• १४ वैशाख २०८१, शुक्रबार

गोकर्णदेखि पशुपति आर्यघाटसम्मको ढल व्यवस्थापन गर्न माग

blog

काठमाडौं, माघ ८ गते । बागमती सफाइ महाअभियानले गोकर्ण ड्यामदेखि पशुपति आर्यघाटसम्मको ढल पूर्णरुपमा व्यवस्थापन गर्न सरकारसमक्ष माग गरेको छ । बाग्मती सफाइ महाअभियानले ५०६औँ हप्ता पूरा गर्दा पनि मुहान क्षेत्रकै नदी सफाइ हुन नसकेपछि उक्त माग गरिएको हो ।

महाअभियानले पशुपति क्षेत्रसम्म नदीको दुवै किनारमा सफाइ छिटो गर्न पनि सहरी विकास मन्त्रालयको ध्यानाकर्षण गराएको छ । पशुपति क्षेत्रसम्म बाग्मती नदीमा सफा पानी बगाउने उद्देश्यले अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति स्थापना भएको ३० वर्ष पूरा हुँदा पनि काम सम्पन्न हुनसकेको छैन ।

सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकारसम्पन्न बाग्मती समितिको कार्यालय अघिबाट गौरीघाटसम्म पनि सफाइ गर्नुपर्नेमा जोड दिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई बताउनुभयो ।

गुह्येश्वरीदेखि गौरीघाटसम्मको उत्तरी भागमा जोडिएको सडक कालोपत्रे,  गोकर्णदेखि गुह्येश्वरीघाटसम्म भकारी निर्माण र गुह्येश्वरीबाट गौरीघाटसम्मको सडकमा बत्तीको व्यवस्था गर्न पनि महाअभियानले माग गरेको छ । महाअभियानले प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा बाग्मती सफाइ महाअभियान चलाउँदै आएको छ ।