चक्रपथका तीन ठाउँमा ‘अन्डरपास’ बन्ने
दोस्रो चरण अन्तर्गत विस्तार गर्न लागिएको चक्रपथको कङ्लकी–महाराजगन्ज खण्डको तीन ठाउँमा गाडी गुड्ने ‘अन्डरपास’ (भेहिकल अन्डरपास) निर्माण हुने भएको छ । कङ्लकी–वसुन्धारा खण्डको गोङ्गबुस्थित नयाँ बसपार्क, बालाजुको ढुङ्गेधारा र वसुन्धरामा ‘अन्डरपास’ निर्माण हुने भएको हो । ‘अन्डरपास’ निर्माणका लागि चीनसँग सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागले जनाएको छ । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले कङ्लकी–महाराजगन्ज खण्डको तीन ठाउँमा गाडी ‘अन्डरपास’ निर्माणका लागि चीनसँग सहमति भएको जानकारी दिनुभयो ।
कामपामा कक्षा १० सम्म दिवा खाजा
काठमाडौँ महानगरपालिकाले मातहतका सबै सामुदायिक विद्यालयका कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउनेभएको छ। महानगरपालिकाको नगर कार्यपालिकाका अनुसार दिवा खाजा कार्यक्रम भदौ १ देखि लागु गरिएको छ। महानगरपालिकाले यसअघि कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन गरेको थियो। सङ्घीय सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन गरिरहेको छ।
वन्यजन्तुका कारण गाउँ रित्तिँदै
सञ्चार, बिजुली, कालोपत्रे सडक र सुविधासम्पन्न विद्यालय तथा स्वास्थ्य चौकी थपिए पनि गाउँ भने रित्तिन थालेका छन् । केहीअघिसम्म यस्तै सेवासुविधा खोज्दै सहर झर्ने क्रम बढे पनि पछिल्लो समय भने ग्रामीण बस्ती रित्तिनुको खास कारण जङ्गली जनावरको हैरानी हो । गाउँमा कृषि उत्पादन जोगाउन नसकेपछि बाध्य भएर सहर छिर्ने बढेका छन् । बाँदर, बँदेल र दुम्सीले खेती सखाप पार्ने र घरपालुवा जनावरलाई चितुवाले खान थालेपछि धेरै कृषक आफ्नो थातथलो छोडेर सहर जान थालेका छन् ।
शाश्वतधाममा आजदेखि हनुमान कथा प्रबचन सुरु
नवलपरासी पूर्बको दुम्कौलीस्थित शास्वतधाममा आजदेखि विराट हनुमान कथा प्रबचन सुरु भएको छ । भारतस्थित बागेश्वरधामका आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर बाबा) ले तीन दिनसम्म हनुमान कथा प्रबचन गर्नु हुनेछ ।
मिडिया सबलीकरणको माग गर्दै सम्मेलन सम्पन्न
प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको आयोजनामा बुटवलमा भएको मिडिया सम्मेलनले १३ बुँदे बसन्तपुर घोषणापत्र जारी गरेको छ । लुम्बिनी प्रदेशभित्रका दुईसय मिडियाका सञ्चालक तथा पत्रकारको सहभागितामा भएको सम्मेलनले सो घोषणापत्र जारी गरेको हो ।
खोलाको कटानले खेतीयोग्य भूमि बगर बन्दै
गुडरुङ खोलाले खेती गर्ने जमिन कटानगरी बगरमा परिणत गरेपछि कृषकले क्षति बेहोर्नुपरेको छ । बुद्धभूमि नगरपालिका हुँदै बग्ने खोलाले पालिकाको ७ वटा वडामा वर्सेनी कटान गर्दैआएको छ ।
संसद् खुलाउने प्रयास जारी, प्रतिपक्षी दलको अडान कायमै
सत्ता गठबन्धनले संसद् सुचारुका लागि पहल गर्दैआएको छ । सभामुख देवराज घिमिरेले संसद् बैठक सुचारुका लागि आवश्यक वातावरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग समेत छलफल गर्नुभएको छ ।
बागमतीमा डेंगु सङ्क्रमित सङ्ख्या तीन हजार नाघ्यो
बागमती प्रदेशमा डेंगु सङ्क्रमित सङ्ख्या तीन हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भदौ १ गते शुक्रबारसम्म प्रदेशका १३ जिल्लामा तीन हजार एकसय १९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
चालकसँग अवैध रकम असुली गरेको आरोप
सप्तरीको ट्राफिक प्रहरीले सवारी चालकसँग अवैध रकम असुली गरिरहेको चालकहरूको गुनासो छ । सप्तरीका विभिन्न चोक, गल्ली तथा सडक अस्तव्यस्त हुँदै गर्दा ट्राफिक प्रहरी सवारी चालकसँग अवैध रकम असुलीमा लागेको आरोप छ ।