प्रदेश १ को नाममा सकस : मुख्यमन्त्री भन्नुहुन्छ, ‘‘पहिचानको पक्षमा स्पष्ट छु’’
गोकुल पराजुली विराटनगर, साउन ५ गते। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आवश्यक पर्दा सरकारमा रहेर पनि आन्दोलन गर्ने बताउनुभएको छ। पहिचान झल्किने नाम राख्न माग गर्दै ज्ञापन पत्र बुझाउन पुगेको टोलीलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राईले क्रान्तिकारी भएको नाताले पहिचानको पक्षमा आफू प्रष्ट रहेको बताउनुभएको हो। आफूले जनताको मागलाई सम्बोधन हुने र शान्तिका लागि पहिचान जोड्नुपर्ने कुरा गर्दा कसैले भड्काउन खोजेको आरोप लगाए त्यसलाई सामान्य अर्थमा लिने मुख्यमन्त्री राईले बताउनुभयो। ‘‘मैले शान्तिका कुरा गर्दा अपव्याख्या भइरहेको छ। पहिचान दिँदा शान्ति हुन्छ, नदिँदा आन्दोलन हुन्छन्। आन्दोलनको कुनै सीमा र अवधि हुँदैन। त्यसो भन्दा मुख्यमन्त्रीले नै आन्दोलनका लागि भड्कायो भन्ने विषय आएको छ। यसमा मलाई कुनै चिन्ता छैन। म एउटा परिवर्तनकारी, क्रान्तिकारी हुँ,’’ राईले भन्नुभयो, ‘‘२०६२÷०६३ को आन्दोलन पनि अधुरो छ। अधुरो क्रान्तिलाई पुरा गर्नका लागि म सडकबाट पनि र सरकारमा बसेर पनि परेको बेला आन्दोलन गर्न सक्छु।’’पहिचान नभएको नामलाई ‘नेगेटिभ’को संज्ञा दिँदै उहाँले पहिचान सहितको नाम नआउने अवस्था बनेमा प्रदेशसभाको यो कार्यकालमा प्रदेशले नाम नपाउन सक्ने उहाँको भनाइ छ। ‘‘अहिलेकै संसदबाट नाम ल्याउनुपर्छ भन्ने छ र ? अर्को संसदले ल्याउँछ। यो कुरा लुकाउनु पर्ने छैन। त्योसम्मको भूमिका मेरो रहन्छ,’’ उहाँले भन्नुभयो। प्रदेश नामकरणमा किरात लिम्बुवान जोड्दा केही फरक नपर्ने मुख्यमन्त्रीको भनाइ थियो। उहाँले विद्यमान कानुन र संविधानका कतिपय प्रावधान संशोधन गर्नुपर्ने माग भइरहेकोले जस्ताको त्यस्तै स्वीकार्न पर्छ भन्ने नभएकोसमेत बताउनुभयो। ‘‘अहिलेको कानुन, संविधान तथा राज्यका संरचना पनि परिवर्तन गर्नु जरुरी छ,’’ उहाँले भन्नुभयो, ‘‘अहिलेको जस्ताको तस्तै स्वीकार्न जरुरी छैन। यो विषयमा सबैले भन्दा हुन्छ, ठूलाठूला अक्षरमा लेखिदिँदा हुन्छ, मलाई केही फरक पर्दैन। म गल्ती नगर्ने नडराउने मान्छे हुँ।’’बिहीबार किरात–लिम्बुवान नाम राख्न माग गर्दै विभिन्न ३२ वटा संघसंस्थाको आह्वानमा विराटनगरमा जनप्रदर्शन भएको थियो। उनीहरुले विराटनगरमा प्रदर्शन गर्नुका साथै मुख्यमन्त्रीको कार्यालय र प्रदेशसभा घेराउ गरेर देवकोटा चोकमा कोणसभासमेत आयोजना गरेका थिए। लिम्बुवान किरात संघर्ष समितिका संयोजक प्रेम याम्थुमले नामकरण गर्दा किरात–लिम्बुवान समावेश नगरिए छुट्टै (८ औं) प्रदेशको माग गर्दै आन्दोलन चर्काउने चेतावनी दिनुभयो। आन्दोलनका क्रममा कहिल्यै नआएको कोशी र सगरमाथाको विषयमा संसदमा बहस गर्नुको औचित्य नभएको उहाँको भनाइ छ।
राष्ट्रियतामाथि गम्भीर खतरा छ : नेता खनाल
नेकपा (एकीकृत समाजवादी) का सांसद एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकको राष्ट्रियतामाथि गम्भीर खतरा मडारिरहेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभयो ।
प्रदेश सरकारको आवश्यकता छैन : कमल थापा
काठमाडौं, साउन ५ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले प्रदेश सरकारको आवश्यक्ता नभएको बताउनुभएको छ। बलियो केन्द्रीय सरकार र स्थानीय सरकारलाई बढी अधिकार सम्पन्न बनाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष थापाले प्रदेश सरकारको आवश्यक्ता नरहेको बताउनुभएको हो। बिहीबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने आफ्नो पार्टीको मान्यता रहेको उल्लेख गर्नुभयो। अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएकाले पनि अब समानुपातिक निर्वाचन प्रणालीमा जानु उपयुक्त हुनेतर्क अध्यक्ष थापाको छ। उहाँले भन्नुभयो, ‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्दछ। संघीयताको वर्तमान स्वरुपलाई आमूल परिवर्तन गरेर केन्द्रमा एउटा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा पनि बढी अधिकार सम्पन्न स्थानीय सरकार गरी दुई वटा तहको संघीय स्वरुप कायम गर्न उपयुक्त हुन्छ। प्रदेश सरकारको आवश्यक्ता छैन भन्ने हाम्रो पार्टीको स्पष्ट मान्यता रहेको छ।’अध्यक्ष थापाले राष्ट्रवादी शक्तिबीचको बलियो एकताबाट मात्रै मुलुकको समृद्धि र विकास सम्भव हुने बताउनुभयो। उहाँले आफ्नो पार्टी मुलुकको वैकल्पिक राजनीतिक शक्ति भएको दाबीसमेत गनुभयो।
राप्रपाको केन्द्रीय कार्यसमितिमा राजनीतिक प्रतिवेदन पेश
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक जारी छ । काठमाडौंको धुम्बाराहीस्थित एक होटलमा बिहीबारदेखि सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशाको विषयमा राजनीतिक प्रतिवेदन पेश गर्नुभएको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
उद्देश्यसहित गठबन्धन हुन्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आसन्न सङ्घीय र प्रादेशिक निर्वाचनमा निश्चित उद्देश्यसहित दलहरुको बीचमा तालमेल हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले बिहीबर यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँ तालमेल के का लागि पहिले नै टुङ्गो लाग्नुपर्छ भन्नुभयो ।
संसदीय समितिले सोधेको सबै प्रश्नको जवाफ दिएको छु : जनार्दन शर्मा
नेकपा (माओवादी केन्द्र) का नेता एवम् पूर्व अर्थमन्त्री जनार्दन शर्माले संसदीय विशेष छानबिन समितिले सोधेका सबै प्रश्नको जवाफ दिएको बताउनुभएको छ।
छानविन समितिसँग पूर्वअर्थमन्त्री शर्माले दिनुभयाे बयान
संसदीय छानविन समितिले बोलाएपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बिहीबार बिहान समिति समक्ष वयान दिनुभएको छ । अर्थमन्त्रालयले तयारी गरेको बजेटको अन्तिम चरणमा अनधिकृत व्यक्तिको प्रवेश गरेर बजेट हेरफेर गरेको आरोप लागेपछि उहाँ माथि छानविन सुरु भएको छ ।
स्वास्थ्य बीमा बन्द गरिएकोप्रति एमालेको ध्यानाकर्षण
देशका विभिन्न अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएकोप्रति नेकपा (एमाले) ले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले बुधबार विज्ञप्ती जारी गर्दै आमनागरिकले सहज ढंगबाट बीमाको उपयोग गर्न पाउनुपर्ने उल्लेख गर्नुभएको छ ।
दानबहादुर तामाङ दक्षिण अफ्रिकाका लागि राजदूत नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले दानबहादुर तामाङलाई दक्षिण अफ्रिकाका लागि नेपालको अवासीय राजदूत नियुक्त गर्नुभएको छ।