• ७ जेठ २०८१, सोमबार

सेयर निष्कासन रोकिँदा जलविद्युत् प्रवर्धकलाई समस्या

blog

काठमाडौँ, वैशाख २८ गते । जलविद्युत् आयोजना निर्माणमा सर्वसाधारणको रकमसमेत परिचलान गर्ने गरी साधारण सेयर जारी गर्ने योजना बनाएका जलविद्युत् प्रवर्धकहरू अहिले समस्यामा परेका छन् ।  सेयर निष्कासनको अनुमति दिने निकाय धितोपत्र बोर्ड लामो समयदेखि नेतृत्वविहीन हुँदा ३० जलविद्युत् आयोजनाका प्रवर्धकहरू समस्यामा परेको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) ले जनाएको छ । 

नेपाल धितोपत्र बोर्डमा रमेश हमाल अध्यक्षमा रहेकै बेलादेखि जलविद्युत् आयोजनाको आइपिओ निष्कासन रोकिएको थयो । हमालको अवकाशपश्चात् पनि नयाँ अध्यक्ष नियुक्त हुन नसक्दा लामो समयसम्म आयोजनाको सेयर निष्कासन हुन नसकेको हो । यसले गर्दा आयोजना निर्माण नै प्रभावित भएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा ४२ कम्पनीको आइपिओ जारी भएकामा २९ वटा जलविद्युत् कम्पनी थिए । चालु आवमा भने गत भदौ ५ गते भिजन लुम्बिनी ऊर्जा कम्पनीबाहेक अरू कुनै पनि जलविद्युत् कम्पनीको आइपिओ निष्कासन भएको छैन । 

अहिले एउटा सोलारसहित १८ वटा विद्युत् उत्पादन कम्पनीले आइपिओ निष्कासनका लागि अनुमति माग गर्दै सेबोनमा निवेदन दिएका छन् । 

अनुमति नै नपाउने आइपिओका लागि किन आवेदन दिनु भन्दै पाँच वटा कम्पनीले आवेदन नै दिएका छैनन् । यस अनुसार करिब १५ अर्ब रुपियाँ बराबरको सेयर निष्कासन १० महिनादेखि अवरुद्ध रहेको कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै हकप्रद सेयर निष्कासनका लागि आवेदन दिएका नौ जलविद्युत् कम्पनीले पनि अनुमति पाएका छैनन् । नौ कम्पनीले हकप्रद निष्कासन गर्न लागेको रकम झन्डै सात अर्ब रुपियाँ बराबर छ ।

यसअघि बोर्डले गत पुसमा अन्तिम पटक जलविद्युत् कम्पनीलाई हकप्रद सेयर निष्कासनको स्वीकृति दिएको थियो । जलविद्युत् कम्पनीको आइपिओ तथा हकप्रद सेयर निष्कासनलाई प्राथमिकता दिन सरोकारवाला सबै निकायमा इप्पानले पहल गरे पनि सम्बन्धित निकायबाट तदारुकता नदेखाउँदा धेरै विद्युत् आयोजनाको निर्माण प्रभावित भइरहेको इप्पानका महासचिव बलराम खतिवडा बताउनुहुन्छ ।