• १४ वैशाख २०८१, शुक्रबार

उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक

blog

उपचार गराएबापत शुल्क बुझाउन नसकेपछि अस्पतालमा बन्धक बनाइएका अशोक शाही ।

प्रेमराज सिंखडा

कालीकोट, मङ्सिर २६ गते  ।  छोराको उपचार खर्च तिर्न नसकेका कारण एक परिवार अस्पतालमै थप समय बस्न बाध्य भएको छ । जिल्लाको पलाँता गाउँपालिका–६ का घाटे शाहीका छोरा अशोक शाहीले अस्पतालमा उपचार गरेको भुक्तानी गर्न नसक्दा अस्पतालमा बन्दकजस्तै बस्नु परेको हो । 

घाटे शाही आफू, श्रीमती र छोरालाई ल्याएर पलाँता गाउँपालिकाले सञ्चालन गरेको सरकारी अस्पतालमा उपचार गर्न आउनुभयो । उहाँका छोरालाई अस्पतालमा औषधि गरेको र बेड शुल्कसमेत गरेर ४० हजार बिल पुग्यो । 

सो रुपियाँ तिरेर जान अस्पताल प्रशासनले भनेपछि रुपियाँ नभएको जवाफ पाउनेबित्तिकै अस्पतालका कर्मचारीले बेड छाडेर जान दिएनन् । डाक्टरले रुपियाँ नतिरी जान पाइँदैन भनेका कारणले आफू र छोरा अस्पतालकै बेडमा थप बस्नु परेको घाटे शाहीले गुनासो गर्नुभयो । 

उहाँको छोराको खुट्टामा चोट लागेको र घाउ बल्जिएपछि अस्पताल ल्याउनुभएको थियो । पलाँता गाउँपालिका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बमले आफ्नो पालामा कुनै पनि शुल्क नलिने र औषधिमा पनि गरिब, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विपन्न लक्षित वर्गलाई पूरै निःशुल्क गरे पनि अहिले त्यस्तो नभएको बताउनुभयो । 

वर्तमान स्थानीय सरकारले शुल्क बढाएको र सबैलाई एकैनासको शुल्क निर्धारण गरेकाले घाटे शाही समस्यामा परेको पूर्वअध्यक्ष बमको भनाइ छ । सरकारी अस्पतालमा अहिले सरकारले ७२ प्रकारका औषधि निःशुल्क पठाउने गरेको छ तर पलाँता गाउँपालिकाले आफूखुसी शुल्क निर्धारण गरेका कारण सेवाग्राही मर्कामा पर्दै आएका छन् । 

शुल्कका विषयमा जानकारी लिन गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकायासँग पटक–पटक सम्पर्क गर्न खोजे पनि सम्पर्क हुन सकेन । अस्पतालका प्रमुख डा. विजयकुमार महतोले पहिलाको भन्दा अलि शुल्क बढेको स्वीकार गर्नुभयो तर अशोक शाहीका बारेमा आफूले पनि केही नबुझेको प्रतिक्रिया दिनुभयो ।