• ८ जेठ २०८१, मङ्गलबार

विद्यार्थीलाई ट्रेकसुट र शैक्षिक सामग्री वितरण

blog

विद्यार्थीलाई शैक्षिक सामग्री वितरणपछि।

चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख १८ गते। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको एक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्रेकसुट र शैक्षिक सामग्री वितरण गरिएको छ। लालीगुराँस सेवा समाज नामक संस्थाले फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमस्थित खेजेनिम माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई उक्त सामग्री वितरण गरेको हो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिलकुमार पतङ्वाका अनुसार सो संस्थाले करिब दुई लाख रुपियाँ बराबरको ट्रेकसुट, खेलकुद र शैक्षिक सामग्री वितरण गरेको छ। विद्यालयको कक्षा १ देखि ५ सम्म अध्ययनरत ९० जना विद्यार्थीका लागि ट्रेकसुट, १०७ जोडी चप्पल, कक्षा १० सम्म नै अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक सामग्री (कापी र डटपेन) संस्थाले वितरण गरेको पतङ्गवाले जानकारी दिनुभयो।

उहाँका अनुसार खेलकुद सामग्रीमा फुटबल र भलिबल संस्थाले उपलब्ध गराएको छ। यस्तै संस्थाले सो विद्यालयमा अध्ययन गर्ने जेहेन्दार तथा विपन्न परिवारका चारजना विद्यार्थीलाई छात्रवृत्ति पनि उपलब्ध गराउने भएको छ। प्रत्येक वर्ष तीन हजार रुपियाँका दरले चारजनालाई छात्रवृत्ति उपलब्ध गराउने गरी संस्था र विद्यालयबिच १० वर्षे अवधिको सम्झौता भएको समिति अध्यक्ष पतङ्गवाले जनकारी दिनुभयो।

यता विद्यार्थीहरूलाई ट्रेकसुट, खेलकुद सामग्री र शैक्षिक सामग्री गाउँपालिकाका उपाध्यक्ष रवीन साम्रा (विकास), वडाध्यक्ष भूपेन्द्र चौलागाई, संस्थाका सल्लाहकार तेन्जिङ वालुङ लगायतको उपस्थितिमा वितरण गरिएको छ।