गृहमन्त्री बालकृष्ण खाणले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सशक्त र प्रभावकारी बनाउन ३० वैशाखमा निर्धारित स्थानीय तह निर्वाचनमा भाग लिन सबै राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।
शिवराज ढुंगाना अछाम, वैशाख ५ गते। कर्णाली नदीमा पौडी खेल्ने क्रममा अछामका २ बालक डुबेर बेपत्ता भएका छन्। पन्चदेवल विनायक नगरपालिका-८ बारला निवासी ११ वर्षीय विराज जैसी (सञ्ज्याल) र ६ वर्षीय अभिषेक जैसी (सञ्ज्याल) सोमबार दिउँसोबाट बेपत्ता भएका हुन्। बारलाको कर्णाली नदीमा दिउँसो करिब ३ बजेतिर पौडी खेलिरहेको अवस्थामामा डुबेर बेपत्ता भएको अछाम प्रहरी प्रमुख डीएसपी रविराज थपलियाले जानकारी दिनुभयो। बेपत्ता रहेका बालकको स्थानीय, प्रहरीले खोजीरहेको बताइएको छ।
ललितपुर, वैशाख ५ गते। विज्ञान र कलाको अन्तरसम्बन्ध र महत्वलाई उजागर गर्ने उद्देश्यसहित सोमबारदेखि ‘बोटानिकल आर्ट एन्ड इलस्ट्रेसन’ तालिम सुरु भएको छ।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) अन्र्तगत महिला वैज्ञानिक फोरमको आयोजनामा नास्टमै सो तालिम सुरु भएको हो। सो तालिमको राष्ट्रिय योजना आयोगका सदस्य डा.पुष्प रमण वाग्लेले उद्घाटन गर्नुभयो। उहाँले नेपाल जैविक विविधताको देश भएकाले वनस्पतिकोको अध्ययन, अनुसन्धान र संरक्षणमा कलाको भूमिका महत्वपूर्ण हुने चर्चा गर्नुभयो।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिला देवी बज्राचार्यले अनुसन्धान र प्रविधिलाई जनउपयोगी केन्द्रित गर्नुपर्नेमा जोड दिदै विद्यालयको पाठ्यक्रममा नै दृष्टान्तकला (इलस्ट्रेसन) समावेश गर्नका लागि पहल गर्ने बताउनुभयो।यस्तै, नास्टका उपकूलपति डा.सुनिलबाबु श्रेष्ठले कला र विज्ञानको अध्ययनलाई सँगसँगै लैजानुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, 'सिक्काको दुई पाटाजस्तै कला र विज्ञान अन्तरसम्बन्धित छन्। यिनलाई सँगसँगै लैजानुपर्छ।'यस्तै, वानस्पतिक विषय केन्द्रित कलाकार नीरा जोशी प्रधानले वानस्पतिक कलाको महत्व, इतिहास र वर्तमान गतिविधिबारे भिडियो सामग्री प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा वरिष्ठ वनस्पतिविज्ञ डा.केशरी लष्मी मानन्धर, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञ रमेश खनाल, महिला वैज्ञानिक फोरमका संयोजक डा.अन्जना सिंहले विज्ञानको अध्ययनमा कलाको महत्वबारे चर्चा गर्नुभएको थियो। दुई दिने सो तालिममा करिव १० विद्यालयका २५ विद्यार्थी सहभागी छन्।
लक्ष्मीप्रसाद उपाध्याय काठमाडौँ, वैशाख ५ गते। विश्वमा दुर्लभ मानिएका वन्यजन्तुको संरक्षणमा चुनौती थपिँदै गएपछि सरकारले दश वर्षे वन्यजन्तु रणनीतिक योजना कार्यान्वयनमा ल्याउन थालेको छ। सन् २०२२ देखि २०३२ सम्मको अवधिका लागि सञ्चालन हुनेगरी सरकारले रणनीतिक योजना ल्याउन थालेको वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले जानकारी दिनुभयो। सो रणनीतिक योजना निर्माणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले काम गरिरहेको छ। विभागले तयार पारेको प्रारुप बारे सरोकारवालासँग छलफल गरी सुझाव लिने कार्य भइरहेको छ। विभागले आफ्ना पूर्वमहानिर्देशक, अन्तर्राष्ट्रिय संरक्षण साझेदार संस्थाका प्रतिनिधिसँग राय सल्लाह सुझाव मागिसकेको छ। प्रदेश सरकार, स्थानीय तह र मध्यवर्ती क्षेत्रका समुदाय, राजनीतिक नेतृत्वसँग पनि छलफल गरी सुझाव लिने कार्यक्रम रहेको विभागले जनाएको छ। विश्वमा दुर्लभ मानिएका पाटेबाघ, एकसिङे गैँडा, हिउँ चितुवा, हात्तीलगायतका वन्यजन्तुको संरक्षणमा विशेष कार्यक्रम सञ्चालन गर्दै आएको नेपालले ती वन्यजन्तुको सङ्ख्या वृद्धि भएसँगै चुनौतीसमेत थपिँदा रणनीतिक योजना निर्माण गर्नुपर्ने बाध्यता भएको जनाइएको छ। विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलका अनुसार सङ्घीयतामा मुलुक गइसकेपछि प्राकृतिक स्रोतमाथिको अधिकार बाँडफाँट भएसँगै फिल्डस्तरमा काम गर्न केही कठिनाई हुँदै गएका छन्। बासस्थान, आहार प्रजातिको थप व्यवस्थापन र राष्ट्रिय निकुञ्ज वरिपरिका बासिन्दाको जीविकोपार्जन लगायतका विषयमा पनि थप स्पष्ट ढङ्गले कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले रणनीतिक योजना निर्माण गर्नुपरेको बताइएको छ। रणनीतिक योजनाको प्रारुपमा संरक्षण क्षेत्रको व्यवस्थापन, प्रजातिको संरक्षण र बासस्थानमा सुधार, वन्यजन्तु कानुनको प्रभावकारी कार्यान्वयनलगायतका विषय समेटिएका छन्। विभागका इकोलोजिस्ट गणेश पन्तका अनुसार मानव वन्यजन्तुको सहअस्तित्व, जैविक मार्ग र वन्यजन्तुको भूपरिधिमा सुधार, जैविक विविधिता र जलवायु परिवर्तन, संरक्षण वित्तको व्यवस्थापनलगायतका विषयलाई रणनीतिक योजनामा समेटिने छ। वन्यजन्तु संरक्षणका लागि सरकारले रणनीतिक योजना निर्माण गरेर पछिल्ला दिनमा देखिएका चुनौतीलाई समाधान गर्नु आजको आवश्यकता भएको सरकारका पूर्वसचिव डा. कृष्णप्रसाद आचार्यले बताउनुभयो। निकुञ्ज विभागका पूर्वमहानिर्देशक भएर काम गरिसक्नु भएका डा. आचार्यले भन्नुभयो, ‘‘अब पुरानो नीति नियमले संरक्षण हुने अवस्था रहेन। त्यसैले पछिल्ला दिनमा देखिएका चुनौतीलाई सम्बोधन हुने गरी नीति, रणनीति र कार्यनीति परिवर्तन हुनु जरुरी छ।’’वन तथा वातावरण मन्त्रालयका पूर्व सचिव स्वयम्भुमान अमात्यले ल्याउन लागिएको रणनीतिक योजनाले वन्यजन्तुको संरक्षणमा देखिएका पछिल्ला समस्या सम्बोधन गर्न सक्नुपर्ने बताउनुभयो।
काठमाडौं, वैशाख ५ गते। पाँच दलीय सत्ता गठबन्धनको बैठक सम्पन्न भएको छ। मंगलबार पुनः बस्नेगरी सोमबारको बैठक सम्पन्न भएको हो।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन तयारी, चुनावी तालमेल लगायतका विषयमा गठबन्धनका दलहरु सहमति नजिक पुगेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो। ‘तालमेलको कुरा छ, यसमा गम्भीरताका साथ छलफल भएको छ। केही विषयमा सहमति भएको छ’, सञ्चारमन्त्री कार्कीले भन्नुभयो, ‘भोलि मंगलबार बिहान पुनः साढे ११ बजे बस्ने बैठकले सहमतिलाई अन्तिम रुप दिनेछ।’ ‘महानगरपालिका, उपमहानगरपालिका लगायत समग्रमा छलफल भयो। सकारात्मक रुपले अगाडि बढ्नुपर्छ भन्ने कुरा छ’, उहाँले भन्नुभयो, ‘हामीले बनाएको मापदण्डको वरीपरी रहेर छलफल गरेका छौं।’ बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी लगायत सत्ता साझेदार दलका शीर्ष नेताको उपस्थिति रहेको थियो।
पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले आधा घण्टादेखि बैठक चलिरहेको जानकारी दिनुभयो।
काठमाडौं, वैशाख ५ गते। विवादास्पद फैसला गरेको विषयमा तीन जिल्ला न्यायाधीशलाई काजमा सर्वोच्च अदालतमा झिकाइएको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जिल्ला न्यायाधीश नवीनकुमार जोशीलाई सोमबार सर्वोच्च अदालत काजमा झिकाउनुभएको हो।उहाँले बलात्कारको मुद्दामा पीडित भनिएको पक्षलाई तीन वर्ष कैद हुने फैसला सुनाउनुभएको थियो। मुलुकी फौजदारी कार्यविधिलाई संशोधन गर्न आएको केही नेपाल ऐन अध्यादेशको व्यवस्थाका आधारमा गत चैत १३ गते उहाँले सजायको फैसला सुनाउनुभएको हो। उक्त कानून कार्यान्वयनमा छैन।यसअघि जिल्ला अदालत काठमाडौँका दुई न्यायाधीश अम्बिकाप्रसाद निरौला र सूर्यकुमार अधिकारीलाई सर्वोच्च अदालतमा काजमा तानिएको थियो।रासस
काठमाडौँ, वैशाख ५ गते। काठमाडौँको फुटुङ्ग क्षेत्रको इतिहास, संस्कृति र पछिल्ला चार दशकको विकासका विभिन्न पक्षलाई समेटेर तयार पारिएको पुस्तक ‘फुटुङ्ग’ सार्वजनिक भएको छ। झण्डै दुई दशकदेखि सामाजिक विकास र सञ्चार क्षेत्रमा क्रियाशील श्रीराम फुटुङ्गेले लेख्नुभएको फुटुङ्गः इतिहास, संस्कृति र विकास नामक पुस्तक फुटुङ्गमै आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो। पुस्तक विमोचन गर्दै इतिहासकार एवं लेखक प्रा डा राजेश गौतमले फुटुङ्गको इतिहास र परिवर्तनका विभिन्न पक्षलाई सरल भाषामा चित्रण गरिएको बताउनुभयो। पुस्तक साँस्कृतिक लघु विश्वकोष झै लागेको गौतमको भनाइ थियो। कार्यक्रममा अर्थशास्त्री प्रा. डा. केशवराज खड्काले पुस्तकले स्थानीय संस्कृति र विकासको पाटो सरल तवरमा प्रस्तुत गरेको बताउनुभयो। विकास र संस्कृतिलाई परिपूरकको रुपमा लिएर अघि बढ्न प्रेरित गर्ने उल्लेख गर्नुभयो। उहाँले पुस्तक स्थानीय विशिष्ट गन्थ्रको रुपमा आएको र अन्य समुदायलाई पनि यस प्रकारको पुस्तक प्रकाशन गर्न उत्साहित गर्ने बताउनुभयो। कार्यक्रममा साहित्यकार लब गाउँले र डा. घनश्याम पुडासैनी, उद्यमी हरिकृष्ण रावल, संस्कृतिकर्मी भक्तीनारायण महर्जन, तारकेश्वर नगरपालिकाका प्रशासनिक प्रमुख शिव लम्साल लगायतले पुस्तकबारे चर्चा गर्नुभएको थियो। पुस्तकमा फुटुङ्गको इतिहास, संस्कृति र विकासका विविध पक्ष तथा बदलिएको जीवन र आगामी दिन गर्नुपर्ने बिषय समेटिएको लेखक फुटुङ्गको भनाइ छ। उहाँका अनुसार, फुटुङ्गको पहिचानलाई चिनाउने र फुटुङ्गको बारेमा लिखित सामग्रीको अभावलाई पूर्ति गर्ने प्रयास स्वरुप पुस्तक तयार भएको हो। पुस्तकमा फुटुङ्ग गाउँको इतिहास, धार्मिक र साँस्कृतिक पक्ष तथा २०४० को दशकमा गाउँको सामाजिक परिवेश चित्रण गरिएको छ। त्यस्तै, जीविकोपार्जन र फुटुङ्गको आधुनिक विकास, त्यसमा स्थानीय तह र विभिन्न संघसंस्थाको योगदानलाई समेत पुस्तकमा व्याख्या गरिएको छ।
काठमाडौं, वैशाख ५ गते। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष सिचिन छिनले शिष्टाचार भेट गर्नुभएको छ। मन्त्रालयमा सोमबार भएको भेटमा उहाँहरूबीच एडीबीको लगानी रहेका ऊर्जा तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित विभिन्न आयोजनाको कार्यान्वयनको अवस्थाबारे विचारविमर्श भएको थियो। सो अवसरमा मन्त्री भुसालले नेपालको विकासमा एडीबीले पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा ऊर्जा उत्पादन र वितरणमा महत्वपूर्ण सहयोग हुने विश्वास व्यक्त गर्नुभयो। ऊर्जा एवं सिँचाइ क्षेत्रको विकासबाट नेपाललाई समृद्ध बनाउन सकिने भएकाले त्यसमा अन्तरराष्ट्रिय निकायसँग सहयोगको अपेक्षा रहेको उहाँको भनाइ थियो।पछिल्लो समय नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा महत्वपूर्ण सहकार्य सुरु भई विद्युत् व्यापार सुरु भएको उल्लेख गर्दै मन्त्री भुसालले नेपालका ठूला आयोजना सम्पन्न गरेर अझै क्षेत्रीयस्तरमा व्यापार गर्न सकिने नीतिगत बाटो खुलेको सुनाउनुभयो। उहाँले भन्नुभयो, ‘बङ्गलादेश, भुटान, भारत र नेपालमाझ ऊर्जा व्यापार गर्ने नीतिगत समझदारी जुटेको छ। केही वर्षभित्र नै हामीले ती देशमा विद्युत् निर्यात गर्ने अवस्था आउँछ।’ आगामी दिनमा देशभर बाह्रै महिना गुणस्तरीय विद्युत् उपलब्ध गराउने गरी ऊर्जा मन्त्रालयले तयारी गरिरहेको जानकारी गराउँदै मन्त्री भुसालले जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी गर्न एडीबीलाई आग्रह गर्नुभयो। उहाँले पूर्व–पश्चिम प्रशारण लाइन निर्माणमा पनि एडीबीको सहयोग विस्तार हुने विश्वास व्यक्त गर्नुभयो।त्यस अवसरमा एडीबीका उपाध्यक्ष छिनले नेपालले ऊर्जा क्षेत्रमा महत्वपूर्ण काम गरेको र अन्तरदेशीय विद्युत् व्यापार नेपालका लागि महत्वपूर्ण भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, ‘भारतसँग ३६५ मेगावाट विद्युत् व्यापार गर्ने सहमति नेपालका लागि महत्वपूर्ण खुड्कीला हो, यसले आगामी दिनमा फड्को मार्ने मैले विश्वास गरेको छु।’ जलविद्युत् र जलस्रोतका क्षेत्रमा एसियाली विकास बैंकले निरन्तर सहयोग गर्ने विश्वास दिलाउँदै अध्यक्ष छिनले एडिबीको लगानी रहेका महत्वपूर्ण १० आयोजनाको कार्यान्वयन अवस्थालाई आफूहरूले नियालिरहेको बताउनुभयो। उहाँले विद्युतको आन्तरिक खपतमा जोड दिन सुझाव दिँदै कोइलाबाट सञ्चालित उद्योगलाई विद्युत्ले प्रतिस्थापन गर्नुपर्नेमा जोड दिनुभयो। भेटमा मन्त्रालयका तर्फबाट सचिव देवेन्द्र कार्की, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, नेपाल विद्युत् प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एडीबीका तर्फबाट नेपालका लागि देशीय निर्देशक आरनौड काउसिसलगायत उच्च अधिकारीको सहभागिता थियो। रासस
राजन रावतहुुम्ला, वैशाख ५ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हिमालपारीको गाउँ लिमीका तीन जना बालबालिकालाई पढाइदिनुु हुनेभएको छ । लिमी पुुग्ने क्रममा त्यहाँका स्थानीयको पीरमर्का विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्न नपाएको गुनासो सुुनेपछि उहाँले तीन बालबालिकालाई आफूले पढाइदिने घोषणा गर्नुभएको हो । लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले आइतबार बिहान लिमी पुुग्ने क्रममा स्थानीयसँग अध्यक्ष ओलीले लिमीका तीनवटै विद्यालयका जेहेन्दार तीन जना विद्यार्थीलाई काठमाडौंमा लगेर आफूले निशुुल्क पढाई दिने प्रतिबद्धता जनाएको बताउनुुभयो । सो क्रममा अध्यक्ष ओलीले अध्ययन गर्न नपाएका, न्यून आयस्रोत भएका बिधार्थीलाई आफ्नै लगानीमा अध्ययन गराई दिने बताउनुुभएको हो । द्यावडा अध्यक्ष तामाङले नाम्खा गाउँपालिका –६ को हिमाली पारीको गाउँ निक्कै दुुर्गम र हालसम्म निकै बिधार्थीले अध्ययन गरेको जानकारी पाएको कारण पनि उहाँले ती विद्यार्थीलाई कक्षा १२ सम्म अध्ययन गराइदिने निर्णयमा पुुगेको बताउनुुभयो । तीनै जना विद्यार्थीले २०७९ सालको नयाँ शैक्षिकसत्रबाट अध्ययन गर्न पाउनेछन् । बिधार्थी छनौट गरेर पठाई दिन अध्यक्ष ओलीले लिमीका वडा अध्यक्षमार्फत आग्रह गर्नुभएको छ ।
काठमाडौँ, वैशाख ५ गते । यही अप्रिल २१ देखि २४ तारिखसम्म दक्षिण कोरियाको गोयाङ सहरमा आयोजना हुने विश्व तेक्वान्दो पुम्से च्याम्पियनसिपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।च्याम्पियनसिपमा पुरुष ५० वर्षमुनिको समूहमा रोशन खान, ४० वर्षमुनि समूहमा कमल श्रेष्ठ, ३० वर्षमुनिको समूहमा प्रेमबहादुर लिम्बू र पार्वती गुरुङ तथा जुनियरको १७ वर्षमुनिको समूहमा अब्बास अन्सारीले प्रतिस्पर्धा गर्नुहुनेछ । च्याम्पियनसिपमा सहभागी हुन लागेका कमल र पार्वती १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुनुहुन्छ । टोलीलाई सोमबार नेपाल तेक्वान्दो संघले बिदाइ गरेको छ । च्याम्पियनसिपमा स्वर्ण जितेमा एक लाख ५० हजार, रजत पदक जितेमा एक लाख र कांस्य पदक जितेमा ५० हजार नगद पुरस्कार प्रदान गरिने पनि संघले जनाएको छ ।
काठमाडौँ, वैशाख ५ गते । सर्वोच्च नेता गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता मंगलबारदेखि काठमाडौँमका सुरु हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहनेछ ।काठमाडौँको बसन्तपुर डबलीमा शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जानकारी दिनुभयो । ‘प्रतियोगितामा सहभागिता जनाउन सातै प्रदेशका खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापक काठमाडौँ आइसकेका छन् । हामी सबै खेलाडी, प्रशिक्षक र अफिसियलको ब्यवस्थापनमा जुटेका छौँ,’ श्रेष्ठले भन्नुभयो । प्रतियोगितामा पुरुषतर्फ ४८, ५७, ६३, ६९, ७५, ८१, ९१ केजी गरी सात वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ४८, ५४-५७, ६०, ६४-६९, ६९-७५ केजी गरी पाँच वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।प्रतियोगितामा प्रदेश १ बाट सात पुरुष र चार महिला, मधेश प्रदेशबाट सात पुरुष र पाँच महिला, बागमती प्रदेशबाट सात पुरुष र तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी गण्डकी प्रदेशबाट सात पुरुष र तीन महिला, लुम्बिनी प्रदेशबाट ६ पुरुष र चार महिला, कर्णाली प्रदेशबाट ६ पुरुष र चार महिला, विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट सात पुरुष र पाँच महिला, एपीएफबाट सात पुरुष र पाँच महिला र नेपाल पुलिस क्लबाट चार पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा ६५ पुरुष र ३७ महिला गरी १०२ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।प्रतियोगिताका हरेक तौल समूहका विजेताले २५ हजार रुपियाँ पुरस्कार पाउनेछन् । यसैगरी दोस्रो हुनेले १५ हजार र तेस्रो स्थान हात पार्ने दुई खेलाडीले जनही सात हजार पाँच सय रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र उत्कृष्ट महिला खेलाडीलाई स्कुटर प्रदान गरिने पनि प्रतियोगिता संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले ४६ जिल्लाका लागि आवश्यक पर्ने मतपत्रको छपाइ सकेको छ । सोमबार नियमित पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ४६ जिल्लाका लागि आवश्यक मतपत्र छपाइ सकिएको जानकारी दिनुभयो ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–३ मा स्थानीय बाबुराम गुरागाईं र भगीरथ गुरागाईंको घर मतान थलेर नष्ट भएको छ । सोमबार दिउँसो भएको आगलागीबाट गुरागाईं परिवारको घर र मतान थलेर नष्ट भएको हो ।
पछिल्लो २४ घण्टामा नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३६ सय जनाको पीसीआर परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको हो ।