• २० वैशाख २०८१, बिहिबार

आमाको पढ्ने रहर

blog

भाइबहिनीहरू कुनै पनि कुरा सिक्न र पढ्न शिक्षा हासिल गर्न उमेर कहिल्यै बाधक हुँदैन है । ७० वर्षीया आमाले पनि  ११ कक्षाका किशोरकिशोरीसँगै पढेर ज्ञान हासिल गरिरहेकी छिन् । 

हामीमध्ये धेरै भाइबहिनीमा साथीसङ्गीभन्दा दुई/चार वर्ष मात्र पढाइ ढिलो भए पनि  उमेरले पढ्न दिएन भन्दै स्कुल छोड्नेको जमात बाक्लै पाइन्छ होला । त्यसैले प्रत्येक वर्ष प्राथमिक स्कुलमा भर्ना हुने पाँच लाख विद्यार्थीमध्ये १० मा कक्षा उत्तीर्ण गर्ने विद्यार्थी घटेर दुई लाखभन्दा पनि कम हुन्छन् । यसका थुप्रै कारणमध्ये भाइबहिनीमा जानकारी भएकै हुनुपर्दछ, सबैभन्दा बढी कारण उमेरलाई नै मानिएको छ तर सिनामङ्गलस्थित गुहेश्वरी माविमा ११ कक्षामा पढ्दै गर्नुभएकी ७० वर्षीया वृद्धा कीर्तिमाया घिमिरेले किशोरकिशोरीसँगै बसेर पढ्न थाल्नुभएपछि स्कुलको मात्र नभई समाजकै लागि उदाहरणीय बन्नुभएको छ । वि.सं. २००९ माघ महिनामा पूर्वी नेपालको दुर्गम खोटाङ दिक्तेलको याख्खामा जन्मनुभएका कीर्तिमायालाई सानैदेखि पढ्ने ठूलो धोको थियो । उहाँको पालामा छोराले पढ्दा गौरव गर्ने छोरीले जति बढी घाँसको भारी बोक्न सक्यो त्यति आमाबाबा खुसी हुने गर्थे । छोरीलाई पढाएर के काम अर्काको भित्तो टाल्न जाने जात भनेर पढाउँदैन थिए कीर्तिमाया विगत स्मरण गर्नुहुन्छ तर आफ्नो भित्री मनको कुनामा  छोराले जस्तै धेरै पढ्ने धोको रहिरह्यो ।  त्यसमाथि मासिक धर्म सुरु हुनु अगाडि नै विवाह गरिदिन पाए ठूलो धर्म भन्ने हुन्थ्ये समाजमा । हामी पनि केटा हेर्न आए खुसी हुन्थ्यौँ । सानैमा विवाह गर्न पाए के के न हुने होला भन्ठानेर हौसिन्थ्यौ तर विवाह भनेको के हो, बिहे किन गरिन्छ भन्नेसम्म पनि थाहा नभएकी मलाई सानैमा बिहे गरी पठाइए  । 

पढ्ने धोको कायमै रहँदारहँदै दुई छोरो एउटी छोरी जन्मिए, हुर्किए  । छोराछोरीको पनि नातिनातिना भए तर कीर्तिमायाको मनमा पढ्ने धोको मेटिएन । एक्कासि १२ वर्ष अगाडि पढ्ने ठूलो हुटहुटी उभार भएर आयो । छोरीको त विवाह भइसकेको थियो । श्रीमान् र छोरा/बुहारीहरू दुवै जना आआफ्नो काममा गएको मौका छोपि वैकल्पिक शिक्षा पढाइने स्कुल महिला उत्प्रेरणा मावि, शान्तिनगरमा भर्ना भएँ । ६८ वर्षको उमेरमा क ख रा बाट सुरु गर्दा मैले स्कुल पढ्न जाँदै छु भनेर आफ्नै श्रीमान्लाई पनि भनिन् र नातिनातिना स्कुल पु-याइसकेपछि म स्कुल जान्थेँ किनकि बूढीले पढ्न थालिछन् भनेर गिल्ला नगरोस् र बूढी भइसकेपछि किन पढ्न जाने भन्ला भन्ने मनमा थियो अप्ठ्यारो । 

धेरैपछि मैले श्रीमान्, छोराछोरीलाई थाह दिएँ । कान्छो छोराले बढी चासो राख्ने भएकोले परीक्षाको रिजल्ट देखाउने गरेको छुँ भने जेठो छोराले सिङ्गापुरबाट सी.ए. गरी काम गर्दैछन् । बच्चा बेलादेखिको पढ्ने इच्छालाई मैले बुढेसकालमा भए पनि पूरा गर्दै छु । पोहोर साल मैले एस.ई.ई.मा डी प्लस ल्याएपछि मलाई ११ कक्षामा भर्ना हुने इच्छा जाग्यो र गुहेस्वरी मावि, सिनामङ्गलमा पढ्न भक्तपुरको जगातीदेखि बसमा आउने गरेको छुँ । आत्मसन्तुष्टि मिलेको छ, वृद्धा कीर्तिमाया बताउँछिन् । स्कुलका नेपाली शिक्षक दीपककुमार पोखरेल भन्नुहुन्छ, उमेरले ७० वर्ष हुनु भए पनि उहाँ ५० वर्षीयाजस्ती जोसका साथ पढ्न आउनुहुन्छ, किशोरकिशोरीका साथ पढ्नुहुन्छ र स्कुलकै उत्प्रेरणा बन्नुभएको छ । 

कीर्तिमाया घिमिरेको अब कुनै पनि काम बाँकी छैन् । जीवनभरको इच्छा भनेको अब आर्थिक रूपले पछाडि परेका र उमेरका कारण पढाइ छुटेकालाई गाइड गर्दै जाने पढाउँदै जाने लक्ष्य छ भने उहाँले यसै सिलसिलामा आफ्नै बहिनीलाई पनि सँगसँगै पढ्न ल्याउनुभएको छ भने दुई वर्ष अगाडिदेखि उहाँले वृद्धभत्ता पनि खाई सक्नुभएको छ । 

भाइबहिनी हो, हामीले उमेरका कारण पढ्न छोड्ने पाका व्यक्तित्वहरू मात्र होइन, दुई/चार वर्ष पढाइ पछाडि परेर पनि पुनः पढ्न चाहनेहरूका लागि ७० वर्षीया वृद्धा कीर्तिमाया घिमिरे उदाहरण हुनुहुन्छ भने उमेरमा नै पढ्न नभ्याएका तर अलिकता वातावरण बनेपछि पढ्न चाहनेहरूलाई पढाइने वैकल्पिक शिक्षा प्रणालीका लागि सरकारप्रति पनि आभार हुनै पर्छ ।