• २९ वैशाख २०८१, शनिबार

सुठो बनाउन व्यस्त किसान

blog

कावासोती समाचारदाता

कावासोती, फागुन २९ गते । पूर्वी नवलपरासीको पहाडी क्षेत्रका किसानको मुख्य नगदे बालीका रूपमा रहेको अदुवाको सुठो बनाउन व्यस्त छन्। व्यावसायिक रूपमा अदुवा खेती गर्ने किसान अदुवाको मूल्य नपाएपछि परम्परागत तरिकाबाट सुठो बनाइरहेका छन्। गाउँमा अदुवा बिक्री नभएपछि लामो समयसम्म राख्न सुकाएर सुठो बनाउने गरिएको छ। 

काँचो अदुवा बिक्री नभएपछि नवलपुरका किसानले सुठो बनाउन थालेका हुन्। अदुवा पकेट क्षेत्र बौदीकाली गाउँपालिकाका किसानले काँचो अदुवा बिक्री नहुँदा लामो समयसम्म टिकाउन सुठो बनाउन थालेको बौदीकालीका किसान तिलबहादुर राना बताउनुहुन्छ। सुठो बनाउँदा एक/डेढ वर्षसम्म पनि नबिग्रिने भएकाले किसान त्यसतर्फ लागेका हुन्। 

अदुवा तथा बेसार खेतीका लागि बौदीकाली गाउँपालिका जिल्लाकै प्रसिद्ध मानिन्छ। उक्त पालिकामा प्रायः सबै किसानले अदुवा खेती गर्दै आएका छन्। पालिकाभित्र शीत भण्डार नहुँदा खनेर राखिएको अदुवा जोगाउन गाह्रो भएको छ। काँचो तीन किलो अदुवाको सुठो बनाउँदा एक किलो मात्र बस्ने र बिक्री हुने सुनिश्चितसमेत नहुँदा नोक्सानी बेहोर्नुपर्ने सम्भावना पनि उत्तिकै छ। यस कारणले गर्दा पनि सरकारद्वारा नै अदुवाको मूल्य निर्धारण गरिदियो भने आम किसानलाई राहत पुग्ने निरु रानाले बताउनुभयो। 

बौदीकालीवासीको मुख्य आयस्रोत खेती अदुवा भएकाले प्राथमिकतामा राखी प्रशोधन केन्द्र बनाउन किसानको माग छ। यसमा पालिका सकारात्मक भए पनि विद्युत्को राष्ट्रिय प्रसारण लाइन नपुग्दा समस्या भएको नेत्र सारुको गुनासो छ। बौदीकालीसहित पहाडी भेग नरम, जौँबारी, अर्खला, कोटथर, रकुवा, आमडाँडाका किसानको मुख्य पेसा अदुवा खेती हो। यहाँ उत्पादित अदुवा मुण्डे, दलदले, भिमाद, रामपुरलगायतका व्यापारिक केन्द्रमा पु-याउने गरिएको छ। त्यहाँबाट व्यापारीले अन्य बजारमा बिक्री गर्ने गर्छन्।

 करोडौँ रुपियाँको अदुवा यस जिल्लाबाट निकासी हुने भए पनि अदुवा र सुठोको मूल्यमा आउने थपघटका कारण किसानमा चिन्ता छाउनु स्वाभाविक रहेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेले बताउनुभयो।