• १५ असार २०८१, शनिबार

तोकिएकै समयमा १६ पालिकामा बजेट

blog

यादवराज पुुरी
रौतहट, असार १२ गते । 
१८ वटा स्थानीय तह रहेको रौतहटमा १६ वटा पालिकाले निर्धारित मितिमा नै बजेट प्रस्तुत गरे पनि एउटा पालिकामा भने नगर सभा बिथोलिएको छ ।

बौधिमाई नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवले असार १० गते राति १२ बजे बिना बहुमत जबरजस्ती नगर सभा गरेको भन्दै पालिकाका उपप्रमुख प्रमीलाकुमारी जैसवालसहितको बहुमतले नगर सभा बिथोलेका थिए । उपप्रमुख जैसवालले बहुमत बिनाको नगर सभाको कुनै औचित्य नहुने बताउनु भएको छ । बहुमत सहितको नगर सभा गर्न उहाँको आग्रह छ ।  

यस्तै जिल्लाको देवाही गोनाही नगरपालिका र फतुवा विजयपुर नगरपालिकामा बजेट विनियोजनको विषयलाई लिएर जनप्रतिनिधिबिच भागबन्डा नमिलेको कारण नगर अधिवेशन हुन नसकेको सम्बन्धित पालिकाका जनप्रतिनिधि कै गुनासो छ ।

यता चन्द्रपुर, कटहरिया, वृन्दावन, गौर, गुजरा, राजपुर, गरुडा, इशनाथ नगरपालिका र यमुनामाई गाउँपालिकाले असार १० गते अगावै नगर सभा गरेको छ । असार १० गते जिल्लाको सात वटा स्थानीय तहले एकै दिन नगर सभा गरेको थियो । जसमध्ये बौधिमाई नगरपालिकाको नगर सभा बिथोलिएको हो । 

मौलापुर नगरपालिकाको अधिवेशनले शून्य कर नीतिसहित ३९ करोड रुपियाँको बजेट पारित गरेको थियो । आमजनता पार्टीका अध्यक्ष सङ्घीय सांसद प्रभु साहको प्रमुख आतिथ्यमा उक्त पालिकाको आठौँ बजेट अधिवेशन सम्पन्न भएको थियो ।

परोहा नगरपालिकाका प्रमुख शेख वकिलले नगर सभामा ४८ करोड ४४ लाख १९ हजार एक रुपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो । दोस्रो पटक निर्वाचित हुनु भएका पालिका प्रमुख वकिलले नगरवासीलाई प्रत्यक्ष लाभ हुने गरी योजना ल्याउनु भएको बताइएको छ ।

त्यस्तै, गुजरा नगरपालिकाको नगर सभाले ५७ करोड ६८ लाख ६३ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ । यसैगरी, माधवनारायण नगरपालिकाले ४९ करोड ७४ लाख ७२ हजार, दुर्गा भगवती गाउँपालिकाले ३७ करोड ६५ लाख ५६ हजार, राजदेवी नगरपालिकाले ४८ करोड १० लाख ९६ हजार र गढीमाई नगरपालिकाको ११ औँ नगर सभाले ५९ करोड ५०, लाख, एक हजार रुपियाँको बजेट प्रस्तुत गरेका थिए ।

तोकिएकै समयमा रौतहटको बहुसङ्ख्यक पालिकाले बजेट प्रस्तुत गरेको यो पहिलो ‘रेकर्ड’ रहेको जिल्ला समन्वय समितिका रौतहतका अध्यक्ष प्रलव कायस्थको अभिव्यक्ति छ ।