• १५ वैशाख २०८१, शनिबार

रुकुम (पूर्व) मा टर्कीबाट ल्याइयो ओखरका बिरुवा

blog

रुकुम (पूर्व), फागुन १५ गते । रुकुम (पूर्व) मा टर्कीबाट १६ हजार दाँते ओखरको बिरुवा ल्याइएका छन् । डिभिजन वन कार्यालयले किसानको मागअनुसार टर्कीबाट १६ हजार फरनर जातको दाँते ओखरको बिरुवा ल्याएको हो । ती बिरुवा जिल्लाको विभिन्न ठाउँमा भोलि १६ गते एकै साथ लगाइँदै छ ।

लुम्बिनी प्रदेश वन मन्त्रीको उपस्थितिमा बिरुवा रोपिने वन कार्यालयका डिभिजनल वन अधिकृत जीतेन्द्रसिंह खड्काले जानकारी दिनुभयो । उहाँकाअनुसार ओखरका बिरुवा माग गर्दै परेको आवेदनमाथि हेरफेर गरेर एक सय ३८ किसानलाई ओखरको बिरुवा वितरण गरिएको छ ।

प्रत्येक किसानले न्यूनतम १० बोट देखि ६६ सम्म ओखरको बिरुवा लिएका छन् । समग्रमा सिस्ने गाउँपालिकामा ७० घरधुरीलाई आठ हजार तीन सय ८५ बोट, भूमे गाउँपालिकामा ४० घरधुरीलाई छ हजार पाँच सय ४५ र पुथा उत्तरगङ्गा गाउँपालिकामा २८ घरधुरीलाई दुई हजार छ सय १४ बोट दाँते ओखरको बिरुवा वितरण गरिएको डिभिजनल वन अधिकृत खड्काले बताउनुभयो ।

भोलि सिस्ने गाउँपालिका–५स्थित रुमाल बारामा लुम्बिनी प्रदेशका वन मन्त्री दुर्गाप्रसाद चौधरी, भूमे गाउँपालिका– ३ झुङ्लाबाङमा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ र पुथा उत्तरगङ्गा गाउँपालिकाको १३ पिपलतुङमा प्रदेश सांसद सुरुल पुन, दिलकुमारी बुढा र सरिता पुनले एकैसाथ ओखरको बिरुवा रोपेर उद्घाटन गर्ने कार्यक्रम छ ।

यी कार्यक्रममा तीन वटै पालिकाका अध्यक्ष तथा उपाध्यक्ष उपस्थित आ–आफ्नै क्षेत्रमा खटिनुहुने छ । अन्य ठाउँमा वन कार्यालयका कर्मचारीको निगरानीमा ओखरका बिरुवा लगाइने भएको छ । वन कार्यालयका अनुसार सिस्ने गाउँपालिकाको १ देखि ८ सम्मका सबै वडा, भूमे गाउँपालिकाको १, ३, ६, ७, ८ र ९ नम्बर वडा तथा पुथा उत्तरगङ्गा गाउँपालिकाको १, २, ६, ८, ९, १०, ११, १२, १३ र १४ नम्बर वडामा ती  बिरुवा रोपिने भएको छ । यी वडाको ४० हेक्टर जमिनमा भोलि एकै साथ १६ हजार बिरुवा रोपिने डिभिजन वन कार्यालयले जानकारी दिएको छ ।

गत वर्ष पनि वन कार्यालयले फरनर जातकै दश हजार ओखरको बिरुवा किसानलाई वितरण  गरेकामा २५ हेक्टर जमिनमा ती बिरुवा लगाइएको थियो । यसै वर्ष पनि उक्त कार्यालयले जुम्लाबाट हाड्ले जातको एक हजार सात सय दाँते ओखरको बिरुवा ल्याएर वितरण गरेको थियो ।

हाडे ओखर प्रशस्त मात्रामा पाइने रुकुम (पूर्व) मा दाँते ओखरबाट राम्रो आयआर्जनको सम्भावना भए पनि  लगाइएका बिरुवालाई हुर्काउन भने चुनौती छ । सिँचाइको सुविधा नभएको र किसानसँग आवश्यक ज्ञान नहुँदा पनि ओखर खेतीबाट सफलता हात पार्न सकिँदैन कि भन्नेमा किसानमा चिन्ता छाएको  छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रुकुम (पूर्व) रोल्पा कार्यालयले पनि जिल्लाको विभिन्न ठाउँमा दाँते ओखरको बिरुवा वितरण गर्दै आइरहेको छ । रासस