• १४ वैशाख २०८१, शुक्रबार

चुरेको विकट जङ्गलमा ठूलो परिमाणमा चिरान काठ बरामद

blog

बर्दिबास नपा १० स्थित विकट भौगोलिक क्षेत्रमा पर्ने भालुझोडाको जंगलबाट वनकर्मीको गस्तीले सोमबार साँझ नियन्त्रणमा लिएको काठ । फोटो–रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती 

बर्दिबास, चैत २१ गते । बर्दिबास १० स्थित चुरे क्षेत्रमा पर्ने भालुझोडाको विकट क्षेत्रबाट वनकर्मीको गस्तीले ठूलो मात्रामा चिरान काठ बरामद गरेको छ । गस्तीले करिब १०० क्युफिट बराबरका साखु जातका ११० थान चिरान फल्ली नियन्त्रणमा लिएको हो । 

माइस्थानस्थित सशस्त्र वन सुरक्षा शाखा प्रमुख अवतार लामाकाअनुसार बरामद काठमध्ये भालुभोडाको भीर खोल्सीमा लुकाई राखिएको अवस्थामा ७५ थान तथा सोही नजिक पर्ने बेवारिसे अवस्थाको गोठघरबाट ३५ थान बरामद भएको हो । 

भौगोलिक विकटताका कारण सुरक्षित मानिएको भालुझोडाको जङ्गलबाट काठ बरामद भएको यो पहिलो पटक हो । गाडीसमेत चल्न नसक्ने भालुझोडा बर्दिबासदेखि करिब २५ किमी सुदूर उत्तरी क्षेत्रमा रहेको वनकर्मचारीले जनाएका छन् । 

सुराकीको आधारमा बाँके तथा माईस्थानस्थित सब-डिभिजन कार्यालयका प्रमुख रामअसिष यादव र कृष्णकुमार पटेलको कमाण्डमा खटी गएको सशस्त्र वन रक्षकसहित १८ जनाको गस्तीले तीन दिन लामो सर्च अभियानपछि सोमबार साँझ उक्त काठ बरामद गरेको हो ।

विकट ठाउँका जङ्गलमा पनि काठ तस्करको नजर पर्नु चुनौतीपूर्ण रहेको गस्तीको नेतृत्व गर्नुभएका माईस्थान सब-डिभिजन वन कार्यालयका प्रमुख कृष्णकुमार पटेलले जनाउनु भयो । बरामद काठ बाँके सब-डिभिजन कार्यालयको जिम्मामा राख्ने काम भइरहेको छ ।