त्रिविमा पुनःनिर्माण धमाधम

काठमाडौँ, वैशाख ७ गते । भूकम्पबाट क्षति भएका त्रिभुवन विश्वविद्यालयका भवनहरूको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।  शिक्षाध्यक्षको कार्यालय भवनको निर्माण कार्य सम्पन्न भएको छ भने उपकुलपतिको कार्यालय भवन आगामी असारसम्ममा निर्माण सम्पन्न भइसक्नेछ । २०७२ सालको भूकम्पले त्रिविका थुप्रै भवनहरू क्षतिग्रस्त भएका थिए र १० अर्ब रुपियाँ बराबरको भौतिक क्षति भएको अनुमान गरिएको थियो । 

व्यवस्थापन सङ्काय डीनको कार्यालय, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयको स्नातकोत्तर कार्यक्रमको भवन, डीन कार्यालयहरूको परीक्षा भवन, शिक्षण अस्पताल बेसिक साइन्स भवन, स्कुल अफ म्याथमेटिकल साइन्सेज भवन, एग्रो बायोमेटेरियल भवन लगायत निर्माणको अन्तिम चरणमा पुगेका छन् । कीर्तिपुरस्थित त्रिविको मुख्य प्रवेश द्वार र त्रिवि सेवा आयोग प्रवेश द्वारको निर्माण कार्य सम्पन्न भइसकेको छ ।
बुधबारबाट त्रिविका उपकुलपति र शिक्षाध्यक्षले नयाँ भवनमा आफ्नो कार्यकक्ष पाउनुभएको छ । त्यस अवसरमा पत्रकार सम्मेलन गरी त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले अब नेपाल कमर्स क्याम्पस, महेन्द्ररत्न क्याम्पस, ललितकला क्याम्पस, शङ्करदेव क्याम्पस र पाटन बहुमुखी क्याम्पस भवनको निर्माण प्रक्रिया अगाडि बढिरहेको जानकारी दिनुभयो ।
उहाँले आफूहरूले त्रिविको ‘भिजन २०३०’ तयार गरिहेको जानकारी दिनुहुँदै त्रिविले ओगटेको कीर्तिपुर क्षेत्रमा निःशुल्क वाइफाइको व्यवस्था छिटै उपलब्ध हुने बताउनुभयो । “अब उपत्यका बाहिरका क्याम्पसहरूमा पनि सेमेस्टर प्रणाली लागू गर्दैछौँ” उहाँले भन्नुभयो, “नेपाल बाहिर रहेका वा नेपाल बाहिर जान चाहने विद्यार्थीलाई क्रेडिट ट्रान्सफरको व्यवस्था पनि गर्ने भएका छौँ । ”

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds