• १५ वैशाख २०८१, शनिबार

सडक स्तरोन्नति सम्पन्न

blog

काठमाडौँ, असार २४ गते । लामो समयदेखि अलपत्र परेको मितेरी मार्गको चन्द्रागिरि नगरपालिका–१२, गैरीगाउँदेखि चुनदेवी मन्दिरसम्म जाने सडकको स्तरोन्नति एवं सुधार कार्य सम्पन्न भएको छ । 

उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौँको सहयोगमा उक्त बाटो स्तरोन्नति गरिएको हो । पर्खाल र ढल निर्माण भएपछि त्यस क्षेत्रका स्थानीय बासिन्दालाई सम्भावित बाढीपहिरोको जोखिमबाट सुरक्षित बनाएको छ । दुई वर्षको निरन्तर प्रयासपछि जिल्ला आयुक्त कार्यालयका प्रमुख जगदीश लामिछानेको पहलमा सो बाटोको स्तरोन्नति एवं व्यवस्थित ढल निकासको कार्य भएको हो ।

मितेरी मार्गको निर्माण सडक डिभिजन कार्यालयले गर्दैआएको थियो तर गैरीगाउँ–चुनदेवी मन्दिर खण्ड निर्माणका क्रममा सडक डिभिजन कार्यालयले व्यवस्थित ढल निकासको कार्य नगर्दा त्यस क्षेत्रका बासिन्दा केही वर्षदेखि सास्ती खेप्दैआएका थिए । ढल व्यवस्थित नहुँदा माथि डाँडाबाट आएको भेलले बस्ती नै जोखिममा परेको स्थानीय बासिन्दा विश्वनाथ तिमल्सेनाले बतउनुभयो । अर्का स्थानीय बासिन्दा बाबुराम न्यौपानेले अहिले बाटो निर्माण भएपछि ५० घरपरिवार रहेको बस्ती जोगिएको बताउनुभयो । 

काठमाडौँ जिल्ला आयुक्तको कार्यालयका इन्जिनियर रोशनकुमार चौधरीले स्थानीय उपभोक्ताको जनसहभागितामा आधारित रहेर करिब ८३ लाख रुपियाँको लागतमा ढलसहितको मेसिनरी वाल निर्माण भएको जानकारी दिनुभयो । इन्जिनियरद्वय अमृत तिमिल्सिना र सूर्य परियारले मितेरी मार्गको उक्त सडकखण्डको स्तरोन्नति एवं व्यवस्थित ढल निकासको कार्यले सिङ्गो बस्ती नै सम्भावित बाढीपहिरोको खतराबाट मुक्त भएको बताउनुभयो । 

चन्द्रागिरि नगरपालिका–१२ का सदस्य अञ्जित सापकोटाले बाढीको भेल पसेर सास्ती खेप्दैआएका स्थानीय बासिन्दालाई मितेरी मार्गमा भएको उक्त कार्यले सुरक्षित बनाएको बताउनुभयो ।