• १४ वैशाख २०८१, शुक्रबार

सभामुखमा एकल उम्मेदवारी

blog

विराटनगर समाचारदाता

विराटनगर, पुस २८ गते । प्रदेश १ प्रदेश सभाको सभामुख पदमा एकल उम्मेदवारी दर्ता भएको छ । पुस २८ गते हुने सभामुखको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्यसूची रहेकोमा सत्ता साझेदार दल नेकपा (माओवादी)को तर्फबाट प्रदेश सभा सदस्य बाबुराम गौतमको मात्र मनोनयन दर्ता भएको हो । 

प्रदेश सभा सदस्य गौतमले नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीको प्रस्ताव र नेकपा (माओवादी केन्द्र)का सांसद नारायण बुर्जामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद गोपालबहादुर विश्वकर्मा र नेकपा (एकीकृत समाजवादी)का कमल जबेगुको समर्थनमा सभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी दर्ता नगराएपछि सभामुख गौतम सभामुखमा निर्वाचित हुनुहुने निश्चित भएको छ । 

सांसद गौतम ओखलढुङ्गाको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको हो । मजदुर आन्दोलनमा लामो समय आवद्ध रहनुभएका नेता गौतम २०७२ साल यता नेकपा (माओवादी केन्द्र)को ओखलढुङ्गा इन्चार्जका रूपमा पार्टीमा कार्यरत हुँदै गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । 

प्रदेश सभा सचिवालयले मङ्गलबारै प्रकाशित निर्वाचन तालिकाअनुसार दिउँसो ३ देखि ५ बजेसम्म सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्न समय दिएको थियो । सो समयभित्र एकल उम्मेदवारी दर्ता भएकोले उहाँ निर्विरोध हुनुभए पनि प्रदेश सभाले प्रक्रिया पूरा गरेपछि मात्र औपचारिक घोषणा गरिनेछ । 

निर्वाचन तालिकाअनुसार मङ्गलबार साँझ ६ बजेसम्म दाबी विरोधको उजुरी दर्ता गर्ने र उजुरी उपर छानबिन गरी साँझ ७ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । सभामुखको निर्वाचन पुस २८ गते ११ बजे बस्ने प्रदेश सभा बैठकमा मतदान हुने प्रदेश सभा सचिवालयका प्रमुख सचिव गोपाल पराजुलीले जानकारी दिनुभयो । 

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुखमा आफूहरूले उम्मेदवारी नदिएको भन्दै “उपसभामुखमा उम्मेदवारी दिने नदिने विषयमा कार्यतालिका सार्वजनिक भएपछि आवश्यक निर्णय गर्ने,” बताउनुभयो । 

मङ्गलबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा उपसभामुख पदमा नेपाली कांग्रेसले अन्य दलको सहयोग खोजी गर्ने भन्दै त्यस विषयमा छलफल गरी निर्णय गर्ने अधिकार संसदीय दलका नेता थापालाई दिने निर्णय गरेको थियो । 

दलका नेताहरूको सम्बोधन 

यसैबीच प्रदेश सभाको बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले सम्बोधन गर्नुभएको थियो । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले गर्ने काम र जनपक्षीय निर्णयमार्फत सङ्घीयताको आवश्यकता पुष्टि गर्नुपर्ने बताउनुभयो । संविधानको व्यवस्था र भावनाअनुसार प्रदेशलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा प्रतिपक्षसहित सबैसँग हातेमालो गरेर सुशासन, सेवा प्रवाह र विकासका लागि अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश संरचनाले विकासमा महŒवपूर्ण योगदान गर्ने भन्दै त्यसको विरोध नगर्न आग्रह गर्नुभयो । सत्तापक्षले प्रस्तुत गर्ने व्यवहारका आधारमा प्रदेश सभामा सहयोग गर्ने वा विपक्षीको भूमिका निर्वाह गर्ने भन्ने निर्धारण हुने भन्दै उहाँले सरकारले गर्ने राम्रो काममा सदैव सहयोग गर्ने बताउनुभयो । 

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारले तत्काल नामकरणको टुङ्गो लगाएर अघिल्लो कार्यकालमा बाँकी रहेको काम पूरा गर्नुपर्ने बताउनुभयो । 

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्य अम्बरबहादुर विष्टले राप्रपाले सङ्घीयताको विरोध नगरेको बरु नेपालको आर्थिक अवस्थाले सङ्घीयता धान्न नसक्ला कि भन्ने चिन्ता व्यक्त गरेको बताउनुभयो । बैठकमा नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता राजेन्द्र राईले प्रदेश सरकारले आफ्नै आम्दानीको स्रोत बढाउनु पर्ने चुनौतीको सामना गरिरहेकोले उद्यमशीलता र उत्पादन बढाएर आय वृद्धि गर्नेतर्फ काम गर्नुपर्ने बताउनुभयो । बैठकमा जनता समाजवादी पार्टीका नेता तथा प्रदेश सरकारका मन्त्री निर्मला लिम्बूले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।