गुल्मीमा काँग्रेस ५, माओवादी ४ र एमालेलाई ३ प्रमुख
तिलाचन पाण्डेतम्घास, जेठ ५ गते । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट गुल्मीका २ स्थानीय तहमा पुरानै अनुहार निर्वाचित हुनुभएको छ । जिल्लाको धुर्कोट गाउँपालिका र कालीगण्डकी गाउँपालिकाका अध्यक्षहरु पुनःनिर्वाचित हुनुभएको हो । धुर्कोट गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का भुपाल पोखरेल र कालीगण्डकी गाउँपालिकामा नेपाली कांग्रेसका बेदबहादुर थापा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । पोखरेलले काँग्रेसका महेन्द्र भण्डारीलाई एक हजार ८२८ मतले पराजित गर्नुभएको हो । थापाले नेकपा (एमाले) का रामजी ढकाललाई १३३ मतले पराजित गर्नुभयो । यस्तै, जिल्लाको मदाने गाउँपालिकामा एमालेकी सरीता खड्का पुनः उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । उहाँले माओवादी केन्द्रका बेगम चन्दलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । खडकाले चन्दलाई ३५६ मतले पराजित गर्नुभयो । गुल्मीको १२ स्थानीय तहमध्ये ५ स्थानीय तहमा काँग्रेस, ४ तहमा माओवादी केन्द्र र ३ स्थानीय तहमा एमालेले प्रमुख पदमा विजयी हासिल गरेको छ ।
ओमसतीयाको अध्यक्षमा एमालेका यादव र उपाध्यक्षमा काँग्रेसकी चौधरी विजयी
रुपन्देहीको ओमसतीया गाउँपालिका एमालेले जितेको छ । गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार मन्जितकुमार यादव निर्वाचित हुनुभएको हो । उहाँले ४ हजार ८३१ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्दी राप्रपाका तिलकसिंह कोईरालाले ३ हजार १३९ मत प्राप्त गर्नुभयो ।
बाणगङ्गा नगरपालिकाको प्रमुख र उपप्रमुख एमाले विजयी
कपिलवस्तुको बाणगङ्गा नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का चक्रपाणि अर्याल र उपप्रमुखमा रीता चौधरी विजयी हुनुभएको छ ।
मायादेवीमा काँग्रेस र रोहिणी गाउँपालिकामा जसपा विजयी
रुपन्देही जिल्लाको मायादेवी गाउँपालिकामा पुनः नेपाली काँग्रेसले जित निकालेको छ । मायाँदेवी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका ध्रुवनारायण चौधरी निर्वाचित हुनुभएको हो ।
बाणगङ्गा नगरपालिकामा एमाले विजयी
कपिलवस्तुको बाणगङ्गा नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । नगरप्रमुखमा चक्रपाणि अर्याल र उपप्रमुखमा रिता कुमारी थारु विजयी हुनु भएको छ ।
प्युठानको मतगणना सकियो
प्युठानको मतगणना सकिएको छ । घोषित मतपरिणाम अनुसार जिल्लाका नौ वटा पालिकामध्ये नेपाली कांग्रेसले तीन पालिका प्रमुख र चार उपप्रमुख जितेको छ ।
गठबन्धनलाई हराउँदै घोराहीमा एमाले विजयी
दाङको घोराही उपमहानगरपालिकाको नगरप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार नरुलाल चौधरी निर्बाचित हुनुभएको छ । चौधरीले सत्ता गठबन्धनबाट नेकपा(माओवादी केन्द्र)का उम्मेदवार हेमराज शर्मालाई पाँच हजार ३३० मतले हराउँदै दोश्रो कार्यकालका लागि घोराहीको नगरप्रमुखमा विजयी हुनुभएको हो ।
३० वर्षपछि सिद्धार्थनगरमा कांग्रेस विजयी
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा ३० वर्षपछि नेपाली कांग्रेसका उम्मेदवार प्रमुखमा बिजयी भएको छ । भैरहवामा तीन दशक पछि कांग्रेसले आफ्नो विरासत फर्काउन सफल भएको हो ।
लुम्बिनीमा काँग्रेसलाई अग्रता, पछ्याउँदै एमाले र माओवादी
स्थानीय तह निर्वाचनको परिणामअनुसार लुम्बिनी प्रदेशमा नेपाली काँग्रेसले अग्रता लिएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) दोस्रो स्थानमा रहेको छ । गुल्मी समाचारदाताका अनुसार गुल्मी जिल्लाको स्थानीय निर्वाचन परिणामको नतिजा काँग्रेसको पक्षमा गएको छ । दुई नगरपालिकासहित १२ स्थानीय तह रहेको गुल्मीमा नेपाली काँग्रेसले पाँच स्थानीय तहमा जित निकालेको छ । नेपाली काँग्रेसले रेसुङ्गा नगरपालिकाको प्रमुख जितेको छ । त्यस्तै इस्मा, मदाने, गुल्मीदरबार र कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा विजय प्राप्त गरेको छ ।