• १२ साउन २०८१, शनिबार

आकाशे पानी माग्दै वरुण देवताको पूजा (फोटो फिचर)

blog

आकाशे पानी माग्दै ताकममा वरुण देवताको पूजा । तस्बिर: साधन घर्ती

साधन घर्ती 

म्याग्दी (दरबाङ), वैशाख २१ गते । म्याग्दीका अधिकांश क्षेत्रमा आकाशे पानीको भरमा खेती गरिन्छ । अहिले आकाशे पानी नपर्दा बारीमा लगाएको हिउँदे बाली सुक्न थालेपछि कृषक चिन्तित छन्, भने वन जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन । लामो समयसम्म पानी नपरेपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकम पँधेरा चौरमा आकाशे पानी माग्दै वरुण देवताको पूजा गरिएको छ । 

लामो समयसम्म खडेरी परेपछि वन जङ्गलमा आगलागी र खेतीपाती सुक्न थालेपछि २४ घण्टे अखण्ड कीर्तन र ६ जना पण्डितले ४ घण्टासम्म जल समाधि गरी ४५ हजार जप गर्दै पूजा समापन गर्नुभएको थियो ।लामो खडेरी र अन्नपात खेतबारीमै सुक्ने थालेपछि ताकमबासीले परम्परागत मान्यताकै आधारमा मङ्गलबार र बुधवार गरी दुई दिनसम्म पूजाआजा गरेको स्थानीय पत्रकार गोपाल आचार्यले बताउनुभयो ।

‘‘वरुण देवताको पूजा गरेपछि आकाशबाट पानी पर्छ भन्ने किम्बदन्ती रहेको छ । परापूर्वकालदेखि नै पूजा गर्ने चलन छ,’’ उहाँले भन्नुभयो । लामो खडेरी पर्दा ताकमबासीले वरुण देवताको पूजा गरी आकाशे वर्षाको कामना गर्ने गरेका छन् । खडेरीले अन्नबालीमा क्षति, खानेपानीको मुहान सुक्दै जानुका साथै डढेलोले जङ्गल सखाप भएपछि ग्रामीण क्षेत्रका किसान निकै चिन्तित छन् ।