• १३ वैशाख २०८१, बिहिबार

राष्ट्रियताको विषयमा मिडियाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : मुख्यमन्त्री गिरी

blog

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी प्रेस चौतारी रुपन्देहीको साधारण सभा उद्घाटन गर्दै। तस्बिरः छविलाल पाण्डे।

छविलाल पाण्डे 

बुटवल, वैशाख २ गते। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले राष्ट्रियता सङ्कटमा पर्दै गएको बेला मिडियाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ। 

उहाँले देशमा विदेशी हस्तक्षेप बढ्दै गएको र राष्ट्रियता सङ्कटमा पर्दै गएको बेला मिडियाले आफ्नो भूमिकालाई अझै जिम्मेवार बनाउनु पर्ने बताउनुभयो।

प्रेस चौतारी नेपाल रुपन्देहीको २४ औँ वार्षिक साधारण सभाको शनिबार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री गिरीले नागरिकलाई सचेत बनाउने जिम्मेवारी पाएको राज्यको चौथो तह मिडियासमेत राष्ट्रियताको पक्षमा बोल्न सशक्त हुन नसकेको जिकिर गर्नुभयो। 

उहाँले नेकपा (एमाले) ले गरेको राम्रा कामको समेत मिडियाले प्रचार प्रसार नगरेको गुनासो गर्नुभयो। उहाँले मुलुकको अस्थिरताबाट फाइदा लिने शक्तिविरुद्ध कलम चलाउन मिडियाकर्मीलाई आग्रहसमेत गर्नुभयो। 

सूचना साम्राज्यको बढ्दो बिस्तारसँगै मिडियाकर्मीको दक्षता अभिवृद्धिका लागि तालिमको आवश्यकतामा जोड दिनुभयो। मुख्यमन्त्री गिरीले नेपालको राजनीति अहिले चिन्ताजनक अवस्थामा पुगेको बताउँदै वामपन्थीबीच बढ्दो ध्रुवीकरणका कारण दलबीचको दूरीसमेत बढेको तर्क गर्नुभयो। 

उहाँले भन्नुभयो, ‘केही राजनीतिक दल देश र जनताको लागि भन्दा पनि अर्काको स्वार्थका लागि काम गर्न थाले, देशलाई जोगाउने हो भने दलबीचको बढ्दो दूरी कम गर्नुपर्छ। मुख्यमन्त्री गिरीले दुई कार्यकाल पनि पूरा नहुँदै सङ्घीयताको विरोध गर्नु सान्दर्भिक नहुने तर्कसमेत गर्नुभयो। 

प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेकपा (एमाले) रुपन्देही प्रमुख तेजेन्द्र केसी, नेकपा एमाले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरे, प्रेस चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष मोहन चापागाईँ, प्रेस चौतारीका केन्द्रीय सचिव प्रदीप आचार्य, एमाले रुपन्देही प्रचार विभाग प्रमुख हितराज पन्थी तथा प्रेस चौतारी रुपन्देहीका पूर्व अध्यक्ष अमृत गिरी लगायतले शुभकामना दिनुभएको थियो।