गोरखापत्र समाचारदाता
नवलपरासी, वैशाख २९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक रूपान्तरणलाई तीव्र बनाई समुन्नत राष्ट्र निर्माण गर्ने पक्षमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ कार्यक्रमलाई शुक्रबार नवलपरासीमा सम्बोधन गर्दै आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा अगाडि बढाउने उद्घोष गर्नुभएको हो ।
निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने प्रस्ट पार्दै उहाँले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले उद्योगी, व्यवसायीसहित सम्पूर्ण लगानीकर्ताको मनोबल उच्च राख्ने प्रस्ट पार्नुभयो । प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यबाटै देशको अर्थतन्त्र सबल बनाउन सकिने, उत्पादकत्व वृद्धि गर्न सकिने र रोजगारीका अवसर सिर्जना गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “देशभित्र लगानीको वातावरण निर्माण गर्न, निजी क्षेत्रलाई प्रवर्धन गर्न, लगानीका क्षेत्रको सुरक्षा र सहजीकरणका निम्ति सरकार हरदम साथमा छ ।”
उहाँले शुक्रबारदेखि सुरु भएको नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्तालाई थप आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवं अर्धदक्ष कामदारका निम्ति रोजगारी प्राप्त गर्ने बताउनुभयो । उहाँले नेपालमा एसेम्बलिङ गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउने र आन्तरिक स्रोत एवं विद्युत्को खपत, स्थानीय विकासमा साझेदारी र कुल गार्हस्थ्य उत्पादनमा सकारात्मक योगदान पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा वित्तीय र मौद्रिक नीति नियन्त्रणमुखी होइन, प्रवर्धनमुखी हुनु पर्छ, नीति–नियमले उत्पादन र रोजगारी प्रवर्धनमा योगदान गर्न सक्नु पर्छ ।”
प्रधानमन्त्री प्रचण्डले सरकारको निरन्तर प्रयासका कारण अर्थतन्त्रका आन्तरिक र बाह्य सूचक सकारात्मक बन्दै गएको जानकारी दिनुभयो । उहाँले तेस्रो लगानी सम्मेलन सम्पन्न भएको र लगानी सम्मेलनको पूर्वसन्ध्यामा अध्यादेश नै ल्याएर सरकारले महत्त्वपूर्ण ऐनहरू संशोधन गरेको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “यसले लगानीका क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्दै आन्तरिक एवं बाह्य लगानीलाई प्रोत्साहित र प्रवर्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने छ ।”
उहाँले लगानी सम्मेलनमा देखिएको उत्साह, नेपालका राजनीतिक दलमा देखिएको साझा दृष्टिकोण र प्रतिबद्धता एवं लगानीकर्ताको आकर्षणले नेपाल छिट्टै आकर्षक लगानीको गन्तव्य बन्ने सङ्केत देखिएको बताउनुभयो ।