• १५ वैशाख २०८१, शनिबार

साफ यू-१५ महिला टोलीको बिदाइ

blog

बिदाइपछि यू-१५ महिला टोली । तस्बिर : एन्फा

काठमाडौं, कात्तिक ११ गते । बङ्गलादेशमा यही कात्तिक १५ गतेदेखि सुरु हुने साफ यू-१५ महिला साफ च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले खेलाडी टोलीको बिदाइ गरेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङले बिदाइ गर्नुभयो । 

च्याम्पियनसिपमा नेपाल, आयोजक बङ्गलादेश र भुटानगरी तीन देशको सहभागिता रहने छ । डबल राउन्ड रोविन लिगका आधारमा हुने च्याम्पियनसिपमा नेपालले पहिलो खेल भुटानसँग कात्तिक १५ गते खेल्नेछ ।

नेपालले दोस्रो खेल कात्तिक १९ गते आयोजक बङ्गलादेशसँग, तेस्रो खेल फेरि कात्तिक २३ गते भुटानसँग र अन्तिम खेल कात्तिक २५ गते बङ्गलादेशसँग खेल्नेछ । शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ ।

फरवार्ड दीपा रोकायाको कप्तानीमा रहेको नेपाली टोलीको गोलरक्षकमा राधिका ओली, सुजाता तामाङ र रुपा धिमाल, रक्षकहरूमा सीता रोकाया, अमिता भुल, दीपा मगर, अञ्जना पुनमगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बु र विपना स्नेही हुनुहुन्छ ।

मिडफिल्डरहरुमा सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सविता मण्डल, भूमिका बुढाथोकी, सुशीला केसी, सुक्रिया मिया, रेविका नेपाली र मनीषा सेन तथा फरवार्डमा दीपासहित समीक्षा मगर, वर्षा ओली र सेनु परियार हुनुहुन्छ ।

टोलीको प्रशिक्षकमा भगवती रानामगर हुनुहुन्छ । नेपाली टोली शनिबार बङ्गलादेश प्रस्थान गर्नेछ ।