नेपालको सुन्दरता
डा. बीपी बडालसन् १९६८ मा नोबेल पुरस्कार विजेता प्रसिद्ध जापानी साहित्यकार यासुनारी कावावाताले देशको सुन्दरताको सम्बन्धमा, ‘स्नो कन्ट्री– हिमदेश’ उपन्यास लेखेका थिए । यस कृति अनुसार देश सुन्दर हुनका लागि तीनवटा तत्त्व अनिवार्य छन् । पहिलो हो– देशको प्रकृति, दोस्रो हो– संस्कृति र तेस्रो हो– परिवेश । यसका साथै शान्ति, आत्मीयता, सौहार्दता, प्रेम, करुणा, र मुदिता देशका सुन्दरताका सूचकहरू हुन् । देश सुन्दर बनाउन, मन सुन्दर हुनुपर्दछ । कोरोना जस्तो खतरनाक महामारी कम भएको छ । देशमा पर्यटनको गतिविधि वृद्धि हुन थालेका छन् । हामीले विश्वबाट धेरैभन्दा धेरै पर्यटक स्वागत गर्ने समय आएको छ । ‘अतिथिदेवो भव’ हाम्रो संस्कृति हो । पाहुनालाई देवता मानेर सेवा गर्नु हाम्रो संस्कार हो । देवता अर्थात् पाहुनालाई खुशी राख्न घर, आँगन, चोक, आदि सफा हुनुपर्दछ । खानेकुरा पूर्ण स्वस्थ र सफा हुनुपर्दछ । व्यवहार राम्रो, बोलीचाली मिठो हुनुपर्दछ । मन उज्यालो हुनुपर्दछ । यसैमा निखार ल्याउनु नै सुन्दरता हो । पर्यटनको विकास गर्नु नै देशको सुन्दरताको विकास गर्नु हो । यद्यपि सुन्दरताको बयान गर्न सजिलो छैन । सुन्दरता कुरूपताको सापेक्षता हो । कुरूपता नभए सुन्दरताको अर्थ हुँदैन । रात नभए दिनको अर्थ हुँदैन । दुःख नभई सुख हुँदैन । कुनै पनि वस्तु सुन्दर र असुन्दर हुनुको पछाडि यसको महìवपूर्ण कारण हुन्छ । एउटै बस्तु, एउटै व्यक्ति, एउटै परिबेशमा एकजनालाई सुन्दर लाग्छ भने अर्कोलाई असुन्दर लाग्न सक्छ । राम्रो र नराम्रो त आँखाको दृष्टिकोण मात्र हो । प्रकृतिको सृष्टि सबै राम्रो हुन्छ । सबै सुन्दर हुन्छन् तर त्यो सुन्दरताको दृष्टिगोचर हुनु जरुरी छ । त्यसका लागि नेपालको सुन्दरताको बारेमा विश्वस्तरका लेखरचना लेखिनैपर्दछ । कला, संस्कृति र पहिचान झल्काउने सामग्री हुनैपर्दछ । सुन्दरताको बयान गर्दा नेपालको प्रकृतिको बयान गरिएन भने पूर्ण हुँदैन । विश्वका उच्च हिमशृङ्खलामध्ये आठवटा नेपालमै छन् । ती हुन्– सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चोयु, धवलागिरि, मनास्लु, अन्नपूर्ण । त्यसैले नेपाल हिमालयको स्वर्ग हो । सगरमाथा नजिक सोलुखुम्बुतिरका सुन्दर उच्च हिमचुचुरा, बादलको घुम्टो र सूर्यको मधुरो प्रकाश हेर्दै, आत्मीय मित्रसँग गफिँंदै गुल्मीमा उत्पादित कफी पिउँदाको स्वर्गीय आनन्द वास्तवमै अद्भुत हुन्छ । यस्तै नेपालमा ३३ प्रकारका गुराँस पाइन्छन् । गुराँस एक हजार २०० देखि पाँच हजार ५०० मिटर उचाइसम्म पाइन्छ । नेपालको सम्पूर्ण पहाडी क्षेत्र लालीगुराँसको बगैँचा हो । नेपालको पहाडी क्षेत्रलाई ‘रोड़ोडेनड्रोन पार्क’ भनिन्छ । तीनजुरे–मिल्के–जलजले क्षेत्र गुराँसका लागि चर्चित छ । यो क्षेत्र ‘गुराँसको राजधानी’ नामले प्रख्यात छ । यो सुन्दरता गर्वका साथ विश्वलाई पस्किनु छ । तराई त नेपालको अन्नभण्डार नै हो । यहाँका खेत–खलियानका धान, उखु, गहुँ, र तोरीबारीले सधैँ मन प्रफुल्ल पारिरहेको हुन्छन् । शुक्लाफाँट, बाँके, बर्दिया, चितवन, पर्सा, कोशीटप्पु आदि राष्ट्रिय निकुञ्जले तराईको सुन्दरतालाई अझै सुनमा सुगन्ध थपिदिएको छ । यो सुन्दरताको आधार नै हिमाल हो । निरन्तर बग्ने मेची, कोशी, गण्डकी, कर्णाली र महाकालीको आधार हिमाल नै हो । विश्वप्रसिद्ध साहित्यकार रवीन्द्रनाथ ठाकुर हिमालयदेखि निकै प्रभावित थिए । उनले लेखेको एउटा कविता ‘ह्वेर माइन्ड इज विदआउट फिएर’ ले हिमालयको बास्तविकता र सृजनात्मकतालाई उजागर गरेको छ । वास्तवमा नेपाल हिमालयको स्वर्ग हो जहाँ मन मुग्ध हुन्छ । यसैगरी नेपालका हरेक ठाउँमा मन्दिर या चैत्य छन् । सबै नेपाली ज्ञान र विज्ञानमा विश्वास गर्दछन् । अतिथिलाई देवता मान्दछन् । ‘आफ्नो ज्योति आफैं बन’ भन्ने बुद्ध वचनलाई सधैँ आत्मसात् गर्दछन् । भगवद्गीता अनुरूप निष्काम कर्मयोग गर्दछन् । मनलाई सुन्दर, स्वच्छ, सफा राख्दछन् । भगवान बुद्धका अनुसार संसारमा चार आर्य सत्य छन्– यो धर्तीमा दुःख छ, दुःखको कारण छ, दुःख निवारण गर्न सकिन्छ र दुःख निवारण गर्ने मार्ग छ । यो मार्गलाई शील, समाधि र प्रज्ञा भनिन्छ । त्यसैले नेपाली समाज प्रेम, करुणा र शान्तिको प्रतीक हो । सुन्दरताको सीमा हुँदैन । सुन्दरताको परिभाषा पनि व्यक्तिगत हुन्छ । प्रकृति र सरलता नै सुन्दर हुन्छ । जर्मन दार्शनिक इम्यानुएल् कान्टले भनेका छन्– बिना उद्देश्यको वस्तुमा उद्देश्य भर्नु नै सुन्दरता हो । साधारणतया साना अनि सरल वस्तुहरू सुन्दर मानिन्छन् । अर्का बौद्ध दार्शनिक सुमाकर भन्छन्, ‘स्मल इज बिउटिफुल’ । आफूले व्यवस्थित गर्न सक्ने, स्याहारसुसार गर्न सक्ने, आफूले चाहेजस्तो बनाउन सक्ने सरल सानो वस्तु नै सुन्दर हो । ठूलो भव्य पनि सुन्दर हो । अग्लो सगरमाथा राम्रो हो । होचो केचनाकलन पनि राम्रो हो । त्यसैले नेपाल राम्रो देश हो । कावावाताले जापानी परिभाषा यसरी दिएका छन् सुन्दरता ‘वावी–सावी’ हुन्छ । सरलतामा जटिलता र जटिलतामा सरलता नै सुन्दरता हो– यसैलाई जापानमा ‘वावी–सावी’ भनिन्छ । पहाड चढ्नु दुःख हो, पहाडको शिरमा पुगेर आनन्द महसुस गर्नु सुख हो । त्यसैले सुन्दरता सुख अनि दुःखको सम्मिश्रण हो । सुन्दरता अनुभव हो, शिक्षा हो । वसन्त ऋतु छ, जताततै लालीगुराँस फुलेका छन् । जीवन एउटा यात्रा न हो । आउनुस् एउटा यात्रा सँगै गरौँ । साँचै सुन्दर नेपाललाई सुन्दर भावनाले भ्रमण गरौँ । देशको अनुभूत गरौँ अनि जाउँला नि विदेश !
नयाँ वर्षलाई सुस्वागतम् !
गोकुलप्रसाद शर्मादिनपछि साता, सातापछि महिना, अनि महिनापछि वर्ष व्यतित हुन्छन् । कामदारलाई सधैँ समयको अभाव खट्कन्छ । अर्कोतिर भने, काम नभएका र काम हुँदाहुँदै पनि जाँगर नचलाउने मानिसहरूका लागि दिन व्यतीत गर्न गाह्रो हुन्छ । दिन छिटो जाओस् भनेर उसले जपना गर्दछ । मानिस कर्मयोगी प्राणी हो । समयको सदुपयोग गर्दै सदा असल काम गर्ने मानिस नै महान र सफल भएको छ । महानता दामले किनिने वस्तु होइन । महान विचार भएको मानिसले असल र उपयोगी काम गरेर अरूका लागि बाटो देखाइदिन्छन् । सदा सत्मार्गमा लाग्नु मानिसको कर्तव्य हो । हाम्रो पुर्खाले देखाइदिएको बाटो सबैका लागि कल्याणकारी हुन्छ भन्ने बुझ्नु हाम्रो कर्तव्य हो ।व्यतीत भएको २०७८ सालमा हाम्रो मुलुकमा के–के राम्रा र नराम्रा काम भए, तिनको लेखाजोखा यहाँ गरिन्न । वर्तमान २०७९ सालमा विगतमा भएका भूल, त्रुटि र कमजोरीलाई नदोहो¥याई वर्षैभरि असल र उपयोगी काममा मात्र देशवासीहरू संलग्न होउन् भन्ने आकाङ्क्षा गरिन्छ । कदाचित कतै कुनै त्रुटि फेला प¥यो वा त्यसो हुने सम्भावना छ भने, बेलैमा रचनात्मक सुझाउद्वारा त्रुटिहरूको परिमार्जन गरिहाल्नु बुद्धिमानी ठहर्छ । त्यसो नगरी, अर्थात् आफ्नो दोष ढाकछोप गरी, अनाहकमा निर्दोषमाथि हिलो छ्याप्न हुँदैन । नयाँ वर्षको पहिलो दिन सबै ठाउँमा बिदा दिइन्छ । बिदा आराम गर्ने अवसर हो । थाकेको शरीर, मन र मस्तिष्कलाई केही घण्टा आराम दिनु बिदाको मुख्य प्रयोजन हो । कतैकतै भने काम हुन्छ भद्रगोल । मनोरञ्जनको नाउँमा रुपियाँ पैसाको बाजी थापेर तास, कौडा, पासा, लङ्गुरबुर्जा वा अन्य प्रकारको खेलमा सम्मिलित हुनु राम्रो काम होइन । आदिकालदेखि नै नयाँ वर्षको शुभारम्भ र अन्य विभिन्न महत्वपूर्ण अवसरमा आफन्तहरूका बिच शुभकामना आदानप्रदान गर्ने परम्परा चलिआएको छ । विश्वका विभिन्न मुलुकहरूमा शुभकामना व्यक्त गर्ने आ–आफ्नै चलन र रीति छ । त्यस्तो अवसरमा हाम्रो मुलुकमा पनि विभिन्न विधि अपनाइन्छ । स्मृतिस्वरूप फूल, फलफूल, विभिन्न थरीका खाद्यपदार्थ रहेका बट्टा वा अन्य थोक उपहारस्वरूप प्रदान गरिन्छ । कसलाई कुन वस्तु दिन उपयुक्त हुन्छ, सो बुझी तदनुसार वस्तुको छनोट गरिन्छ । कुनै वस्तु समवयस्क व्यक्तिलाई समर्पित गर्दा क्षणभरका लागि उसलाई प्रगाढ आलिङ्गनमा आवद्ध गरिन्छ । यसबाट दुइटै पक्षलाई सुखद् अनुभूति प्राप्त हुन्छ । निःस्वार्थता र पारस्परिकताको विशुद्ध भावनामा लोटपोट हुँदा प्राप्त हुने आत्मीयता अलौकिक आनन्दको प्रतीक हो । समर्पित गरिने वस्तुको छनोटमा विशेष ध्यान दिइन्छ । त्यस्तो सुखद अवसरमा प्रेमोपहार दिने वस्तु पसलमा यसरी सजाएर राखिन्छ कि कुनै वस्तु ग्राहकको रुचि अन्तर्गत अवश्य पर्न आवस् । कसैलाई कुनै किसिमको असन्तुष्टि नहुने गरी यस्तो उल्लासमय अवसरमा शिष्टतापूर्वक वस्तु दिनु बेसै हो । यसको विपरीत खडा भएर उच्छृङ्खलताको प्रदर्शन गर्नु चाहिँ अपराध ठहरिन्छ । आत्मीयता र उदारता झल्कने गरी गरिएको कामको परिणाम सुखद हुन्छ । नयाँ वर्षको शुभारम्भमा केही मुलुकहरूमा गरिने हर्षोल्लास यसप्रकारका छन्– भारतका विभिन्न सहरमा गणेश र लक्ष्मीको पूजा गरी सामूहिक रूपमा नाचगान गरिन्छ । पञ्जाबमा झाँगड नृत्य गरिन्छ । बंगालमा देवीदेवताहरूको पूजा र आराधना गरिन्छ । भजनकीर्तन गरिन्छ । कुमाऊगढवालमा पहेँलो वस्त्र पहिरी बन्धुवर्गलाई कोसेली दिइन्छ ।चीनमा नयाँ वर्षको एक साताअघि नै आतसबाजी गरिन्छ । नयाँ वर्षमा प्रेतात्मा आउने सम्भावना बुझी त्यसलाई धपाउन आगो बालिन्छ । रातभरि जाग्राम बसेर गुरु र आमाको सम्मान गर्दै उहाँहरूलाई मिठामिठा परिकार खुवाइन्छ । जापानमा घर वरपर हरिया बोट सजाइन्छ । प्रेतात्मालाई धपाउन घर अगाडि डोरी झुन्ड्यान्छ । गौतमबुद्धको पूजा गरिन्छ । जर्मनीमा मानिसहरूले पानी हालेको भाँडोमा सिक्का खसाल्छन् । सिक्काको आकृति नियालेर भविष्यवाणी गरिन्छ । बेलायतमा डिसेम्बर ३१ तारिखको राति ठिक १२ बजे रङ्गीचङ्गी पहिरनमा नाचगान गर्दै धुमधामका साथ नयाँ वर्ष मनाइन्छ । आदिवासीहरू भेला भएर इष्टदेव र सूर्यको पूजाआराधना गरिन्छ । इन्डोनेसियामा नयाँ वर्षलाई ‘गोलुगान’ भनिन्छ । मानिसहरू नयाँ पहिरनमा सजिएर नाचगान गरी मिठामिठा परिकारहरू खाँदै आपसमा शुभकामना बाँड्छन् । स्कटल्यान्डमा रातो पहिरनमा पुरुष वा महिला आएमा अशुभ मानिन्छ । कपाल कालो र कद अग्लो भएका पुरुष वा महिला आएमा शुभ मानिन्छ । यो बला आपसमा सुख र समृद्धिको कामना गर्दै हर्षोल्लासका साथ नाचगान गरिन्छ । रोममा पहिलो पहिले अक्टोबरको अन्त्यमा नयाँ वर्ष मनाइन्थ्यो । अब जनवरी १ तारिखमै नयाँ वर्ष मनाइन्छ । भूत धपाउँदै हर्षोल्लासपूर्वक नयाँ वर्ष मनाइन्छ ।
आए वैशाख लाए(कविता)
भाग्यशाली अधिकारीपारि पाखा वन बुटा कुहु कोइली त्यो करायो उफ्य्रो बक्र्यो पतकर छरी माथि कुँद्छन् खरायो ।चौतारीको बसी शीतलमा युवती गीत गाएकुर्ले कुर् कुर् ढुकुर वनमा आए वैशाख लाए ।भन्ज्याङ थुम्का चहुर हरियो पालुवा क्या झुलेकोबारी कान्ला पहेँलपुर भै प्याउली छन् फुलेको ।धर्ती फोरी नव नव मुना आए टुसा एलाएगाउँ बेँसी वन छ हरियो हेर वैशाख लाए ।लेकै फुल्छन् ढकमक गुराँस राता पहेँलारातै छ खोल्सा ऐँसेलु काफल गुँएला ।आयो रन्को मुरली धुनको कोहो कहाँ बसेरबजाएको कल्ले छ यसरी रुन्छ छाती पसेर ।पिठ्यूँ छ डोको युवती झरे गुन्गुनाइ ओरालीझर्छन् बँेसी हली हलो लिँदै गोरु भाग्छन् बराली ।पारि डाँडा फिरिरी उता पात कल्ले बजायो चौतारीमा सिरिसिरी आहा हावा बास्ना चलायो । मेरै पाखा छ सुन्दर अरू कहाँ पाउँछौ त्यो अपारहीरा मोती छ हाम्रै कति कति यहीँ खुल्दा ढोका भँडार ।
नयाँ वर्ष र पुराना सपनाहरू(कविता)
प्रमोद स्नेही रेशमी बतासले झारेकोवसन्ती फूलहरूको परागटिपेरप्रेमको एक अँजुली रङहरूलेसमयको सुन्दर तस्बिर कोर्नअभ्यस्त छु ।सेतो सात घोडाहरूले उछिनेरदुःखको मैदानहरूमालालीगुराँसको पत्रपत्रबाट उदाएको सूर्यका उज्याला किरणहरूलेनवीन उत्साहको लोकगीत गाइरहेछन् अनवरतबालेर दियो मझेरीमा नयाँ वर्षको उत्सव मनाइरहेकामेरो जीवनको अप्राप्य आशाहरूकोसुखद पदचापका डोबहरूमेरो छातीको भूगोलमा दूबो झैँ माया फैलिरहेछ ।जुनको उज्यालो टलकमा देखिएकोसमयको रङ्गीन तस्बिर हेरेरम हरेक सखारै बिहानीमा सूर्य जस्तो बेसार घडामा भरेरसँघार पोतिरहेछु र यो नयाँ वर्षमासुनाखरी झैँ फुलेका सपनाहरूलाई स्वागत गर्न पर्खिरहेको छु यो वसन्तको आगमनसँगै !
संवत्को धर्म
शीतल गिरी विक्रम संवत् प्राचीनकालदेखि हिमवतखण्ड नेपालमा चलनचल्तीमा आइरहेकाले यो संवत्ले नेपालको ऐतिहासिक धरातल जीवन्त छ । विक्रम संवत् नेपालको आदि र मौलिक संवत् हो । काल गणनाबेगर इतिहास जान्न पनि सकिन्न र भविष्यको कल्पना कोर्न पनि सकिन्न । त्यसैले सभ्य मानवसमाजका लागि काल गणना एउटा अत्यावश्यक वस्तु हो । काल गणनाको आधारमा इतिहासले भन्दैछ– बेलायती साम्राज्यको अधीनमा परेका राष्ट्र चीन, भारत, पाकिस्तान, श्रीलङ्कालगायत एसियाली देशले आफ्ना मौलिक संवत् बचाएर राख्न सकेनन् तर नेपालमा सार्वभौमसत्तालाई दखल गरेर कुनै विदेशीले आफ्नो साम्राज्य स्थापित गर्न नसकेकाले विक्रम संवत् यथावत् रूपमा सञ्चालित हुँदै आएको हो । त्यसैले विक्रम संवत् नेपालको सार्वभौमसत्ताको इतिहासमा आफैं एक प्रमाण हुन पुगेको छ । संसारमा काल गणनाको आधारमा सूर्यमानक र चन्द्रमानक दुबै पात्रो चलनचल्तीमा छन् । तीमध्ये कुनै एउटा पात्रोको आधारमा एउटा विशेष कालखण्डलाई प्रतिनिधित्व गर्ने प्रथालाई संवत् भन्ने गरिएको छ । विश्वमा प्रचलित संवत्हरूमध्ये अधिकांश संवत् कुनै धर्म, धार्मिक नेता, शासक वा जातिको नाममा प्रचलनमा ल्याइएका छन् । नेपालको प्रारम्भिक इतिहास अत्यन्तै अस्पष्ट र अनुमान तथा किंवदन्तीले भरिएका छन् । किराँत कालमा नेपालमा कुन संवत् प्रचलनमा थियो भन्ने कुरा अहिलेसम्म थाहा हुन सकेको छैन । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक आयामको देश हो । यहाँ भाषिक, धार्मिक तथा सांस्कृतिक सद्भाव र समन्वय छ, यही नै यहाँको मौलिकता हो । नेपालको परिचय बुद्ध, सगरमाथा र यहाँका अनेक सांस्कृतिक चाडपर्व नै हुन् । इतिहास एउटा ऐना हो, जसमा देश, समाज तथा महान व्यक्तिको जीवनगाथा सुरक्षित भएको हुन्छ । चैत मसान्तको दिन कोपिला लाग्ने सलहेस नामक फूलले विस्तारै आकार लिँदै नयाँ वर्षको बिहानीसँगै मालाको आकारमा फुलेर विक्रम संवत्को स्वागत गर्छ । यो प्राकृतिक चमत्कारको दर्शन गर्न नेपालका विभिन्न भागदेखि भारतबाट समेत असङ्ख्य नरनारी आउने गर्छन् । विक्रम संवत् सूर्यसँग सम्बन्धित भएकाले विक्रम संवत्का ग्रह, नक्षत्रका नाम पनि महिनासँग सम्बन्धित छन् । विक्रम संवत्ले वैदिककालदेखि प्रारम्भ हुँदै आएका महिना, बार र तिथिहरूको मान्यता गर्दै आएको छ । बिक्रम संवत् बारेमा अनेकौं विवाद पनि प्रस्तुत गर्ने कार्य भइरहेका छन् । विक्रम संवत् नेपालको आदि संवत् हो । विक्रम संवत् हिमवतखण्ड नेपालमा विभिन्न साना राज्य राष्ट्रिय एकीकरण हुनुभन्दा अघि र पछि प्रचलित हुँदै आएकाले नेपालको राष्ट्रिय संवत्को रूपमा स्थापित भएको छ । पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि विक्रम संवत् १८२५ को वसन्तपुर दरबारको अभिलेखमा– ‘राजा पृथ्वीनारायणको वंश गुह्येकाली र पशुपतिका दुई पाउका धुलाका प्रसादले स्थिर भइरहोस्’ भनेर गौरवमय विक्रम संवत् उल्लेख गरेका थिए । विक्रम संवत्को चलनचल्ती नेपालमा मात्रै सीमित थिएन । नेपालबाहिर पनि यो संवत्को मान्यता थियो । विक्रम संवत् १९३७ मा भारत गुजरातका विद्वान खोजकर्ता पं. भगवानलाल इन्द्रजी नेपालमा आई २३ वटा अभिलेख खोजी गरी लिच्छवीकालमा उल्लेखित संवत्लाई विक्रम संवत् ठह-याएका थिए । त्यसैगरी कलकत्ता विश्वविद्यालयका इतिहासका प्राध्यापक राधागोविन्द बासकले भारतको उत्तरपूर्वी भागको इतिहासमा लेखेका छन्, “मानदेवको पालाको संवत् ३८६ को चाँगुको अभिलेखको संवत् ‘विक्रम संवत्’ हो ।” यसैगरी नेपालका खोजकर्ता शङ्करमान राजवंशीले पूर्व लिच्छविकाल र उत्तर लिच्छविकालका अभिलेखमा उल्लेखित संवत्लाई विक्रम संवत् मानेका छन् । चाँगुनारायणलगायत लिच्छवि शासनकालका उल्लेखित संवत्हरू विक्रम संवत् नै मानिन्छन् । लिच्छवि शासनकालमा निर्मित हरिसिद्धि मन्दिरमा विक्रम संवत् ७११ उल्लेख भएको वंशावली छ र विक्रम संवत् ९४५ मा हरिसिद्धि नाटक मञ्चन भएको हरिसिद्धि उपपुराणमा उल्लेख छ । जयस्थिति मल्लको पालाको सुवर्णपत्रमा ‘विक्रम राज वर्ष १४४८ श्रीमत नेपालीकेः श्रेयोस्तु’ उल्लेख छ । फर्पिङमा कनकेशरको ढोका फेरेर मुकुट चढाएको अङ्कित अभिलेखमा विक्रम संवत् १२९७ उल्लेख छ । गोरखाको रामेश्वर मन्दिरको रामशाहको अभिलेखमा विक्रम संवत् १६९३ उल्लेख छ । अछामको वरदादेवी मन्दिरमा विक्रम संवत् १७७९ पौष उल्लेख छ । राजा भूपतेन्द्र मल्लले विक्रम संवत् १७६३ उल्लेख गरेको भुवनलाल प्रधानले उल्लेख गर्नुभएको र जयप्रकाश मल्लले विक्रम संवत् १८१४ मा पृथ्वीनारायणलाई नेपाली भाषामा धर्मपत्र गरिदिएको इतिहासविद् नयराज पन्तले ‘इतिहास संशोधनको प्रमाण’ मा उल्लेख गर्नु भएको छ । विक्रम संवत् नेपालको राष्ट्रिय संवत्का रूपमा प्रचलित हुँदै आएकाले जंगबहादुरले मुलुकी ऐनलाई विक्रम संवत् १९१० मा संग्रह गरी यही संवत् उल्लेख गरेका थिए । कतिपय व्यक्तिले विक्रम संवत् भारतको उज्जयनीबाटै उठान भएको हो भनेर लेख्ने गर्छन् तर इतिहासशिरोमणि बाबुराम आचार्यले लेख्नु भएको छ, “जुन समय ई.पू. ५८ वर्षमा यो संवत् उठान भएको थियो, त्यो समयमा भारतको उज्जयनीमा राजा विक्रमादित्यको अस्तित्व देखिँदैन । उज्जयनीमा खण्डहरको उत्खनन् हुँदा पनि त्यस समयमा विक्रमादित्य भएको चिह्न भेटिएको छैन ।” हो, चौथो शताब्दीतिर उज्जयनीको राजा भई सन् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्यालाई आफ्नो कब्जामा लिई राजधानी बनाएपछि तामाको सिक्कामा चन्द्रगुप्त द्वितीयले आफूलाई ‘विक्रमादित्य’ अंकित गराएका थिए । नेपालका लिच्छवि राजासँग मगदका गुप्त राजा प्रभावित भएकोले चन्द्रगुप्त प्रथमले नेपालका लिच्छवि राजाकी कन्यासँग वैवाहिक सम्बन्ध जोडेकोले सन् ३३० तिर आफ्नो मुद्रामा ‘लिच्छवयः’ र ‘लिच्छवि दौहित्री’ अङ्कित गरेकोले नेपालका लिच्छवि राजाहरूको पराक्रमको प्रभावले चन्द्रगुप्त द्वितीयले ‘विक्रमादित्य’ को उपाधि अवलम्वन गरेको हुन सक्छ । इतिहासविद् दिनेशराज पन्तले विक्रम संवत् १७९६ मा पृथ्वीनारायण शाहसँग चेपेघाटमा सन्धि गर्ने लमजुङे राजा रिपुमर्दन शाह हुन् भनी (पूर्णिमा १० पूर्णाङ्क ३९) उल्लेख गर्दै विक्रम संवत् १७२१ मा वीरमर्दन शाहको दरबारमा जोतिष काम गरी विर्ता वितलप रागिनासमा पाई बस्याका सदानन्द जोशी हुन् भन्नुभएको छ । इतिहासकार ज्ञानमणि नेपाल लेख्नुहुन्छ, “मध्यकालमा बाइसी–चौबीसी, सेन, मल्ल, शाह राजाहरूले विक्रम संवत् चलाउँदै आएका थिए । भक्तपुरमा नयाँवर्ष प्रारम्भ हुँदा धुमधामसाथ बिस्काः जात्रा मनाइन्छ । तराईमा थारुहरू वैशाख सुरु हुने दिनदेखि सिरुवा जात्रा मनाउँछन् ।” अरुणकुमार पाण्डे लेख्नुहुन्छ, ‘सृष्टिको आरम्भमा सूर्यलगायतका ग्रह, नक्षत्र शून्य अवस्थामा रहेको र त्यही शून्यमा विक्रम संवत्को गणना पद्धति सुरु हुन्छ ।’ नेपालमा विक्रम संवत्ले सबै जाति, भाषा, धर्म र संस्कृति र विविधतालाई समेटेको छ । वैदिककालदेखि प्रचलित तिथि र बारहरूको अबलम्वन गर्दै आएको विक्रम संवत्मा तिथि थपघट भइरहने हुनाले शासनव्यवस्थामा धेरै अपठ्यारो भएकोले ज्योतिषहरूको सल्लाह र सुझावमा प्रशासकीय व्यवस्थामा सजिलोका लागि चन्द्रशमशेरले तिथि र बारमा कुनै तलमाथि नगरी विक्रम संवत् १९६१ वैशाख मेष सङ्क्रान्तिदेखि गतेमा लेख्ने चलन चलाएका हुन् । कहिले तिथि हराउने, कहिले एकै दिन दुइटा तिथि आइपर्ने हुनाले विक्रम संवत्लाई गतेबाट लेख्ने चलन चलाएपछि अरू संवत्को दाँजोमा विक्रम संवत् व्यावहारिक देखिएको हो । विक्रम संवत् १९६१ सालदेखि मेष संक्रान्तिलाई वैशाख १ गते मानी त्यसैका आधारमा महिनाका दिन निर्धारण गरिएका हुन् । त्यसैले विक्रम संवत् नेपालको गौरवमय पहिचान हो ।