• ८ जेठ २०८१, मङ्गलबार

पोखरामा किसानका लागि आइपिएम पाठशाला

blog

फाइल तस्बिर

गण्डकी, वैशाख १९ गते । पोखरा महानगरपालिकामा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) किसान पाठशाला सञ्चालन गरिएको छ । पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनोहर कडरियाले वडा नम्बर ११ स्थित काहुँ सिस्नेरीमा किसानलाई प्राङ्गारिक विधिबाट खेती गर्न ज्ञानसीप उपलब्ध गराउने उद्देश्यले पाठशाला सञ्चालन गरिएको जानकारी दिनुभयो ।

व्यावसायिक कृषिप्रति आकर्षण बढ्दै गएकाले स्थानीय किसानलाई रासायनिक मल र विषादीको प्रयोगबिना खेती गर्न र प्राङ्गारिक विधिबाट खेती गर्न अभिप्रेरित गर्न पाठशालामा ज्ञानसीप सिकाइने छ । हाल ३५ जना किसानको सहभागितामा काँक्रो बाली लक्षित १६ हप्ते पाठशाला सञ्चालन गरिएको कडरियाले बताउनुभयो ।   

पाठशालाको सिकाइलाई प्रभावकारी बनाउन गडेउला, खपटे, खुम्रे, पुतली र औँसा गरी पाँच समूह बनाइ प्राविधिकसहित प्रयोगात्मक सिकाइसमेत भइरहेको समूहका सदस्य पार्वतीदेवी आचार्यले बताउनुभयो । पाठशालाका लागि किसानले गत चैत १६ गते भक्तपुरे लोकल जातको काँक्रोका बेर्ना रोपेका र अहिले सोही बालीका बारेमा सिक्ने तथा सिकाउने काम भइरहेको अर्का सदस्य सुभद्रा आचार्यले जानकारी दिनुभयो । पाठशालाका लागि महानगरपालिकाले एक लाख विनियोजन गरेको छ । रासस