• १४ वैशाख २०८१, शुक्रबार

मौलिक पहिरनप्रति युवाको आकर्षण

blog

ठाकुरप्रसाद आचार्य 

म्याग्दी (बेनी), फागुन १९ गते । पछिल्लो समयमा आधुनिक पहिरनले समाजलाई छपक्कै छोपेको छ । आधुनिकतासँगै मौलिक पहिचान झल्किने जातीय पोसाक लोप हुन थालेपछि यहाँको मगर समुदायका युवा मौलिक पोसाकको संरक्षणमा जुटेका छन् । जिल्लामा हुने विभिन्न सांस्कृतिक कार्यक्रम, सभा–समारोह तथा उत्सवमा उनीहरू मौलिक पहिरनमा सजिन थालेका छन् ।  

आधुनिक पहिरनसँगै आफ्नो जातीय मौलिक पोसाकप्रति पनि युवाको आकर्षण बढेको छ । जातीय पहिचानका रूपमा रहेको मौलिक पोसाक लगाउन युवक–युवतीको रुचि बढ्न थालेको नेपाल मगर सङ्घ म्याग्दीका अध्यक्ष लोकेश पुनमगर बताउनुहुन्छ ।  युवतीहरू गुन्यू, चौबन्दी चोली अनि रातो घलेकी र पहेँलो पटुका लगाउँछन् । त्यसैमाथि खुर्पेटो र हँसिया, निधारमा टीका, पहेँलो पोतेमा सिँगारिनु मगर महिलाको विशेषता हो । युवाहरू कछाड र भोटो, सेतो कपडाको भाङ्ग्रा, सर्ट र भोटोको साथमा शिरमा ऊनको टोपी लगाउँछन् । “मौलिक पोसाक हाम्रो पहिचान हो, मलाई यो पोसाकमा सजिँदा गौरव लाग्छ,” बेनी बजारकी १३ वर्षीया आयुषा फगामीमगरले भन्नुभयो, “हाम्रो पुर्खाले लगाउँदै आएको मौलिक पोसाक लोप हुन नदिन हामी सचेत हुनुपर्छ ।” आधुनिक पहिरनसँगै परम्परागत पहिरनलाई पनि जोगाउने दायित्व हामी युवाको भएको बेनीका खम थापामगरले बताउनुभयो । 

विभिन्न दिवस, सभा–समारोहलगायतका कार्यक्रममा युवक–युवतीले अनिवार्य रूपमा आफ्नो पहिरनमा सहभागिता जनाउँदा संरक्षणमा टेवा पुगेको उहाँले बताउनुभयो । “समयअनुसार म परिवर्तन भए पनि मलाई मेरो संस्कृति र पुर्खाको माया छ,” बेनीका दुर्गा बुढामगरले भन्नुभयो, “मेरो पुर्खाले संरक्षण गरेको मौलिक पोसाक र संस्कृतिप्रति गर्व छ । आफ्नो समुदाय र संस्कृति झल्काउने पहिरन लगाउँदा केही बिग्रँदैन ।” पछिल्लो समय मौलिकता झल्कने पहिरनमा युवा पुस्ताको क्रेज ह्वात्तै बढेको उहाँ बताउनुहुन्छ । समाज आधुनिकतातिर दौडिए पनि आफ्नो पुर्खा र संस्कृतिको प्रेम युवामा बढ्दै गएको नेपाल मगर सङ्घ, म्याग्दीका अध्यक्ष  पुनमगरले बताउनुभयो । “पहिरनले मान्छेको व्यक्तित्वसँगै पहिचानसमेत दिन्छ । युवा पुस्तामा फेसनसँगै आफ्नो संस्कृति, इतिहास र आफ्नोपना आउनु राम्रो कुरा हो,” मगर सङ्घका अध्यक्ष पुनमगरले भन्नुभयो ।