महानगरबाहेकका परिणाम अन्तिम चरणमा
हाम्रा पूर्वी नवलपरासी समाचारदाता होमराज रानाभाट/मीना कँडेलका अनुसार, पूर्वी नवलपरासीका आठ स्थानीय तह सबैको नतिजा सार्वजनिक भइसकेको छ । आठ पालिकामध्ये हुप्सेकोट र गैँडाकोटमा नेपाली काँग्रेस विजयी भएको छ भने देवचुली, कावासोती, मध्यबिन्दु, बौदीकाली, बुलिङ्टार र विनयीमा एमाले विजयी भएको छ । २०७४ सालको निर्वाचनमा काँग्रेसले जितेका पाँच पालिका गुमाएर यस पटक दुई पालिकामा मात्र जित हासिल गरेको छ । ९२ वडा रहेको पूर्वी नवलपरासीमा ४२ वटामा काँग्रेस, ४८ वटामा एमाले, १ राप्रपा र १ माओवादीले हात पारेका छन् ।
पोखरा महानगरपालिकामा धनराज आचार्यको अग्रता कायमै
पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । महानगरको ६४ हजार ११ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले २६ हजार ४११ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले २३ हजार २४५ मत प्राप्त गर्नुभएको छ । आचार्यले तीन हजार १६६ मतले अग्रता हासिल गर्नुभएको छ ।
गोरखाको सिरानचोक गाउँपालिकामा पुनः कांग्रेस विजयी
सिरानचोक गाउँपालिकामा पुनः नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षका उम्मेदवार ज्ञानेन्द्र गुरुङ ५ हजार ४०३ मतका विजयी बन्नु भएको हो । उहाँका निकतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नवराज पुडासैनीले ४ हजार १६८ मत ल्याउनु भएको छ ।
सिरानचोक गाउँपालिकाको अध्यक्षमा गुरुङ, उपाध्यक्षमा देवकोटा
नरेन्द्र ढकालगोरखा, जेठ ५ गते । सिरानचोक गाउँपालिकामा पुनः नेपाली कांगे्रस बिजयी भएको छ । अध्यक्षका उम्मेदवार ज्ञानेन्द्र गुरुङ ४ हजार ६३० मतका बिजयी बन्नुभएको हो । उहाँका निकतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नवराज पुडासैनीले ३ हजार ५३५ मत ल्याउनुभयो । पुडासैनीलाई १ हजार ९५ को फराकिलो मतान्तर हराउँदै गुरुङ बिजयी बन्नुभएको सिरानचोक गाउँपालिका निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिनुभयो । वडा २ थालाजुङका निवर्तमान वडाध्यक्ष रहनुभएका गुरुङ लोकप्रिय मत ल्याएर बिजयी बन्नुभयो । ४१ वर्षे युवा गुरुङ यसअघिका वडा अध्यक्षमध्येबाट अध्यक्ष, प्रमुखमा टिकट पाउने एकमात्र व्यक्ति हुनुहुन्छ । स्नात्तोतर गर्नु भएका उहाँ राम्रा योजनाकार समेत मानिनुहुन्छ । नेकपा (एमाले) बाट अध्यक्षका प्रत्यासी देबराज श्रेष्ठले १ हजार ५४५ मत ल्याउनु भएको छ । यसैगरी जनता समाजवादी पार्टीका चित्रबहादुर गुरुङले ४८६, राष्ट्रिय प्रजातन्त्र पार्टीका जयप्रकाश बगालेले १२८, मंगोल नेशनल अर्गनाइजेसनका यमबहादुर गुरुङ, ८९ र राष्ट्रिय नागरिक पार्टीका सन्तबहादुर बिश्वकर्माले १० मत पाउनुभयो । त्यसैगरी उपप्रमुखमा पनि कांग्रेसका उम्मेदवार रीता देबकोटा बिजयी हुनुभएको छ । ४ हजार १ सय ४ मत ल्याएर उहाँ बिजयी हुनुभयो । उहाँका निकटम् प्रतिस्पर्धी माओवादी केन्द्रकी उम्मेदवार पूर्णकुमारी ढकालले ३ हजार २ सय ४६ मत ल्याएर पराजित हुनुभयो । यसअघि पनि उपाध्यक्ष रहनु भएकी उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनभयो । एमालेकी शशिकला देवकोटाले १ हजार ८४४, जनता समाजवादी पार्टीकी शोभा सुनारले ६५२, मंगोल नेशनल अर्गनाइजेसनकी पञ्चमायाँ गुरुङले १७५, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सीता पोखरेलले १४४ र राष्ट्रिय नागरिक पार्टीकी दिपमायाँ बिकले २५ मत ल्याउनुभयो । ८ वटा वडामा रहेको सिरानचोक गाउँपालिकामा वडा नं. १, २, ३, ४, ८ गरी ५ वटा वडामा कांग्रेस बिजयी भएको छ । वडा ५, ६, ७ मा माओवादी केन्द्रले जित हासिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाभर एक मात्रा महिला अध्यक्षमा निर्वाचित
बागलुङको बडिगाड गाउँपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकीा गण्डकी थापा गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
दुई वडाको गणना अगावै भानु नगर प्रमुख र उपप्रमुखमा काँग्रेस विजयी
दुई वडाको मत गन्न बाँकी छँदै तनहुँको भानु नगरपालिकाको प्रमुख तथा उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । सो नगरपालिकामा अधिकांश वडा पनि काँग्रेसले नै जितेको छ ।
स्याङ्जाको नगरमा काँग्रेस, गाउँमा एमालेको दबदबा
स्थानीय तह निर्वाचन २०७९ मा स्याङ्जामा रहेका सबै ११ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । पाँच नगरपालिका र ६ गाउँपालिकामध्ये चार नगरपालिका र एक गाउँपालिकामा नेपाली काँग्रेस तथा एक नगरपालिका र पाँच गाउँपालिकामा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् ।
गोरखा नगर प्रमुखमा माओवादी केन्द्रका राना र उपप्रमुखमा थोकर विजयी
गोरखा नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका कृष्णबहादुर रानामगर विजयी हुनुभएको छ । उपप्रमुख भने नेपाली काँग्रेसकी मसलीमायाँ थोकर (सपना पुन) ले जित्नुभएको छ । नगरप्रमुखमा विजयी रानाले ८ हजार ९६४ मत ल्याउनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राजनराज पन्तले ७ हजार १०८ मत प्राप्त गर्नुभएको छ ।
पालुङटार नगरपालिकामा माओवादी केन्द्रका चिन्तन र पाण्डे विजयी
गोरखाको पालुङटार नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृहनगर पालुङटारमा जनता समाजवादी पार्टी र एमालेको गठबन्धनलाई हराउँदै माओवादी विजयी भएको हो ।