• १५ वैशाख २०८१, शनिबार

अभिषेक र अभिलाषा सिंगल्स च्याम्पियन

blog

खुला टेनिसको सिंगल्स च्याम्पियन अभिलाषा विष्ट (बायाँ) र अभिषेक बास्तोला ।

काठमाडौं, असार २ गते । अभिषेक बास्तोला र अभिलाषा विष्टले प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको मुख्य स्पर्धा सिंगल्स उपाधि जित्नुभएको छ ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा आइतबार भएको फाइनलमा अभिषेक पुरुष तथा अभिलाषा महिलामा च्याम्पियन बन्नुभएको हो । राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा संघर्षपूर्ण जित हात पार्ने क्रममा अभिषेकले प्रदीप खड्कालाई १–६, ६–१, ७–६ को सेटमा पराजित गर्नुभयो । प्रणव खनाल र आर्यन गिरी तेस्रो हुनुभयो । 

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको महिलाको उपाधि भिडन्तमा अभिलाषाले सुनिरा थापालाई ६–३, ६–२ को सोझो सेटमा हराउनुभयो । प्रकृति श्रेष्ठ र आइशा डोल्कर गुरुङ तेस्रो हुनुभयो । पुरुष/महिला सिंगल्सका विजेताले एक लाख, उपविजेताले ५० हजार र तेस्रो १२ हजार ५ सय रुपियाँ पुरस्कार पाउनुभयो । 

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा सन्तोष खत्री पहिलो हुनुभयो । फाइनलमा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियारलाई सीधा सेटमा ७–५, ६–४ ले पाखा लगाउनुभयो । सन्तोषले ६० हजार तथा जितेन्द्रले ३० हजार रुपियाँ पुरस्कार पाउनुभयो । तेस्रो भएका कमलबहादुर अधिकारी र दावा सोनाम शेर्पाले १०/१० हजार रुपियाँ पुरस्कार हात पार्नुभयो ।

विजेतालाई पूर्व उप प्रधानमन्त्री कमल थापा, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मुल, आयोजक एकेडेमीका अध्यक्ष रविन प्रधान र प्रमुख कार्यकारी अधिकृत सिमान्त गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।

प्रतियोगितामा खुला, भेट्रान र जुनियर गरी २४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । प्रत्येक स्पर्धाका पदक विजेतालाई पुरस्कार प्रदान गरिएको थियो । कूल १४ लाख ८५ हजार रुपियाँ पुरस्कार राशी रहेको प्रतियोगितामा दुइ सय ६२ खेलाडीको सहभागिता रहेको थियो ।