• १४ वैशाख २०८१, शुक्रबार

छतबाट खसेर रास्वपा सभापति लामिछानेका चालक गम्भीर घाइते

blog

सांकेतिक तस्बिर ।

वसन्त पराजुली / शान्ता अधिकारी 

चितवन, बैशाख ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा घरको छतबाट खसेर गम्भीर घाइते हुनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार भरतपुर ११ मा रहेको लामिछानेको आवासको छतमा सुतेका चालक सोमबार बिहान अन्दाजी ४ बजेको समयमा घरको तीन तलामाथिको छतबाट खस्नुभएको हो । 

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका – ३ घर भएका ३९ वर्षका चालक थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उहाँको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ । उहाँको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरी प्रवक्ताका अनुसार घटनास्थलमा चितवन प्रहरी प्रमुख रामेश्वर कार्कीको नेतृत्वमा पुगेको टोलीले अनुसन्धान गरिरहेको छ ।

सभापति लामिछाने चितवन –२ मा वैशाख १० गतेको उपनिर्वाचनमा उम्मेदवार हुनुहुन्छ । उहाँ यसअघि पनि यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । अवैध नागरिकताका कारण उहाँको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएका कारण उपनिर्वाचन हुन लागेको हो ।