रति कार्ड छापिइसकिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “१२ लाखप्रति कार्ड आउने सोमबार हस्तान्तरण गर्छौं । हामीले दैनिक ४० लाख त दुई सिफ्टमा सामान्य रूपमै छापियो तर कहिलेकाहीँ ६० हजारसम्म पनि छापियो ।”
दिगो भनिएको राजमार्ग नै कमजोर
कुनै बेला मुलुककै सबैभन्दा दिगो राजमार्गको रूपमा परिचित बिपी राजमार्ग अहिले सानो वर्षामा पनि बन्द हुने अवस्था छ । २०८१ असोज १२ गते अविरल वर्षासँगै रोसीखोलामा आएको बाढीपहिरोले उक्त राजमार्ग बगाएयता असार साउनको वर्षा त के हिउँदे क्षणिक वर्षाले समेत राजमार्ग अवरुद्ध हुने गरेको छ । राजमार्ग अवरुद्ध हुँदा पूर्वी नेपाल र काठमाडौँबिचको यातायात सञ्चालनमा ठुलो सास्ती हुने गरेको छ । बाढीले बगाएको दुई वर्ष पुग्न लाग्दा पनि अहिलेसम्म यस राजमार्गमा ढुक्क भएर सवारीसाधन चलाउने अवस्था छैन । क्रसर व्यवसायीले रोसी खोला क्षेत्रमा उत्खनन गरेर उद्योग सञ्चालन गरेपछि खोलाको सतह नै माथि आउन थाल्यो । खोलाको सतह माथि आएकै कारण सानो पानी पर्दा पनि अहिले रोसी खोला राजमार्गको माथि भएर बग्ने अवस्था सिर्जना भएको छ ।
कोरला नाकामा फोहोर ब्यवस्थापनका लागि डस्टबिन
उपल्लो मुस्ताङको कोरला नाकास्थित दसगजा क्षेत्रमा ब्यापार गर्ने स्थानीयलाई सफा र स्वच्छ कोरला बनाउन डस्टबिन बितरण गरिएको छ ।
रातो मच्छिन्द्रनाथको रथ लगनखेल पुर्याइयो
ललितपुरमा जारी रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत आइतबार रथ तानेर लगनखेल बसपार्क पुर्याइएको छ ।
चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित
गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ । स्थानीय बसन्ता परियारको घरमा चट्याङ पर्दा घरमा आगलागी भएको हो ।
‘माटो सुधार नगरे अबको १० वर्षमा अन्न फल्दैन’
कैलालीमा परीक्षण गर्दा माटोमा छारेपन (नुन) को मात्रा अत्यधिक देखिएको छ । यसका साथै माटोमा नाइट्रोजन, फस्फोरस र पोटासको कमी देखिएको छ ।
मनोहरा सुकुम्वासी बस्ती : एक तिहाइ संरचना भत्काइयो
भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा बनाइएका ७० प्रतिशत घर, टहरा तथा संरचना आज भत्काइएको छ ।
चितवनका ३० हजार पशुचौपायलाई लम्पीस्किनविरुद्धको खोप
जिल्लाका ३० हजार पशुचौपायलाई लम्पीस्किनविरुद्धको खोप लगाइने भएको छ । यहाँका पशुमा लम्पीस्किनको समस्या आउन सक्ने भएकाले खोप लगाउन लागिएको हो ।
चट्याङ लागेर दुई जनाको मृत्यु
प्यूठानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । गौमुखी गाउँपालिका वडा ६ लिवाङका बाबुछोराको चट्याङ लागेर ज्यान गएको हो ।
लेक लागेर मुस्ताङमा एक तीर्थयात्रुको मृत्यु
मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको मृत्यु भएको छ । भारतस्थित तमिलनाडु राज्यका ६३ वर्षीय भानु मठ्ठीको आज जोमसोममा लेक लागेर मृत्यु भएको हो ।
सुनकोशी नदीमा बेपत्ता भएका राई मृत फेला
उदयपुरको लिम्चुङबुङ गाँउपालिका वडा ५ चौलाने बस्ने ५१ वर्षीय रामशेर राई रौतामाई गाउँपालिकाको वडा ३ को भदौरेस्थित सुनकोशीको किनारमा मृत अवस्थामा फेला परेका छन् ।
पोखरीमा डुबेर एकको मृत्यु
रौतहटमा आइतवार पोखरीमा डुबेर एक बालककोे मृत्यु भएको छ ।
सवारी दुर्घटनामा एक जनाको मृत्यु
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित पूर्व-पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।