• १४ वैशाख २०८१, शुक्रबार

सत्तरीवटा विकास निर्माण योजना सञ्चालन

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, पुस १८ गते । सहरी विकास तथा भवन कार्यालय सिन्धुलीमार्फत चालू आर्थिक वर्ष २०७९/८० मा सिन्धुली र रामेछाप जिल्लामा ७० वटा विकास निर्माणका योजना सञ्चालनमा रहेका छन्।

सङ्घीय सरकारको ससर्त अनुदान र बागमती प्रदेश सरकारबाट विनियोजित बजेटबाट ती विकास निर्माणका योजना सञ्चालन गरिएको उक्त कार्यालयले जनाएको छ। ती विकास निर्माणका योजना सञ्चालन गर्न चालू आवमा स्वीकृत २६ करोड रुपियाँ बजेटमध्ये चार करोड दुई लाख २५ हजार रुपियाँ बजेट खर्च भइसकेको कार्यालय प्रमुख दुर्गाप्रसाद घिमिरेले जानकारी दिनुभयो।

उहाँका अनुसार चालू आवमा सञ्चालन भएको विकास निर्माणका योजनामध्ये पाँचवटा योजना निर्माण सम्पन्न भइसकेका छन्। निर्माणाधीन योजनामध्ये पनि खानेपानी तथा सरसफाइ डिभिजन नं. ४ रामेछापको कार्यालय भवन निर्माण, सिन्धुली जिल्लाको दुधौली (कमलाखोच) नगरपालिका एकीकृत जग्गा विकास कार्यक्रमको भौतिक पूर्वाधार निर्माण र तीनपाटन गाउँपालिका एकीकृत जग्गा विकासअन्तर्गत भौतिक पूर्वाधार निर्माण बहुवर्षीय योजना रहेका छन्।

ती योजनाहरू ठेक्का सम्झौता भई सञ्चालनमा रहेको र अहिले विकास निर्माणको काम द्रुत गतिमा भइरहेको कार्यालय प्रमुख घिमिरेले सुनाउनुभयो। उहाँले भन्नुभयो, “सञ्चालित योजनामध्ये ५० लाख रुपियाँ माथिका ११ वटा योजना रहेका छन्। विविध कारणले तीनवटा योजना भने सञ्चालन हुन बाँकी रहेको छ।”

सडक, सामुदायिक भवन, बसपार्क, बस्ती विकास, रङ्गशाला, कोरिडोर निर्माण, विद्यालय भवन, स्वास्थ्य चौकी भवन निर्माणलगायतका निर्माणका योजना सञ्चालनमा रहेको कार्यालयले जनाएको छ। सञ्चालित योजनामध्ये चालू आवमा ५३ वटा नयाँ योजना रहेका कार्यालय प्रमुख घिमिरेले बताउनुभयो। दुधौली नगरपालिकाअन्तर्गत दुधौलीबजार–खोरभन्ज्याङ सडक कालोपत्रे गर्ने काम अहिले धमाधम भइरहेको छ। 

गत वर्ष फागुन ११ गते सम्झौता भएको दुई दशमलव ८० किलोमिटर सडकको अब कालोपत्रे गर्न मात्रै बाँकी रहेको र निर्धारित एक वर्षको समयभित्र सबै काम सकिने उक्त सडक निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी गोपाल श्रेष्ठले जानकारी दिनुभयो।