गोल्डेनगेट इन्टरनेसनल कलेज र जेभियर इन्टरनेसनल कलेज पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।
सूर्य नेपाल गल्फ टुर अन्तर्गत नेपाल एनपीजीए टुर च्याम्पियनसिप सोमबारदेखि पार ७२ को गोकर्ण गल्फ क्लबमा सुरु हुने भएको छ ।
पाँच दलीय गठबन्धनका शीर्ष नेताले लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धनको जित आवश्यक भएको बताएका छन् ।
गोरखापत्र अनलाइनकाठमाडौं वैशाख २५ गते । निर्वाचन आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले वैशाख ३० गतेको आसन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ सफल बनाउन सरकारी सञ्चार माध्यमको प्रभावकारी भूमिका निर्वाहका लागि निर्देशन गर्नुभएको छ । सरकारी सञ्चार माध्यमका प्रमुख तथा सम्पादकहरुसँग आइतबार आयोगमा छलफल गर्नुहुँदै उहाँले सो निर्देशन गर्नुभएको हो । मतदानको दिन आउन अव केही दिन मात्र बाँकी रहेका बेला मतदातामा सही तथा सत्यतथ्य सूचना प्रवाह गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । मतदातालाई उत्साहित गर्ने र मत बदर हुन नदिनेगरी सञ्चारमाध्यममा सूचना प्रवाह गर्न उहाँले आग्रह गर्नुभयो । निर्वाचनका विषयमा केही समस्या र परिमार्जन गर्नुपर्ने विषय भए आयोगलाई तत्काल जानकारी गराउन पनि उहाँले आग्रह गर्नुभयो । त्यस्तै, आयोगका उपसचिव तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचनलाई सफल बनाउन सरकारी सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहने बताउनुहुँदै बाँकी यस अवधिमा बढीभन्दा बढी निर्वाचनसँग सम्बन्धित समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । मतदाताका लागि सही र सत्यतथ्य समाचार प्रवाह भएमात्र मतदाताहरु लाभान्वित हुने उहाँले चर्चा गर्नुभयो ।छलफल कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले सञ्चार माध्यममा प्रकाशन तथा प्रशारण हुने विज्ञापन मार्फत आचारसंहिता उल्लङ्घन भए नभएकोबारे बोर्डले अध्ययन गरिरहेको बताउनुभयो । निर्वाचन सफल बनाउन निजी मिडियाको पनि ठूलो भूमिका रहने हुनाले थोरै भएपनि विज्ञापन उपलब्ध गराउन सके निजी मिडियालाई पनि राहत हुने उहाँले सुझाव दिनुभयो ।छलफल कार्यक्रममा नेपाल टेलिभिजन, गोरखापत्र, राष्ट्रिय समाचार समिति (रासस) तथा निर्वाचन आयोगका प्रतिनिधिहरुको सहभागिता थियो ।
काठमाडौं, वैशाख २५ गते । फिल्म 'ए मेरो हजुर ४'ले आज प्रदर्शनको २५औँ दिन पूरा गरेको छ । यस अवसरमा निर्देशक झरना थापाले दर्शक तथा शुभचिन्तकसामु खुसी प्रकट गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा २५औँ दिनपछि पनि निरन्तर फिल्म प्रदर्शनमा रहिरहेकोमा आभार प्रकट गर्नुभएको हो ।'आजको दिनमा पनि हाम्रो चलचित्र उपत्यकाभित्र र उपत्यकाबाहिरका मल्टिप्लेक्स अनि सिङ्गल स्क्रिन थिएटरहरूमा पुनःप्रदर्शनमा आइरहेको खबर तपाईंहरूसँग साट्न पाउँदा हामीलाई अपार आनन्द अनुभूति भइरहेको छ,’ उहाँले लेख्नुभएको छ, 'यति धेरै साथ, माया अनि हौसलाका लागि सबैमा मनैदेखि नमन गर्दछौँ ।'निर्माता निर्देशक दक्षिण भारतीय फिल्मका कारण चिन्तित भए पनि 'ए मेरो हजुर ४' ले सुरुवाती हप्ताकै सन्तोषजनक व्यापार गरेको थियो । फिल्ममा अनमोल केसी र अभिनेत्री सुहाना थापा केन्द्रीय भूमिकामा हुनुहुन्छ।
पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन बजार तनावग्रस्त बनेको छ।
माला कर्णकल्याणपुर, वैशाख २५ गते । सप्तरीको बोदे बरसाइन नगरपालिका ७ मा आइतबार ट्याक्टर पल्टिदाँ एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीयवासी १९ वर्षीय शिवकुमार पौदार रहेको प्रहरीले जनाएको छ।सोही ठाउँको (केराबारी) मा माटो लिएर फर्किँदै गरेको अवस्थामा प्रदेश २-०१-००१ त २००१ नम्बरको ट्याक्टर पल्टिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएका छन्।
भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल ल्याइदै गर्दा सशस्त्र प्रहरीले इलामको गोर्खेबाट विभिन्न ब्राण्डका मदिरा बरामद गरेको छ।
ताप्लेजुङमा निर्वाचन गराउन मतदान केन्द्रमा खट्ने कर्मचारीलाई दुई चरणमा अभिमुखीकरण गराइएको छ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले स्थानीय तह निर्वाचनमा कर्मचारी खटिनुपर्ने हुँदा आशिंक सेवा बन्द गरेको छ।
राजन रावतहुुम्ला, वैशाख २५ गते । जिल्ला अस्पताल हुम्लामा सेभियर प्रिक्लाम्पसिया भएकी एक गर्भवतीको जटिल शल्यक्रिया गरिएको छ । प्रेसर बढेका कारण जुम्ल्याहा शिशु गर्भमै उल्टो बसेपछि स्वास्थ्य अवस्था गम्भीर भएकी २६ वर्षीया सङ्गीता शाहीको सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।कर्णाली प्रतिष्ठानका विशेषज्ञ चिकित्सक क्रिशान्त भण्डारीले उक्त जटिल शल्यक्रिया गर्नुभएको हो । शल्यक्रियापछि उहाँले आमा र शिशु दुवै स्वस्थ रहेको जानकारी दिनुुभयो । उहाँले शाहीको प्रेसर बढेको र गर्भमा रहेका दुई शिशुमध्ये एउटा उल्टो र अर्को सुल्टो अवस्थामा रहेको बताउनुुभयो । उहाँले चिकित्सकहरुले डेढ घण्टा लगाएर शल्यक्रिया गर्नुपरेको बताउनुुभयो । शल्यक्रिया सफल भएपछि आमा र शिशुु तिनै जनाको ज्यान सुुरक्षित भएको छ । उक्त शल्यक्रिया गर्ने कार्यमा चिकित्सकहरु रोशन खनाल, कैलाश लामा, देव गजमेर, सुनिल सिहं पुजारा, एनेस्थेसियामा फिरदोश महर्जन र नर्स निमा लामा सम्लग्न हुनुुहुुन्थ्यो । गर्भवती शाहीलाई आईसीयुमै राख्नुपर्ने जटिल केस भएको चिकित्सकले जानकारी दिनुभयो । यस्तो प्रकृतिको बिरामीको पहिलो पटक जिल्ला अस्पतालमा शल्यक्रिया गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गएको विशेषज्ञ चिकित्सकहरुको टोलीले यसअघि पनि हुम्ला अस्पतालमा अन्य किसिमका जटिल शल्यक्रिया गर्दै आएको छ । प्रतिष्ठानले तीन महिनाअघि हुम्ला जिल्ला अस्पतालमा विशेषज्ञ टोली पठाएको थियो ।
काठमाडौं, वैशाख २५ गते । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचनको दिन कोरोना भाइरसविरुद्धको नियमित खोप अभियान संचालन नगर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गर्दै स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मतअधिकार प्रयोग गर्नुपर्ने भएकाले निवार्चनको दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान संचालन नहुने जानकारी दिएको हो । निर्वाचन अघि र पछिका दिनहरुमा खोप केन्द्रहरुमा नियमित खोप अभियान संचालन हुने भएकाले सबैलाई सकेसम्म चाँडो खोप लगाउन मन्त्रालयले विज्ञप्तिमार्फत् जारी गरी आग्रह गरेको छ। छिमेकी मुलुकहरुमा पछिल्लो दिनहरुमा संक्रमण बढ्दै जाँदा नेपालमा पनि संक्रमण बढ्ने जोखिम भएकाले भिडभाडमा जाँदा सतर्क रहँदै जनस्वास्थ्यका मापदण्ड पालन गर्न मन्त्रालयले आग्रह गरेको छ।
सिन्धुली कमलामाई नगरपालिका–९ भीमानस्थित सार्वजनिक शौचालय नजिकबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
बागलुङ, वैशाख २५ गते । बागलुङको ताराखोला गाउँपालिका माओवादी युद्धको आधारभूमि हो । बागलुङ जिल्लाको माओवादी आन्दोलनमा सशक्त उपस्थिति जनाएको ताराखोला गाउँपालिकालाई माओवादी केन्द्रले आफ्नो आधार इलाका मान्दै आएको छ । द्वन्द्वकालीन अवस्थामा ताराखोला क्षेत्रमा २१ जनाले ज्यान गुमाए । दुई जना बेपत्ता छन । कुटाई पिटाई र यातना नभोगेको परिवारका सदस्य भेटिन कठिन छ । द्वन्द्वकालीन अवस्थामा होस् या शान्ति प्रक्रियापछिको राजनीतिक गतिविधिमा ताराखोलाको माओवादी केन्द्रको शक्ति केन्द्रको रुपमा विकास भएको छ । पहिलो स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार भारी मतले विजयी हुनुभएको थियो । ताराखोला गाउँपालिकाको उपस्थिति शान्ति प्रक्रियापछिको ‘ब्यालेट’ आन्दोलन मात्र होइन तत्कालीन ‘बुलेट’ आन्दोलनमा पनि त्यस क्षेत्रका ऊर्जाशिल युवा परिवर्तनको आन्दोलनमा सहभागी भएका थिए । राज्य व्यवस्था र सामाजिक रुपान्तरणको आन्दोलनमा होमिएका कति व्यक्ति सहिद बने कति घाइते अपाङ्ग भएर जीवन बाँच्न बाध्य छन् । माओवादी आन्दोलनमा जीवन समर्पित गर्ने धेरै योद्धामध्ये एउटा नाम हो धनबहादुर विक ‘हिमाल’ । युद्धकालीन अवस्थामा लडाकु मोर्चा हुँदै राजनीतिक मोर्चाको जिम्मेवारी लिनुभएको धनबहादुर विकलाई एकीकृत माओवादी केन्द्रले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ताराखोला गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएको छ ।निर्वाचनको मिति नजिकिँदै गर्दा विक भेटघाटमा व्यस्त हुनुहुन्छ । शरीरमा गोली बोकेर जनताको घरघरमा पुग्ने मत माग्दै हुनुहुन्छ । वि।स २०६० वैशाख ७ गते म्याग्दीको बेनी आक्रमणको क्रममा विक घाईते हुनुभएको थियो । त्यस बेला बायाँ हातमा लागेको गोली उहाँको शरीरमै छ । तत्कालिन अवस्थामा स्वास्थ्य उपचारको अभावले शरीरमै गोली लिएर बाँच्नु परेको विकको भनाइ छ । शान्ति प्रक्रियापछि उपचार गर्दा डाक्टरले अप्रेशन गरेर गोली निकाल्दा शरीरमा थप क्षति हुने बताए पछि गोली बोकेर हिँड्न बाध्य हुनुपरेको हो । गोली निकाल्दा रक्तसञ्चार अवरुद्ध हुन सक्ने डाक्टरले सुझाएको विकले बताउनुभयो । ‘धेरै चिसो र धेरै गर्मीको बेला खपि नसक्ने दुःख’ विकले भन्नुभयो– ‘परिवर्तन लागि समर्पित हुँदा जीवनभरको लागि दुखाई भोग्न परेको छ ।’ बेनी आक्रमणको विहानपख नेपाली सेनाले हेलिकप्टरबाट प्रहार गरेको गोली लागेको थियो । आक्रमणको मोर्चामा विकले राजनीतिक तथा घाईते उद्धारको जिम्मेवारी पाउनुभएको थियो । घाइते साथीलाई उद्धार गर्दा गोली लागेको विकले बताउनुभयो । हेलीमार्फत प्रहार भएको गोली लागेर विकसँगै रहेका दश जना माओवादी कार्यकर्ताको घटनास्थलमै निधन भएको थियो । वि।स २०५५ सालमा म्याग्दी हुँदै बागलुङको पश्चिम क्षेत्रमा जाँदै गर्दा आफैले बोकेको बन्दुक पड्किँदा विकको दायाँ खुट्टामा गोलीको छर्रा लागेको थियो । जसको कारण अहिले पनि सामान्य अवस्थामा हिँड्डुल गर्न कठिन छ । उकालो ओरोलो गर्दा खैचकखैचक गर्नुपर्ने बाध्यता छ । आन्दोलनमा सहभागी हुँदा विकले व्यक्तिगत मात्र होईन पारिवारक क्षति पनि भोग्नु पर्यो । माओवादी आन्दोलनमा सहभागी विकको दाइकी छोरी लक्षिम विक ‘हिक्मता’ले दोहोरो भिड्न्तमा ज्यान गुमाउनुभयो । आन्दोलनमा सहभागी भएकै कारण तत्कालिन राज्य पक्षले विकको घरमा ‘बम प्लास्ट’ घर ध्वस्त बनाउनुका साथै परिवारका सदस्यलाई शारीरिक तथा मानसिक यातना भोग्नुपरेको थियो । जनमिलिसिया, राजनीतिक मोर्चा, निर्माण विभाग, दलित मोर्चा हुँदै राजनीतिक नेतृत्व गर्नुभएको विक हाल माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । ताराखोला गाउँपालिकाको स्रोत साधनको उच्चतम प्रयोग गरी गाउँमै रोजगार सिर्जना गर्ने, कृषि उत्पादनलाई व्यवसायिक बनाउने, जलविद्युत, शिक्षा, स्वास्थ्य तथा सडक क्षेत्रको व्यापाक सुधार गर्ने उहाँले योजना सार्वजनिक गर्नुभएको छ । जनप्रतिनिधिले पाउने आर्थिक सुविधा नलिने घोषण गर्नुभएको छ । विकको प्रतिस्पर्धामा माओवादी केन्द्रका नेता प्रकाश घर्ती हुनुहुन्छ । घर्तीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । पहिलो निर्वाचनमा घर्ती माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित हुनुहुन्थ्यो । तत्कालीन अवस्थामा विक नै घर्तीको चुनावी ‘कमाण्ड’ सम्हाल्नुभएको थियो । पहिलो शक्ति माओवादी केन्द्र र दोस्रो शक्ति नेपाली काँग्रेस चुनावी एकतामा रहेको हुँदा निर्वाचन सहज आँकलन गरिएको थियो । आफ्नै पार्टी नेतृत्व सदस्य बागी उम्मेदवार उठेपछि निर्वाचन चुनौतीपूर्ण हुने आँकलन गरिएको छ । घर्तीले पार्टी विधान विपरित उम्मेदवारी दिएको हुँदा प्रदेश कमिटीले कारर्वाहीको लागि केन्द्रमा सिफारिस गरेको छ । माओवादीको आधिकारिक उम्मेदवारसँग राजनीतिक सुझबुझ, दरिलो जनसंगठन, र विकास र समृद्धिको स्पष्ट योजना भएको हुँदा आधिकारिक उम्मेदवारले निर्वाचन जित्ने माओवादी गाउँ कमिटी अध्यक्ष पदम खत्रीको दावी छ ।