औसत राजनीतिको क्रमभङ्गता

rajendra kirati_1राजेन्द्र किराती


मानव समाजको उत्पति, विकास र रूपान्तरण आन्दोलनको सार्वभौम ऐतिहासिक प्रक्रियाबाट हुँदै आएको छ । विपरीतहरूको एकत्व, द्वन्द्व अनि पुनः रूपान्तरण सहितको एकताको नियम अनुरूप नै समाज परिवर्तन हुने गर्दछ । यसकारण समाजमा विपरीत स्वार्थ भएका सत्ता अस्तित्वमा हुन्छन् । स्वभावतः उनीहरू बीच सङ्घर्ष हुने गर्दछ । यही सङ्घर्षको राप र तापले वस्तु वा समाजमा नयाँ भौतिक परिवेश निर्माण हुनजान्छ । यसले वस्तु वा समाजको पुरानो चरित्र, गुण र स्वरूपलाई फेरबदल गर्दछ । आमूल परिवर्तन भनेको यही हो ।
ऐतिहासिक प्रक्रियागत आन्दोलनको न्यूनतम उद्देश्य वस्तु वा समाजको गुणात्मक रूपान्तरण नै हुन्छ । यद्यपि, यस्ता आन्दोलनले उद्देश्य अनुरूप बिट मार्न नसक्दा त्यो मात्रात्मक सूधारमा रुमल्लिन पुग्दछ । वस्तु वा समाजको सारभूत चरित्रमा गुणात्मक फेरबदल सहितको नितान्त नयाँ भौतिक परिवेशलाई गुणात्मक परिवर्तन भनिन्छ । अर्कोतिर वस्तु वा समाजको आधारभूत चरित्र, स्वरूप र गुण पक्ष यथावत रहेको तर कतिपय प्राविधिक र व्यावहारिक पक्षमा गरिएको आंशिक सुधारलाई मात्रात्मक परिवर्तन भनिन्छ । यसमा रूप पक्षमा नयाँपन जस्तो देखिए पनि सार वा अन्तरवस्तुमा पुरानै चरित्र हुन्छ । यस्तो परिवर्तनमा सबैको अनुभूति र पहुँच हुँदैन । यो परिवर्तन सम्बन्धी मात्रा र गुणको द्वन्द्ववाद हो ।
वास्तवमा आन्दोलन वा सङ्घर्ष रहरमा हुँदैन । यो सार्वभौम नियम हो । किनकि आन्दोलन भोज भतेर र नाचगान जस्तो मन बहलाउने रोमाञ्चकारी विषय पनि होइन । आन्दोलनको उठान कसैको झोँक र आवेग मात्र पनि हुनसक्दैन । यो सङ्घर्षको ऐतिहासिक निर्मम एवं शाश्वत प्रक्रिया हो । यो सङ्गठित, योजनाबद्ध र निश्चित उद्देश्यतर्फ परिलक्षित हुन्छ । यो समाज विकासको नियम अन्तर्गत ऐतिहासिक आवश्यकतामा निरन्तर भइरहने ऐतिहासिक द्वन्द्वात्मक प्रक्रिया हो ।
नेपाली जनताले परिवर्तन, न्याय र समानताका लागि विभिन्न कालखण्डमा गरेको आन्दोलनहरू औसत सम्झौतामा टुङ्गिदै आएको छ । यो सर्वाधिक दुखद् सवाल हो । अरु आन्दोलनहरू भन्दा तुलनात्मक रूपमा दश वर्षे जनयुद्धले केही नयाँ भौतिक परिवेश निर्माण गर्न सफल रह्यो । आम साधारण जनतामा समेत राजनीतिक चेतना ह्वात्तै बढायो । गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक जस्ता अग्रगामी एजेण्डाहरू सतहमा ल्याइदियो । यद्यपि, यसले पनि राज्यसत्ताको शासकीय वर्ग चरित्र, पद्धति, विधि र प्रक्रियालाई बदल्न चाहिँ सकेन । अर्थात् आन्दोलनको ऐतिहासिक प्रक्रियालाई अन्तिम लक्ष्यमा पु¥याउन सम्भव भएन । परिणामतः राष्ट्रिय राजनीतिमा गुणात्मक पविर्तनको अनुभूति हुन सकेको छैन ।
वास्तवमा आन्दोलनको ऐतिहासिक प्रक्रियामा स्थापित मुद्दाहरूको विकास, विस्तार, सुदृढीकरण र कार्यान्वयन निरन्तर आन्दोलनले मात्र गर्न सक्दछ । अर्थात् यसको गतिशील जीवनको लागि फरक वस्तुगत परिवेशमा पनि फरक स्वरूपको आन्दोलनको प्रक्रिया नै अपरिहार्य हुन्छ । कम्युनिस्टहरूले हरेक आन्दोलनलाई निरन्तर सङ्घर्षको ऐतिहासिक द्वन्द्वात्मक प्रक्रियाको रूपमा ग्रहण गर्दछ । माक्र्सवादले आन्दोलनको स्वरूप फेरिए पनि यसको ऐतिहासिक प्रक्रिया जारी रहने कुरामा विश्वास गर्दछ । अर्थात यो कहिले हिंसात्मक कहिले शान्तिपूर्ण, कहिले आक्रामक कहिले रक्षात्मक, कहिले दृश्य कहिले अदृश्य अनि कहिले व्यक्त कहिले अव्यक्त रूपमा निरन्तर ऐतिहासिक प्रक्रियामा अघि बढिरहन्छ । समाज विकासको यही ऐतिहासिक प्रक्रिया मार्फत भौतिक परिवेशहरूको व्यापकता र उन्नत चेत विकाससँगै समाजवादहुँदै साम्यवादमा सङ्क्रमण गर्ने सङ्घर्षको पद्धति नै माक्र्सवाद हो ।
नेपालको राष्ट्रिय राजनीति आज एक खुट्किलो अघि बढेको छ । दुइतिहाइको समर्थन प्राप्त कम्युनिस्ट सरकार छ । कम्युनिस्ट पार्टीबीच ध्रुवीकरणको शृङ्खला सुरु भएको छ । विकास र समृद्धि साझा नारा बनेको छ । समाजवादमा पुग्ने साझा लक्ष्य तय गरिएको छ । यो राष्ट्रिय राजनीतिको सकारात्मक पाटाहरू हुन् । तर राज्यसत्ताको वर्गचरित्र, पद्धति, विधि र प्रक्रियाहरूमा आमूल परिवर्तन भएको छैन । यो मात्रात्मक सुधारमा सीमित छ । हरेक सामाजिक सत्ताहरूको चरित्रको साथै आम मान्छेको चिन्तन र आचरण पुरानै छ । जीवनशैली, कार्यशैली सोच्ने तरिका र मनोवृत्तिहरू पुरानै छ । राजनैतिक दल, नेता, कार्यकर्ता, जनता, कर्मचारी, प्रहरी र सेनामा तेरो मेरोजन्य मनोवृत्ति कायमै छ । सिङ्गो राजनीति विकृत व्यापारीकरण र व्यवसायीकरण भएको छ । यो विगतमा भन्दा झनै संस्थागत र सुदृढ हुँदै गइरहेको छ, जसले हामीलाई सही दिशानिर्देश गर्दैन ।
यसबाट के प्रस्ट हुन्छ भने, वस्तुतः हाम्रो राज्यसत्ताको वर्गचरित्र र पद्धतिमा गुणात्मक रूपान्तरण भएको छैन । यो केवल मात्रात्मक सुधारमा सीमित हुँदै आएको छ । रूप वा आवरणीय पक्षहरूमा केही सुधारहरू भएको सत्य हो । तर सार वस्तुहरूमा परम्परागत चिन्तन, आचरण, मनोविज्ञान र संस्कृतिहरू यथावत रहेको छ । हिजो आन्दोलनको ऐतिहासिक प्रक्रियाको सिलसिलामा उठाइएका मुद्दाहरू आज कित भ्रष्टीकरण गरिएको छ कित आफू अनुकूल व्याख्या गरिँदैछ । खास गरेर आन्दोलनको ऐतिहासिक प्रक्रियामा स्थापित एजेण्डाहरू आन्दोलनको रक्षात्मक अवस्थासँगै मूलबाटोको दायाँबायाँ छरपस्ट भएको छ ।
राष्ट्रिय राजनीतिको यही धरातलीय परिदृश्य अन्तर्गत आज हामी सङ्घीयता कार्यान्वयनको प्रक्रियामा छौँ । सारतः यसको उठान उत्पीडितलाई उत्पीडिकको बराबरी ल्याउने सङ्क्रणकालीन राज्य व्यवस्थाको लागि हो । यो व्यापकतम हित र वृहत् एकतालाई सुनिश्चित गर्दै अगौटे र पछौटे समुदायबीचको खाडल न्यूनीकरण गर्ने साधन हो । तर यो पनि आज प्रशासनिक तथा भौगोलिक विभाजनमा सीमित गरिएको छ । यस्ता राजनीतिक मुद्दाहरू एकाएक प्राविधिक र औपचारिक बन्दै गएको छ । नामाङ्कनमा त्यहाँका उत्पीडित वर्गीय पहिचान, सभ्यता, इतिहास र संस्कृतिलाई आधार बनाइएको छैन । यसले के कुरा प्रस्ट गर्दछ भने हाम्रो राजनीतिक आन्दोलनले सही किसिमले बिट मारेको छैन ।
यही औसत राजनीतिको निरन्तरता अन्तर्गत नामाकरणको सिलसिलामा ६ नम्बर प्रदेशलाई कर्णाली, ४ लाई गण्डकी राखिएको छ । अब १ नम्बरलाई कोशी, २ नम्बरलाई जनकपुर वा कमला, ३ नम्बरलाई बागमती र ७ नम्बरलाई महाकाली राखे अन्यथा हुने छैन । किनकि यो सङ्घीयतामा वर्गीय तथा जातीय खाडल पुर्ने पुलको काम गर्ने राजनैतिक अन्तरवस्तु देखिन्न । यो भौगोलिक तथा प्रशासनिक विभाजनमा सीमित गरिएको छ । यसरी यसको सारभूत अन्तरवस्तुलाई नै भ्रष्टीकरण गरिएपछि त्यसद्वारा निर्देशित कर्मकाण्डहरू पनि स्वतः प्राविधिक र औपचारिक हुने गर्दछ । यो अकाट्य नियम हो । यही मेसोमा आज प्रदेशको नामाकरणमा भूगोल हावी हुँदैछ । वास्तवमा नामाकरण राजधानी जस्ता सवालहरू नितान्त प्राविधिक हुन् । तर सरोकारवालाले सङ्घीयतालाई नितान्त भौगोलिक विभाजन र प्रशासनिक सुगमता जस्ता प्राविधिक पक्षहरूमा सीमित गर्नुकै उपज आज नामाकरणमा पनि प्राविधिक पक्षहरू हावी भइरहेको छ । यसमा भौगोलिक पक्ष निर्णायक हुँदैछ ।
त्यसैले सच्चा कम्युनिस्टहरूले हरेक आन्दोलनलाई ऐतिहासिक प्रक्रियाको रूपमा ग्रहण गर्नुपर्दछ । यो आन्दोलन साम्यवाद प्राप्ति नभएसम्म निरन्तर विभिन्न स्वरूपमा अभिव्यक्त भइरहन्छ । यसले आक्रामक–रक्षात्मक, दृश्य–अदृश्य र व्यक्त–अव्यक्त कार्यनीति मार्फत समाज विकासको ऐतिहासिक प्रक्रियालाई सहयोग गर्दछ । यदि यसो हो भने आजको हाम्रो औसत राजनैतिक कामहरू ऐतिहासिक प्रक्रियाकै अव्यक्त, अदृश्य र रक्षात्मक जारी रूप हुन त ? यो गम्भीर बहसको विषय बन्नु पर्दछ । यो ऐतिहासिक प्रक्रियाकै भिन्न जारी रूप हो भने कम्युनिस्ट पार्टी र सरकार भनेर गर्व गर्न सकिन्छ । तर दिनदैन्यको औसत कर्मकाण्डीय औपचारिक राजनीति मात्र हो भने कम्युनिस्ट हुनु पर्दैन । कम्युनिस्ट आन्दोलन भनेको सङ्घर्षको निरन्तर ऐतिहासिक प्रक्रिया मार्फत समाजवाद हुँदै साम्यवादसम्म पुग्ने सङ्गठित र वर्गसचेत अभियानको नाम हो । यो परिवर्तनकारी आन्दोलनको नाम हो ।
तसर्थ, नेपालमा आन्दोलन धेरै भए, तर पुरानो सत्ताको वर्गचरित्र, पद्धति, विधि र प्रक्रियालाई फेर्न सकेन । पुरानो विरासत, चिन्तन, चेत, मनोविज्ञान र संस्कृति तोडेन । दल, नेता वा पात्र फेरिए पनि शासकीय पद्धति परिवर्तन भएको छैन । रणनैतिक मुद्दाहरू भन्दा पनि दिनदैन्यको औसत राजनीति प्रधान छ ।
अर्थात्, औसत राजनीति भनेको निरन्तरतामा क्रमभङ्ग होइन, मात्रात्मक सुधार मात्र हो । क्रमभङ्गता विना गुणात्मक रूपान्तरण हुँदैन । आन्दोलनको निरन्तर ऐतिहासिक प्रक्रियाको क्रमभङ्गता विना वस्तु वा सामाजिक सत्ताको आमूल परिवर्तन हुँदैन । आमूल परिवर्तन विना पुरानो संस्कृति, चिन्तन् र मनोविज्ञानको अन्त्य सम्भव छैन । निरन्तर क्रान्ति मार्फत पुरानो चिन्तन प्रवृत्तिको पूर्ण अन्त्यसँगै उन्नत सामूहिक चेतनाको विकासविना समाजवाद हुँदै साम्यवादसम्मको लामो तथा कष्टसाध्य ऐतिहासिक प्रक्रिया पूरा गर्न सकिन्न । यसको लागि औसत राजनीतिद्वारा निर्देशित गलत मनोवैज्ञानिक संस्कृति र प्रवृत्तिहरूको क्रमभङ्गता अपरिहार्य हुन्छ । यो गुणात्मक फेरबदलमा मात्र सम्भव हुन्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds