• १५ वैशाख २०८१, शनिबार

लोकप्रिय बन्दै चर्या नृत्य

blog

काठमाडौँ, मङ्सिर २६ गते । बौद्ध धर्मको वज्रयानी वज्राचार्य गुरुहरूले परम्परादेखि पूजा कोठाभित्र अभ्यास गर्दै आएका चर्या नृत्य स–साना बालबालिकादेखि युवापुस्तामाझ लोकप्रिय भएको छ । 

युगौँदेखि अभ्यासमा रहेको यो नृत्य यसरी बाहिर प्रस्तुत हुन थालेको धेरैपछि हो । काठमाडौँभित्रका नेवार समुदायको पनि बौद्ध धर्म मान्ने समुदायमा प्रख्यात चर्यालाई विश्वव्यापी रूपमा प्रचार गर्नुपर्छ । हाम्रो संस्कार संस्कृतिलाई हामीभित्र मात्र राख्न हुँदैन भन्ने उद्देश्यका साथ अहिले बालबालिकादेखि युवापुस्ताले सिक्दै गरेका छन् । चर्या नृत्य गुरु तथा प्रशिक्षक सञ्जय राजोपाध्याय भन्नुहुन्छ, “नेपालको मौलिक शास्त्रीय नृत्य भनेकै चर्या हो । यसका गीत संस्कृत भाषामै गाइन्छन् । मुख्यतया मुद्राका आधारमा यो नृत्य गरिन्छ ।” 

पहिले वज्राचार्य मात्र नभएर राजोपाध्यायहरूले पनि यो नृत्य गर्थे तर पछि गर्न छाडे । अहिले जाति र सम्प्रदाय मात्र नभएर यो साधना सबैले गरी लोप हुनबाट बचाउनुपर्छ ।  उहाँले वज्राचार्य गुरुहरूले मान्ने शून्यवादको जुन सिद्धान्त छ त्यसैलाई यो नृत्यका माध्यमबाट प्रस्तुत गरिने जानकारी दिँदै यसलाई परमार्थ सत्य आत्मसात् गर्ने काव्यरूपी सङ्गीतमय साधना पनि भनिने बताउनुभयो । 

संस्कृतिविद् सत्यमोहन जोशीको पुस्तक ‘बःचाधंगु नेवाः खँग्वः धुकू’मा चर्याको अर्थ नेवार सम्प्रदायमा बौद्ध महायानीहरूको गुह्य पूजा हुने बेला गाइने धार्मिक शास्त्रीय गीत भनी उल्लेख छ ।

चर्या गीतको शाब्दिक अर्थ बौद्ध महायानी, गुभाजु, बजेजु आदि जातिको आगं (कुल)पूजा गरिने बेला गाइने गोप्य गीत वा कुल वेद पनि भनिएको छ । 

विगत ६ महिनादेखि चर्या नृत्य सिक्दै गर्नुभएका रजनी मानन्धर भन्नुहुन्छ, ‘यो नाच एउटा मौलिक नाच मात्र नभएर साधना पनि हो । नाचको आधार भनेको चर्या नृत्यजस्ता लाग्छ । यो नाच सिकेपछि ध्यान गर्न सिकेको र अनुशासित हुन सिकेको अनुभव भएको बताउनुभयो ।’ 

यस्तै मुनाल वज्राचार्यले चर्या नाच सिकेपछि नाचको अर्थ बुझेको जानकारी दिनुभयो । ‘नाच भनेको तालमा नाच्नु वा शरीरलाई हल्लाउनु मात्र होइन’, उहाँले भन्नुभयो, ‘नाचको अर्थ नै चर्या नाच हो । यस नाचको संरक्षण गर्न आवश्यक छ । त्यसैले अहिलेका बालबालिकादेखि युवापुस्तालाई चर्या नाच सिकाउन जरुरी छ ।’ 

चर्या नृत्य 

गुरु राजोपाध्याय भन्नुहुन्छ, ‘त्रिभङ्ग (खुट्टा, कम्मर र शिर)मा बसेर लास्य (नारी शक्ति नृत्य) र ताण्डव (पुरुष शक्ति)मा समावेश भई भावपूर्ण मुद्रामा सम्पूर्ण अङ्ग परिचालन गरी नृत्य गर्नेलाई चर्चा नृत्य भनिन्छ । यो नृत्यमा आध्यात्मिक भावना र भक्तिरसले पूर्ण भई जुन देवीदेउताको नृत्य गर्ने हो तिनैको ध्यान भावना आपूmभित्र समाहित गरी आफैँलाई ईश्वर मानी नाचिने नाच चर्या नृत्य हो । यो नृत्यमा देवीदेउताले जसरी नै पोसाक र गरगहना नियमानुसार पहिरिनु

पर्छ । चन्द्रहार, बाजु (मुकुट), घाँटीको पेटी, कम्मर पेटी, मोतीमाला, धातुको मोटो सिक्री र देवीदेउताको वर्णअनुसारको रङ्गीन टीका लगाउनुपर्छ ।’ 

उहाँले चर्यामा मञ्जुश्री, वज्रयोगिनी, पञ्चतारा, आर्यतारा, कुमारी, पञ्चबुद्ध, भैरवकाली, अन्नपूर्णलगायतका देवीहरूको रूपमा नृत्य गरिने जानकारी दिनुभयो । 

चर्या नृत्यका निश्चित आधारभूत पदज्ञान र आसन हुन्छन् । समपद, वज्रपद, मण्डलापद, त्रिभुपद, प्रत्यालिंधपद, आलिंधपद र नमामीपद गरी सात प्रमुख आसन पाइन्छन् ।

चर्या नृत्यमा आसन अति आवश्यक हो । सबै देवीदेउताका लिने बेला त्रिभंगासनमा बस्नुपर्छ । सोही आसनपछि लाश्य र ताण्डवभित्र समाविष्ट हुनु अति आवश्यक हुन्छ । ‘त्रिभंग आसन नभए चर्या नृत्य हुँदैन’ राजोपाध्यायले भन्नुभयो, ‘चर्याका प्रायः नृत्य नवरसभित्र पर्छन् ।’ 

चर्या नृत्यको आफ्नै मौलिक महìव छ । यसको विशेषता भन्नु संसारका कुनै पनि नृत्यसित मेल नखानु हो । अर्को विशेषता, यो नृत्य रागबाट सुरु भएर श्लोकमा टुङ्गिन्छ । यो नृत्य साङ्गीतिक रसअन्तर्गत नाचिन्छ । 

चर्या नृत्य नेपाली संस्कृतिको एउटा अति विशिष्ट नमुना हो । यो राष्ट्रिय निधि एवं जीवित सम्पदा हो । चर्या नृत्य महायानी सम्प्रदायमा वा गुह्य पूजा गर्दा नाचिने गाइनेमा सीमित रहेन । अचेल यो नृत्य परिस्कृत गरी विभिन्न सभा, समारोह तथा धार्मिक, सांस्कृतिक अवसरमा पनि प्रदर्शन गरिन्छ ।