• २१ वैशाख २०८१, शुक्रबार

जाग्राम बसेर गाउने भारी गीत

blog

हुम्ला समाचारदाता

हुम्ला, पुस ३ गते । विवाह र व्रतबन्धमा पुरुषहरू मिलेर रातभरि जाग्राम बसेर गाउने भारी गीतको महत्व आफ्नै किसिमको छ । विवाहमा दुलाह–दुलहीको सफलता मिलोस् र व्रतबन्ध गर्ने बालकको ग्रहदशा राम्रो होस् भन्नका लागि रातभरि पुरुषहरू मिलेर नाच्दै गाउने गरिन्छ भारी गीत । 

भारी गीतका जानकार खार्पुनाथ गाउँपालिका–५ का स्थानीय प्रकाशबहादुर शाहीले ठकुरी र क्षेत्री समुदायले विवाह र व्रतबन्धमा अनिवार्य गाउनै पर्ने भारी गीत गाएर रातभरि पुरुषले नाच्ने गरिँदै आएको बताउनुभयो । गीत गाउन सहभागी हुने पुरुषले परम्परागत पहिरन लगाउने गरिन्छ । तीन सय वर्षदेखि यो गीत गाउने गरिँदै आएको छ । विवाह वा व्रतबन्ध भएको घरको छतमा आगो बालेर राति करिब १० बजेबाट सुरु भएर बिहान झन्डै ८ बजेसम्म यो गीत गाउने गरिन्छ । गीत गाउनेलाई चिसो नहोस् भन्नका लागि आगो बाल्ने गरिन्छ । पुरुषका पनि दुईवटा समूह मिलेर गाउने गरिन्छ । दुवै समूहमा एक/एक जना भारी गीत गाउन सिपालु बूढापाका लाग्नुभएको हुन्छ । यो पनि एक प्रकारको प्रतिस्पर्धा नै हो । उहाँले यो अवसरमा विशेष गरी भारी गीत, फाग, धमारी र चुट्किला गाउने गरिन्छ । गीतमा विशेष गरी संसारभरिका तीर्थहरूको नाम, स्थापना, महत्वका बारेमा प्रकाश पार्ने गरिन्छ । त्यसैगरी रामायणका राम, दशरथ र महाभारतको पाण्डव र कौरवको बारेमा पनि गीतमार्फत सुनाउने गरिन्छ । बूढापाकाले गाएको गीत सुनेर नयाँ युवाले सिक्ने गर्छन् । पछि पुस्तान्तरण हुने गर्छ । महिलालगायत गीतमा सहभागी नभएका पुरुष ठूलो सङ्ख्यामा रमाइलो हेर्न आउने गर्छन् ।