• १४ वैशाख २०८१, शुक्रबार

पर्यटकलाई आकर्षित गर्न घोडेपानीमा घोडादौड प्रतियोगिता हुने

blog

ठाकुरप्रसाद आचार्य

म्याग्दी, कात्तिक १५ गते । म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल अन्नपूर्ण गाउँपालिका ६ स्थित घोडेपानीमा पर्यटकलाई आकर्षित गर्न घोडा दौड प्रतियोगिताको आयोजना गरिने भएको छ । कोरोनाका कारण थला परेको पर्यटन व्यवसायलाई उकास्न यहाँका घोडा व्यवसायी, टोल सुधार समिति, आमा समूह र पर्यटन व्यवस्थापन समितिको संयुक्त पहलमा यही कात्तिक १७ गते बिहीवार घोडादौड प्रतियोगिताको आयोजना गरिने भएको हो ।

घोडेपानीको भ्रमणमा आउने पर्यटकलाई मनोरञ्जन दिन र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले घोडा दौड प्रतियोगिता आयोजना गरिएको घोडेपानी टोलसुधार समितिका संयोजक विरेन पुनले बताउनुभयो । यतिखेर मौसम खुलेसँगै घोडेपानी र पुनहिल भ्रमण गर्न आउने पर्यटकको सङ्ख्या वृद्धि भएकाले घोडा दौड प्रतियोगिता गरेर पर्यटकलाई थप आकर्षित गर्न प्रतियोगिता आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । 

पुनहिल र घोडेपानीबाट सूर्योदय, हिमाल, पहाडी भूगोल र जङ्गल मनमोहक दृश्यावलोकन गर्न आउने पर्यटकका लागि घोडादौड प्रतियोगिता पनि अर्को आकर्षण बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । सामान ढुवानी, आवतजावत र पर्यटक बोक्नका लागि घोडेपानीमा घोडा पाल्ने गरिएको छ । 

परापूर्वकालमा घोडेपानी भोटमा नुन लिन जाने, दामोदरकुण्डको तीर्थयात्रा गर्ने र चिनियाँ तथा भारतीय बजार आवतजावत गर्ने बाटोमा थियो । समुद्री सतहदेखि करिब दुई हजार आठ सय मिटरको उचाइमा रहेको घोडेपानीमा बटुवाले घोडालाई पानी खुवाउने गरेकाले घोडेपानी नाम रहन गएको स्थानीयको भनाइ छ । घोडालाई पानी खुवाउने स्थान भएकाले यसको नाम घोडेपानी राखिएको स्थानीयहरुले बताउँछन् । 

घोडेपानीको छिमेकी कास्कीको घान्द्रुकमा घोडेजात्रा पर्वका अवसरमा घोडादौड प्रतियोगिता आयोजना हुँदै आएको छ । दुई ठाउँमा सँगसँगै पर्ने भएकाले घोडेपानीमा यसपालिदेखि शरद याममा प्रतियोगिता गर्न लागिएको घोडेपानी पर्यटन व्यवस्थापन समितिको अध्यक्ष मिना पुनले बताउनुभयो । 

घोडेपानीदेखि अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने घोप्टेखर्कसम्म सात किलोमिटर पाँच सय मिटरको दूरीमा घोडा दौडाउने तय भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित क्रमशः  ५१ हजार, ३१ हजार र २१ हजार रुपियाँ नगद प्रदान गरिनेछ । सहभागीका लागि दर्ता शुल्क प्रतिव्यक्ति  तीन हजार रुपियाँ तोकिएको आयोजकले जनाएका छन् ।