• १४ वैशाख २०८१, शुक्रबार

भूकम्पले बाजुरामा चौध घर भत्किए

blog

भूकम्पका कारण दर्किएको बाजुराको बडिमालिका नगरपालिका वडा न. ८ मा रहेको बाजुराका क्याम्पसको १० कोठे भवन । तस्बिर : शेरबहादुर सार्की

बाजुरा, कात्तिक २४ गते । बुधवार गएको भूकम्पका कारण बाजुरामा चौध वटा घरका छाना पूर्णरुपमा भत्किएका छन् ।

खप्तड राष्ट्रिय निकुञ्जमा केन्द्रबिन्दु बनाएर ६.६ रेक्टरको गएको भूकम्पले खप्तड राष्ट्रिय निकुञ्जसँगै रहेका बाजुराको खप्तड छेडेदह गाउँपालिका, बूढीगङ्गा, नगरपालिका लगायतका चौध घरछाना पूर्णरुपमा भत्किएका हुन् ।

बाजुरा खप्तड छेडेदह गा.पा. २ कर्द  बस्ने पृथ्वी बम, खडक थापा, विक्रम थापा, पारुदेवी रावल, प्रेम रावल  राजबहादुर रावल, मनदेवी रावल शेरबहादुर रावल, विक्रम रावल, हस्त रोकाया बुढिग‌‌‍गा नगरपालिका ८ मोटावाडा बस्ने खगेन्द्र खड्का, तुलसी देवी दमाई, हिमाली गा.पा. ५ नन्दापाटा बस्ने जयारुप कार्कीको घर भत्किएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

त्यसैगरी बूढी नन्दा ७ मा रहेको सिद्धेश्वरी आवासीय आधारभूत विद्यालय र बडिमालिका नगरपालिका ८ मा रहेको बाजुरा क्याम्पसमा १० कोठे भवनसमेत चिराचिरा परेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गिन्द्रबहादुर बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, भूकम्पका कारण अहिले बाजुरामा चौपाया तथा मानवीय क्षति नभए पनि भौतिक रूपमा भने ठूलो क्षति भएको छ ।

जिल्लाका नौ वटै स्थानीय तहमा प्रहरीले रिपोटिङ्ग गरिरहेको छ , कति भत्किएका छन् । कति घर दर्किएका हुन् । त्यसको यकिन तथ्याङ्क अझै नआइपुगेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी बोगटीले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले भूकम्पबाट केही घरछाना विद्यालय क्षति भए पनि मानवीय क्षति नभएको बताउनुभयो ।

Author

शेरबहादुर सार्की