• १४ वैशाख २०८१, शुक्रबार

कर्णालीमा यो वर्ष पुस्तक अभाव नहुने

blog

रजनी योगी 

सुर्खेत, वैशाख २ गते । कर्णाली प्रदेशमा बर्सेनि पाठ्यपुस्तक अपुग हुने गरेको छ । गत वर्ष वार्षिक परीक्षाको समयसम्म पनि सबै विद्यार्थीको हातमा पुस्तक पुग्न सकेको थिएन तर यस वर्ष भने विद्यार्थीलाई समयमै पुस्तक बाँड्ने गरी तयारी भएको छ । 

पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मेवारी लिएको जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतले नयाँ शैक्षिक सत्र सुरु हुनुअगावै मागअनुसारका पुस्तक गोदाममा ल्याइसकेको जनाएको छ । कर्णालीका सबै बालबालिकालाई पुग्ने गरी पुस्तक ल्याएको केन्द्र प्रादेशिक कार्यालय प्रमुख भैरवबाबु पन्तले बताउनुभयो । “यो वर्ष मागअनुसार सबै कक्षाको पुस्तक हामीले गोदाममा ल्याएका छौँ । पालोअनुसार दुर्गम जिल्लाबाट वितरण गर्दै आएका छौँ,” उहाँले भन्नुभयो । 

कार्यालयका अनुसार मुगुका दुईवटा स्थानीय तहबाट पुस्तकका लागि सम्पर्कमा आएका छैनन् भने अन्यले लगिसकेका छन् । जुम्ला र कालीकोटमा पनि पुस्तक गइसकेको छ । 

वैशाखको पहिलो साताभित्रै सबै जिल्लामा पुस्तक पु¥याउने योजना सुर्खेतस्थित जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालयले बनाएको छ । गत वर्षको जस्तो समस्या नहुने भन्दै उहाँले यो वर्ष समयमा नै विद्यार्थीको हातमा सबै पुस्तक पुग्ने दाबी गर्नुभयो । जनक शिक्षाले जिल्लाअनुसार पालो तोकेर पुस्तक वितरण गरिरहेको छ । दुर्गम जिल्लाको पहिले पालो तोकिएको छ भने अलिक सुगम जिल्लालाई पछाडि राखिएको छ । जसअनुसार सुर्खेतको पालो अन्तिममा आउँछ । 

पालो ढिलो आउने र पुस्तकसमेत नपुग्ने समस्या सुर्खेतले विगतदेखि नै झेल्दै आएको छ । यो वर्ष पनि त्यस्तै हुनेमा सुर्खेतका व्यवसायीको चिन्ता छ । कर्णालीका दुर्गम जिल्लामा समयमै पुस्तक पुगे पनि सुर्खेतलगायतका सुगम जिल्लामा पुग्छ भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ कर्णाली प्रदेशका सचिव शेरबहादुर खड्काले बताउनुभयो । 

“यो वर्ष सहज रूपमा सबैले पुस्तक पाउने देखिन्छ । गत वर्षजस्तो अभाव हुँदैन होला,” उहाँले भन्नुभयो । अघिल्ला वर्ष भने कर्णालीका विकट हिमाली जिल्लाका साथै सुर्खेत, दैलेख र जाजरकोटलगायतका जिल्लामा पनि पर्याप्त पुस्तक पुगेको थिएन । व्यवसायीका अनुसार गत वर्षको आधा शैक्षिक सत्र सकिँदासम्म पनि ठूलो सङ्ख्यामा विद्यार्थीले पुस्तक पाएका थिएनन् । व्यवसायीले अग्रिम रकम बुझाउँदासमेत जनक शिक्षा सामग्री केन्द्रले पुस्तक उपलब्ध गराउन सकेको थिएन ।