• ११ असोज २०८१, शुक्रबार

अमेरिकाविरुद्ध इङ्ग्ल्यान्डको उच्च मनोबल

blog

दोहा, मङ्सिर ९ गते । विश्वकप फुटबल २०२२ सुरु हुनुपूर्व इङ्ग्ल्यान्डका कप्तान तथा स्ट्राइकर ह्यारी केनलाई गोल्डेन बुटको दाबेदारका रूपमा हेरिएको थियो। पछिल्लो संस्करणमा केन छ गोलसहित सर्वाधिकगोलकर्ता बन्नुभएको थियो। युरो २०२० मा पनि उहाँले चार गोल गर्नुभएको छ। यस विश्वकपमा पनि चम्किएर केन इङ्ग्ल्यान्डका सर्वाधिक गोलकर्ता बन्ने दाउमा हुनुहुन्छ। इङ्ग्ल्यान्डका लागि ५१ गोल गरेका केन दुई गोलले वायने रुनीभन्दा पछाडि हुनुहुन्छ तर इरानविरुद्ध इङ्ग्ल्यान्डले आधा दर्जन गोल गरेपछि केन गोलविहीन बन्नुभयो। सो खेलमा केन घाइते पनि हुनुभएको छ। त्यसैले केनले अमेरिकाविरुद्धको खेल खेल्नेमा शङ्का छ।

यी कारणले शुक्रबार समूह चरणको दोस्रो चरणमा इङ्ग्ल्यान्डको सामना गर्दा अमेरिकाको केनसँगको डर धेरै हटेको हुनुपर्छ।  यस विश्वकपमा इङ्ग्ल्यान्डले पनि सानदार प्रदर्शन गरेको थियो। यद्यपि जितको हकदार भए पनि अमेरिका वेल्ससँग १–१ ले बराबरीमा रोकियो। सन् २०२१ को कन्केकाफ गोल्डकप र नेसन्स लिग उपाधि जितेको अमेरिका उपाधि दाबेदार इङ्ग्ल्यान्डका लागि ठूलो चुनौती बन्न सक्छ।

यी दुई टिमबीचको पछिल्ला प्रदर्शन हेर्ने हो भने इङ्ग्ल्यान्डले ११ मध्ये आठ खेलमा अमेरिकालाई हराएकाले पनि इङ्ग्ल्यान्डको उच्च मनोबल रहेको छ तर विश्वकपमा भने इङ्ग्ल्यान्डले अहिलेसम्म अमेरिकालाई हराउन सकेको छैन। सन् १९५० को विश्वकपमा अमेरिकासँग इङ्ग्ल्यान्ड १–० ले पराजित भएको थियो सन् २०१० को विश्वकपमा भने यी दुई राष्ट्रले १–१ ले बराबरीमा खेलेका थिए।

अमेरिकाविरुद्धको खेलमा बुकायो साका र युड बेलिङघमजस्ता इङ्ग्ल्यान्डका युवा स्ट्राइकरमा पुनः नजर रहनेछ। उहाँहरू दुवैले इरानविरुद्ध गोल गर्नुभएको थियो। यसैगरी अमेरिकी टिममा विश्वका महान् फुटबल खेलाडी जर्ज वेहका छोरा टिमोथी वेह हुनुहुन्छ। उहाँले नै वेल्सविरुद्ध गोल गर्नुभएको थियो। सो गोल गरेपछि वेहलाई महान् फुटबलर पेलेले बधाई पनि दिनुभएको थियो।

इरानले पीडा भुलाउन खेल्ने

समूह बीअन्तर्गत नै वेल्सविरुद्ध खेल्दा इरानले पहिलो खेलको लज्जास्पद पराजयलाई भुलाउने हिसाबले खेल्ने पक्का छ। वेल्सका मिडफिल्डर ह्यारी विल्सनले आफ्नो टिमविरुद्ध इरानले पहिलो खेलको फराकिलो हारलाई बिर्साउन खेल्ने अनुमान गर्नुभएको छ। इरान पहिलो खेलमा इङ्ग्ल्यानडसँग ६–२ ले हारेको थियो। यद्यपि इरानले अहिलेसम्म विश्वकपमा सहभागी भएको छ संस्करणमा एक पटक मात्र लगातार दुई खेल हारेको छ। वेल्सविरुद्ध इङ्ग्ल्यान्डको खेलमा घाइते भएका गोलरक्षक अली बेरनभान्डले नखेल्ने हुनुभएको छ। त्यसैले हुसेन हुसैनीसमक्ष आधा दर्जन गोलको पीडालाई भुलाउने मौका छ।

वेल्सले पनि अन्तिम समयमा गारेथ बेलको पेनाल्टी गोलको सहयोगमा बल्लतल्ल अमेरिकाविरुद्ध हार टारेको हो। बेलले वेल्सका लागि १०९ खेलमा ४१ गोल गरिसक्नुभएको छ। उहाँभन्दा बढी अन्तर्राष्ट्रिय खेल वेल्सका लागि क्रिस गन्टरले मात्र खेल्नुभएको छ।

वेल्सले सन् १९५८ पछि विश्वकपमा खेल जितेको छैन। त्यसैले सो गौरव हासिल गर्न वेल्सले इरानलाई लक्ष्य बनाएको छ। हुन पनि युरोपेली टिमविरुद्ध इरानले पछिल्ला नौ खेलमा जित हात पारेको छैन। यस क्रममा इरानले २० गोल बेहोरेको छ। वेल्सविरुद्धको हारले प्रशिक्षक कार्लोस क्विरोजको टिम विश्वकपबाट बिदा हुनेछ तर प्रशिक्षक क्विरोजको आफ्ना खेलाडीमाथि भरोसा छ। उहाँले भन्नुभयो, “सुरुमै गोल बेहोर्दा इङ्ग्ल्यान्डविरुद्ध हामी छिन्नभिन्न भयौँ। सुरुमै गोल बेहोर्ने हाम्रो बानी छैन तर वेल्सविरुद्धको खेलका लागि हामी पूर्ण रूपमा तयार छौँ।” 

फिफा वरीयतामा यी दुई टिमबीच एक स्थान मात्र फरक छ। वेल्स र इरानबीच अहिलेसम्म एक खेल मात्र भएको छ। ४४ वर्षअघि भएको सो खेलमा वेल्स १–० ले विजयी भएको थियो।

कतारसमक्ष अर्को मौका

उद्घाटन खेलमा इक्वेडरसँग २–० ले हारेपछि कतार पहिलो खेल हार्ने पहिलो आयोजक राष्ट्र बनिसकेको छ। अब दोस्रो खेल हारेमा कतार एक खेलअगाडि नै समूह चरणबाट बिदा हुनेछ। यसो भएमा कतार सन् २०१० मा दक्षिण अफ्रिकापछि विश्वकपको समूह चरणबाट पाखा लाग्ने दोस्रो आयोजक राष्ट्र हुनेछ।

कतारसमक्ष राम्रो प्रदर्शनसहित फुटबल समर्थकको मन जित्नु अर्को लक्ष्य हो। १२ वर्षअघि फिफाले कतारलाई विश्वकपको आयोजनाको अधिकार दिँदा निकै आलोचना भएको थियो। एक त कतार सानो मुलक हो भने दोस्रो कतारले यसअघि विश्वकप खेलेको थिएन तर कतार आयोजकको नाताले स्वतः चयन भयो। त्यसैले कतारसमक्ष विश्वकपमा खेल्नयोग्य छ भनेर देखाउने चुनौती पनि छ। तर कतारसामु इक्वेडरभन्दा पनि बलियो मानिएको सेनेगल छ। पहिलो खेलमा नेदरल्यान्ड्सँग अन्तिम समयमा दुई गोल बेहोरेर हारेकाले सेनेगल कतारविरुद्ध अझ आक्रामक बन्ने पक्का छ।

इक्वेडर–नेदरल्यान्ड्ससमक्ष नकआउटमा पुग्ने अवसर

समूह एमा सुरुको खेल जित्ने दुई टिम इक्वेडर र नेदरल्यान्ड्स नकआउट चरणमा पुग्न एक–अर्काविरुद्ध खेल्नेछन्। नेदरल्यान्ड्सलाई हराएमा इक्वेडरले सन् २००६ पछि पहिलो पटक विश्वकपमा लगातार दुई खेल जित्नेछ। तर नेदरल्यान्ड्स स्तरीय टिम हो। अझ इक्वेडरले पछिल्ला चार खेलमा युरोपेली राष्ट्रलाई हराउन सकेको छैन। यी चार खेलमा इक्वेडरले एक गोल मात्र गरेको थियो। नेदरल्यान्ड्स भने दक्षिण अमेरिकी टिमविरुद्ध पछिल्ला आठ खेलमा अपराजित छ। सन् १९९४ मा ब्राजिलसँग क्वार्टरफाइनल हारेपछि नेदरल्यान्ड्सले दक्षिण अमेरिकी टिमसँग हार बेहोरेको छैन। एजेन्सी