• १४ वैशाख २०८१, शुक्रबार

पहिचानका लागि स्तम्भ ठड्याउने होड

blog

कविराज घिमिरे 

हिले (धनकुटा), पुस ४ गते । पर्यटक आकर्षित गर्न स्थानको विशेषता झल्काउने गरी स्तम्भ निर्माण गर्ने प्रचलन झाँगिँदै गएको छ । त्यस्ता स्तम्भ देख्नासाथ जोकोहीले पनि सो स्थान तरकारी वा फलफूलका पकेट क्षेत्र रहेको सहजै थाहा पाउँछन् । यस्ता स्तम्भसामु उभिएर सेल्फी खिच्ने र सामाजिक सञ्जालमा राख्ने उत्तिकै फेला पर्छन् ।

स्वादिलो सुन्तला उत्पादनका लागि नामुद शहीदभूमि गाउँपालिकामा सुन्तलाको स्तम्भ निर्माण गरिएको छ । गाउँपालिकाले करिब १९ लाख रुपियाँ खर्च गरेर पिप्लेडाँडामा स्तम्भ निर्माण गरेको छ । गाउँपालिकाका अध्यक्ष मनोज राईले भन्नुभयो, “सुन्तला उत्पादनका लागि यो क्षेत्र प्रख्यात छ । त्यसैले यसलाई पर्यटकीय क्षेत्रका रूपमा परिचित गराउन सुन्तला स्तम्भ निर्माण गरिएको हो ।”

उता धनकुटा नगरपालिकाले एभोकाडोको राजधानीका रूपमा धनकुटालाई घोषणा गरेको छ । त्यसैले नगरपालिकाले वडा नं. ६ स्थित परिचयमोडमा एभोकाडो स्तम्भ निर्माण गरेको छ । वडा नं. २ स्थित भीरगाउँमा वडा कार्यालयको १० लाख रुपियाँ र सांसद विकास कोषको १० रुपियाँको लगानीमा गाँजर स्तम्भ निर्माण गरिएको छ ।

यता धनकुटा नगरपालिकाकै वडा नं. ३ कागतेमा नगरपालिका तथा वडा कार्यालयको सहयोगमा आठ लाख २० हजार रुपियाँको लागतमा कागती स्तम्भ निर्माण गरिएको छ । वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरेले कागतीका कारण वडाको मुहार फेरिएको बताउनुभयो । धनकुटा नगरपालिकाकै वडा नं. १, हिलेमा वडाको पहलमा बुद्धको प्रतिमा स्थापना गरिएको छ । 

केही समययता धनकुटाका विभिन्न स्थानमा लाखौँ रुपियाँ खर्च गरेर स्थानको पहिचान तथा चिनारी दिने खालका स्तम्भ निर्माण गर्ने होडबाजी नै चलेको छ । धेरैजसो स्तम्भ स्थानीय वडा कार्यालयकै पहल र आर्थिक लगानीमा निर्माण भएका छन् । 

धनकुटाको महालक्ष्मी नगरपालिकामा पाँच वर्षको अवधिमा चारवटा स्तम्भ निर्माण भइसकेका छन् । यो नगरपालिकाको वडा नं. ७, जितपुर बजारमा आठ लाख रुपियाँको लागतमा रुद्राक्षको स्तम्भ निर्माण गरिएको छ । वडा नं. ८ मा छ लाख रुपियाँमा गाई दुहुँदै गरेको स्तम्भ निर्माण गरिएको छ । वडा नं. ५ रामबजारमा आठ लाख रुपियाँको लागतमा राम भगवान्को र वडा नं. ६ मा नागको प्रतिमा स्थापना गरिएको छ । वडा नं. ९ गणेशटारमा गणेशको मूर्ति स्थापना गरिएको छ । 

तरकारी उत्पादनको पकेट क्षेत्रका रूपमा नाम कहलिएको छथर जोरपाटी गाउँपालिका–६ स्थित सिँधुवा बजारमा फूलकोभीको स्तम्भ बनाइएको छ । हात्तीखर्कमा स्थानको नामसँग मिल्ने गरी हात्तीको स्तम्भ निर्माण गरिएको छ ।

चौबीसे गाउँपालिका–७, बुधुकमा साढे चार लाख रुपियाँको लागतमा लागतमा सुन्तलाको स्तम्भ निर्माण गरिएको छ । साँगुरीगढीको चाँदीबजारमा चिन्डोको स्तम्भ निर्माण गरिएको छ । हिले बजारमा करिब २२ फिट अग्लो तोङ्वाको प्रतिमा बनाइको छ । लिम्बू समुदायको बाहुल्यता रहेको चौबीसे गाउँपालिकाको केन्द्र राजारानीमा च्याब्रुङको स्तम्भ बनाइएको छ । च्याब्रुङ लिम्बू समुदायको प्रमुख बाजा हो । पर्यटकीय स्थल भेँडेटारमा भेडाको स्तम्भ निर्माण गरिएको छ । पाख्रिवासमा बुद्धको प्रतिमा निर्माण गरिएको छ ।

निर्माण गरिएका यी स्तम्भले पर्यटकलाई खासै आकर्षित गर्न नसकेको स्थानीय बताउँछन् । उनीहरूले अनुत्पादक क्षेत्रमा लगानी गरिएको टिप्पणी गर्ने गरेका छन् । हिले क्याम्पसका अर्थशास्त्र विषयका उपप्राध्यापक बेसराज खत्रीले स्तम्भकै कारण पर्यटक आगमन नबढेको दाबी गर्दै भन्नुभयो, “सबै स्तम्भ एकै ठाउँमा निर्माण गर्न सकेको भए बरु पर्यटक आकर्षित हुने थिए ।” महालक्ष्मी नगरपालिकाका पूर्वप्रमुख परशु नेपालले भन्नुभयो, “केही ठाउँमा पर्यटक बढाउन र केही ठाउँमा स्थानको पहिचानका आधारमा स्तम्भ निर्माण गरिएको छ । स्तम्भले पर्यटन प्रवद्र्धन गरेको छ । स्थानको पहिचान जोगाएको छ ।”