• १४ वैशाख २०८१, शुक्रबार

विद्यार्थीहरुकाे सहयाेगमा खानेपानी

blog

विद्यालयको धारामा खानेपानी खसोलेपछि बागेश्वरी आविका विद्यार्थीहरु ।

राजन रावत

हुम्ला, जेठ १८ गते । खार्पुनाथ गाउँपालिका –५ स्थित ताक्ला गाउँको बागेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले मिलेर पाइपलाइन मर्मत गरी खानेपानी विस्तार गरेका छन् । विद्यालयको धारामा चार महिनादेखि पिउने पानी नआउँदा बाध्य भएर विद्यार्थीहरू आफैँ मिली पानी ल्याउन सफल भएका हुन् ।

गाउँ र विद्यालयको एउटै खानेपानी लाइन भएकोले गाउँका स्थानीयले पटक पटक पाइपलाइन काट्ने गरेपछि विद्यार्थीहरूलाई पानीको समस्या भएको हो । करिब तीन सय मिटर पाइपलाइन विद्यार्थीहरूले मर्मत गर्नु परेको थियो ।

विद्यालयका प्रधानाध्यापक गणेश शाहीले विद्यार्थी र शिक्षकको प्रयासबाट विद्यालयको धारामा पानी खसाल्न सफल भएको बताउँदै विद्यार्थीहरूलाई धन्यवाद दिनुभयो । उहाँले कतैबाट समाधानको उपाय नआएपछि विद्यार्थीहरू मिलेर पाइपलाई मर्मत गर्ने निधोमा पुगेको र त्यसका लागि शिक्षकहरूले समेत सहयोग गरेको बताउनुभयो । 

खानेपानीको अभावले विद्यालयका विद्यार्थी र शिक्षकलाई शौचालयको लागि समेत समस्या हुने गरेको थियो । विद्यालयको धारामा पानी आउन छाडेपछि विद्यालयमा पढ्न छोडेर आधा घण्टा समय लगाएर खोलाको धमिलो पानी ल्याउन जानुपर्ने बाध्यता थियो । त्यसबेला पढाइ छुट्ने गरेको विद्यार्थीहरूले गुनासो गरेका छन् । अहिले धारामा पानी खसेपछि यी सबै समस्या समाधान भएका छन् । उक्त खोलाको धमिलो पानी पिउनुपर्ने भएको कारण स्वास्थ्यमा समेत समस्या हुने गरेको विद्यार्थीहरूको गुनासो छ । गत फागुन पहिलो सातादेखि खानेपानीको अभाव भएपछि विद्यार्थीहरूले शुद्ध खानेपानी खान पाएका थिएनन् । छात्रा अस्मिता सुनारले पानी नआएको चार महिना भई सक्दासम्म त्यसतर्फ कसैको ध्यान नगएको दुःख व्यक्त गर्नुभयो । बालविकासदेखि कक्षा छ सम्म अध्ययन हुने उक्त विद्यालयमा  १०६ जना विद्यार्थी अध्ययनरत छन् ।