• १४ जेठ २०८१, सोमबार

चालकसँग अवैध रकम असुली गरेको आरोप

blog

फाइल तस्बिर

देवरामप्रसाद यादव

सप्तरी, भदौ २ गते । सप्तरीको ट्राफिक प्रहरीले सवारी चालकसँग अवैध रकम असुली गरिरहेको चालकहरूको गुनासो छ । सप्तरीका विभिन्न चोक, गल्ली तथा सडक अस्तव्यस्त हुँदै गर्दा ट्राफिक प्रहरी सवारी चालकसँग अवैध रकम असुलीमा लागेको आरोप छ । 

ट्राफिक प्रहरीले कागजपत्र नभएको सवारी चालकसँग अवैध रकम असुल गर्नेगरेको सवारी चालक राधेश्याम यादवले बताउनुभयो । लोकमार्ग क्षेत्रमा खटिनुपर्ने ट्राफिक प्रहरीहरू गाउँवस्तीका लोकमार्गमा देखिन थालेपछि सप्तरीका मुख्यचोक पूर्व–पश्चिम लोकमार्ग क्षेत्रको ट्राफिक व्यवस्थापन फितलो भइरहेको स्थानीयको भनाइ छ । 

चेकिङ गर्नेक्रममा ट्राफिक प्रहरीकै कारण लोकमार्गमा अनावश्यक जाम हुनेगरेको मोटरसाइकल चालक अजय चौधरीले बताउनुभयो । मालवाहक, कवाडी र पशु लोडलगायतको सवारी साधनलाई चेकजाँचको नाममा सवारी साधनलाई दुःख दिने गरेको चालकहरूको गुनासो छ ।

ट्राफिक व्यवस्थापन कमजोर रहेको कारण सप्तरीको भारदह, हनुमाननगर, कञ्चनपुर, फतेपुर, कठौना, रुपनगर, कदमहा, महुली, रुपनी, कल्याणपुर, विषणपुर, बोदेवर्साइन, सखडा, पातो र सदरमुकाम राजविराजलगायतको सहरी क्षेत्रमा जथाभाबी पार्किङको समस्या रहेको स्थानीयको गुनासो छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथका ट्राफिक प्रहरी हवलदार चन्द्रमान दनुवारले दुर्घटना बढेकाले सवारी चेकजाँच बढाएको बताउनुभयो । राजस्व बढाउने जिम्मेवारी पनि ट्राफिकको रहेको उहाँले बताउनुभयो । चेकजाँचले नागरिकलाई सास्तीभन्दा सुरक्षा सुनिश्चित हुने उहाँको भनाइ छ ।