• १४ वैशाख २०८१, शुक्रबार

भेरी लिफ्टिङ परियोजनाको पुनः परामर्श

blog

छिन्चु समाचारदाता

सुर्खेत, पुस २९ गते । खानेपानीको चरम समस्या भोगिरहेको वीरेन्द्रनगर नगरपालिकाको आगामी तीन दशकको जनसङ्ख्यालाई धान्ने गरी भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ ।

वीरेन्द्रनगरमा ३० वर्षको अवधिमा वृद्धि हुन सक्ने जनसङ्ख्यालाई ध्यानमा राखी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ । सो प्रतिवेदनमाथि विज्ञबाट पुनः परामर्श लिने प्रक्रिया करिब अन्तिम चरणमा पुगेको छ ।

ठूलो लगानीको आयोजना भएकाले बीचमा कुनै कारण डिजाइन फेल नहोस् भन्ने उद्देश्यले पुनः परामर्शका लागि आयोजना कार्यान्वयनको जिम्मा पाएको खानेपानी तथा ढल व्यवस्थापन विभागले विज्ञहरूको राय मागेको थियो । दुई खण्डमा गरी छ अर्ब रुपियाँ लागतमा सम्पन्न हुने यस आयोजनाको यसअघि नै तयार भइसकेको डीपीआरमाथि ‘रिभ्यु’ गर्न विभागले थप गरेको समयावधिमा इन्टेक निर्माण गरिने स्थान परिवर्तनबाहेक अन्य डिजाइन ठीक भएसँगै आयोजना कार्यान्वयनको चरणमा जान लागेको हो ।

खानेपानी आयोजनाको ‘डिजाइन रिभ्यु’समेत अन्तिम चरणमा पुगेसँगै ठेक्का प्रक्रियामा जान लागेको हो । गएको आइतबार खानेपानी तथा ढल व्यवस्थापन विभाग, मुख्य लगानीकर्ता विश्व बैङ्क, परामर्शदाता कम्पनी र वीरेन्द्रनगर नगरपालिकासहितको विज्ञ टोलीले आयोजना स्थलको स्थलगत अनुगमन गरेसँगै निर्माण प्रक्रिया अघि बढ्ने भएको हो । यसका लागि बजेटको सुनिश्चिततासमेत भइसकेको छ । 

सङ्घीय खानेपानी मन्त्रालयले विश्व बैङ्कको ऋण सहयोगमा आर्थिक वर्ष २०७९÷८० देखि सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा एक सय मिलियन अमेरिकी डलर लागतमा ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’अन्तर्गत भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट वीरेन्द्रनगर नगरपालिकामा ल्याइनेछ । यसअनुसार सङ्घीय सरकारले ८० प्रतिशत र प्रदेश सरकार, सम्बन्धित स्थानीय तहले २० प्रतिशत लगानी जुटाउनुपर्ने हुन्छ । 

कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले ‘म्युचुअल फन्ड’अन्तर्गत प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७९÷८० मा पाँच करोड रुपियाँ विनियोजन गरेको छ । नगरपालिकाले आयोजना स्थलसम्म पहुँच मार्ग विस्तार तथा आवश्यक पूर्वाधार निर्माणका लागि ५० लाख बजेटको व्यवस्था गरेको छ । दिगो तथा सुधारिएको खानेपानी आपूर्ति र सरसफाइ सेवा उपलब्ध गराउनुका साथै सेवा प्रवाहमा स्थानीय क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको आयोजनाको पहिलो चरणका काममा पानीको बहावलाई डाइभर्ट गरी नदी सतहदेखि करिब सात मिटर गहिराइ दुईवटा इन्टेक निर्माण गरिनेछ ।

त्यसपश्चात् इन्टेकदेखि करिब चार सय मिटरको दूरीमा पानी प्रशोधन प्रणाली निर्माण, पाइप लाइन विस्तारसँगै अमृत डाँडामा रिजर्भ ट्याङ्की निर्माण हुनेछन् । यस्तै पहिलो चरणकै काममा ट्याङ्कीदेखि वीरेन्द्रनगरसम्म मुख्य पानी प्रसारण लाइन विस्तार हुनेछ । दोस्रो चरणमा वीरेन्द्रनगर उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकका दुवैतर्फ वितरण लाइन विस्तार गर्ने योजना छ । 

वितरण प्रणाली तथा डिस्ट्रिक मिटर्ड एरिया (डीएमए)को बाँकी काम हुनेछ । पहिलो र दोस्रो चरणका लागि करिब तीन÷तीन अर्ब रुपियाँ लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । भेरीको पानी चार सय मिटर उचाइमा प्रशोधन ट्याङ्कीमा खसालिनेछ । त्यसपश्चात् करिब सात किलोमिटर लामो पाइपका माध्यमबाट अमृतडाँडामा निर्माण गरिने रिजर्भ ट्याङ्कीमा पानी खसालिनेछ । ५५० मिलिमिटर क्षमताको पाइप अमृतडाँडामा राखेर मुख्य ट्याङ्कीसम्म विस्तार गरिनेछ । 

अमृतडाँडामा ३० लाख लिटर क्षमताका तीनवटा रिजर्भ ट्याङ्की निर्माण हुनेछ । लिफ्टिङका लागि दुई मेगावाट विद्युत् आवश्यक पर्नेछ । आयोजना निर्माण सुरु भएको तीन वर्षभित्र भेरी नदीको पानी उपत्यकामा आइपुग्ने आयोजना प्रमुख सालिकराम पौडेलले बताउनुभयो । पहिलो चरणको कामका लागि प्राविधिक काम सुरु गरिसकेको उहाँको भनाइ छ । 

वीरेन्द्रनगरमा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि स्रोतको खोजीसहित विभिन्न अध्ययन गरिएको थियो; जसमध्ये भेरी नदीको पानी उपत्यकामा ल्याउने विकल्प उत्तम भएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताउनुभयो । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले अहिलेको संरचनाले नगरमा पानीको माग पूरा गर्न नसकिने भन्दै आयोजना निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभयो ।

वीरेन्द्रनगरमा बढ्दो जनघनत्वका कारण दिनानुदिन खानेपानी समस्या चुलिँदो छ । हाल दैनिक ३२० लिटर प्रतिसेकेन्ड पानीको माग भए पनि आपूर्ति भने प्रतिसेकेन्ड १५३ लिटर भइरहेको छ ।