• १५ वैशाख २०८१, शनिबार

बाँकेको दुर्गम गाउँमा पाठेघरको मुख र स्तन क्यान्सरको निःशुल्क परीक्षण

blog

निःशुल्क स्वास्थ्य शिविरमा पुग्नुभएका बैजापुरका महिला ।

सिराज खान 

नेपालगञ्ज, बैशाख ३ गते । बाँके जिल्लाको अति नै दुर्गम मानिने राप्तीसोनारी गाउँपालिकामा महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर रोगको निःशुल्क परीक्षण तथा औषधि वितरण गरिएको छ । 

गाउँमै निःशुल्क सेवा पाएपछि पाठेघर र सो सम्बन्धी समस्या भएका दुई सय भन्दा बढी महिलाले निःशुल्क परीक्षण गराएर विभिन्न औषधि समेत लिएका छन् । 

नेकपा एमालेको ग्रासरुट कार्यक्रममा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको प्राविधिक सहयोगमा निःशुल्क परीक्षण तथा औषधि वितरण गरिएको एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताउनुभयो । 

उहाँका अनुसार दुई सय बढी महिलाले पाठेघर र स्तन क्यान्सर सम्बन्धी परीक्षण गराएर लाभ लिएको बताउनुभयो । 

उक्त स्वास्थ्य शिविरमा डा. इन्द्रनिल घोस, डा. साजन थापा, डा. कृटिना श्रेष्ठ, स्वास्थ्यकर्मी महासङ्घ बाँकेका अध्यक्ष राजन शाहीलगायतका स्वास्थ्यकर्मीले बिरामीलाई चेकजाँच गर्नुभएको थियो । 

यसअघि एमालेले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–२३ मा छालारोग सम्बन्धी निःशुल्क शिविर गरेको थियो । 

सो स्वास्थ्य शिविरमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मिसन ग्रासरुट बाँकेका संयोजक कोमल ओली, नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज सङ्घीय सांसद सूर्य ढकाल, लुम्बिनी प्रदेश कमिटी सदस्य प्रेम भुसाल, भीमकान्त लामिछाने, राप्तीसोनारी गाउँपालिका कमिटी अध्यक्ष मनोज केसीलगायतका नेताहरूको पनि सहभागिता थियो ।