• १५ वैशाख २०८१, शनिबार

दशैं विशेष

कोही उडेर त कोही गुडेर

blog

कोरोनाले थलिएका सामाजिक, सांस्कृतिक रीतिरिवाज तथा परम्परा पुनः बिस्तारै आफ्नो लयमा आउन थालेका छन् । स्वदेशमा होस् वा विदेशमा बसेका नेपालीले आफ्ना घरपरिवारसँग स्वतन्त्र र आनन्दले चाडबाड, मेला–पर्व तथा टीकाटालो गर्न नपाएको झन्डै चार वर्ष भयो । कोरोनाको डरले जो जता बसेको छ, त्यतै ज्यान जोगाउनुपर्ने बाध्यताले होला, यसअघिका चारवटा दशैँलगायत चाडपर्व खासै खुसी र आनन्दले मनाउन पाइएका थिएनन् तर यस पटक भने स्वदेश मात्र होइन, विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीसमेत स्वदेश फर्केर घरपरिवारसँग टीकाटालो गर्ने, आशीर्वाद लिने–दिने योजना बनाइरहेका छन् । 

चार वर्षदेखि जापानमा रहनुभएका गोरखाका निर्मल बस्ताकोटी दशैँ मनाउन स्वदेश फर्किनुभएको छ । अध्ययनका क्रममा जापान पुग्नुभएका बस्ताकोटी कोरोना महामारीका कारण पछिल्लो चार वर्षमा दशैँ मनाउन नेपाल फर्किन पाउनुभएको थिएन । बढ्दो कोरोना सङ्क्रमण, खर्चिलो हवाई उडान र झन्झटिलो होटल क्वारेन्टिनलगायतका कारण पछिल्ला तीनवटा दशैँ बस्ताकोटीजस्तै धेरै नेपालीले परदेशी भूमिमै बिताउनु पर्यो । विदेशमा रहेका नेपाली असोज लाग्दा नलाग्दै स्वदेश फर्किने क्रम बढ्न थालेको छ । आफ्नो थातथलो फर्किने क्रम बढेसँगै त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत व्यस्तता बढेको छ ।  विमानस्थल कार्यालयका अनुसार असोज २ गते दुई हजार ७५४, असोज ३ गते तीन हजार २११ र असोज ४ गते तीन हजार ३८१ नेपाली स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट असोज महिनामा सरदर ७० देखि ८० सम्म अन्तर्राष्ट्रिय उडान तथा अवतरण हुँदै आएका छन् । खाडी मुलुकभन्दा पनि युरोप तथा अमेरिकाबाट नेपाल भित्रिने नेपालीको सङ्ख्या बढी रहेको छ । 

हवाईजहाज चढ्ने बढे

चुनावको घोषणासँगै बढेको राजनीतिक चहलपहल र नजिकिँदो दशैँले आन्तरिक उडानमा थप चहलपहल बढेको छ । पछिल्ला दिनमा बसमा यात्रा गर्नेभन्दा हवाईजहाजमा यात्रा गर्ने आन्तरिक यात्रुको सङ्ख्या निकै बढेको छ । आन्तरिकतर्फको उडानमा भदौ लागेसँगै बढेको यात्रुको चहलपहल दशैँ नजिकिएसँगै भीड लाग्न थालेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ असोज लागेपछि दैनिक कम्तीमा १५ हजार यात्रुले हवाईयात्रा गरेका छन् । यो क्रम बढिरहेको छ । हवाईजहाजको टिकट ८० प्रतिशतभन्दा बढी बुकिङ भइसकेका छन् । पछिल्लो समय आन्तरिकतर्फ दैनिक १५० उडान र त्यति नै सङ्ख्यामा अवतरण हुँदै आएको विमानस्थल कार्यालयले जनाएको छ ।

नेपाल वायुसेवा सञ्चालक सङ्घका अनुसार अहिले आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दशैँका लागि थप उडान भर्ने योजना बनाएका छन् । असोजको पहिलो सातासम्म पनि झरी परिरहेका कारणले ठाउँठाउँमा बाटोघाटो बिग्रेकाले यस पटकको दशैँमा हवाई यातायातमा बढी चाप हुने देखिएको छ । अहिले नियमिततर्फका उडान भरिभराउ रहेको र घटस्थापनापछि थप उडानको आवश्यकताअनुसार उडानको सङ्ख्या बढाउने योजनाले यात्रुलाई सहज हुने स्थिति देखिएको छ । पछिल्ला दिनमा विराटनगर, धनगढी, भैरहवा, नेपालगञ्ज र तुम्लिङटार विमानस्थल बढी व्यस्त देखिएका छन् । 

हवाई भाडामा मनोमानी

हवाई सेवाको अग्रिम टिकट बुकिङ सँगसँगै आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले टिकट भाडामा पनि वृद्धि गरेका छन् । विगतमा काठमाडौँ–धनगढी हवाई भाडा सात हजार ५०० रुपियाँ रहेकोमा अहिले अधिकतम १७ हजार रुपियाँसम्म कायम गरिएको छ । अग्रिम टिकट काट्दा भने थपघट हुँदै आएको कम्पनीले जनाएका छन् । हाल सबैभन्दा कम हवाई भाडा विराटनगर–काठमाडौँको रहेको छ । 

विराटनगर–काठमाडौँ एकतर्फी भाडा न्यूनतम चार हजार ५०० देखि १० हजार रुपियाँसम्म कायम गरिएको छ । हवाई सेवा कम्पनीका अनुसार अहिले काठमाडौँबाट बाहिरिनेहरूको मात्रै नभई दशैँलगत्तै काठमाडौँ फर्कनका लागि टिकट लिनेको सङ्ख्यासमेत अधिक रहेको छ । अहिले दशैँको भोलिपल्ट काठमाडौँ फर्किन चाहने यात्रुले ७० प्रतिशत हवाई टिकट अग्रिम बुकिङ गरिसकेका छन् ।

व्यस्त सडक र सवारी

दशैँ नजिकिएसँगै देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा बसोबास गर्दै आएकाहरूसमेत बाहिरिने क्रम बढ्न थालेको छ । ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लका अनुसार असोज १ गते बुकिङ खुला भएपछि दैनिक १० हजारभन्दा बढी व्यक्तिले टिकट लिने गरेका छन् । दैनिक राजधानीबाट बाहिरिने सवारीबाट फर्किने यात्रुको सङ्ख्यासमेत बढ्दै गएको उहाँले बताउनुभयो ।

एकै पटक लाखौँ यात्रुले उपत्यका छाड्ने हुँदा यात्रु तथा सवारीको उचित व्यवस्थापन र सहज यात्राका लागि नयाँ बसपार्कमा थप १४ वटा टिकट काउन्टरबाट सेवा दिन थालिएको छ ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार नयाँ बसपार्कबाट देशका ३२ वटा टिकट काउन्टरबाट ७० वटा जिल्ला जाने सार्वजनिक बसको टिकट उपलब्ध हुँदै आएको छ ।  

घटस्थापनापछि यात्रुको चापको आधारमा गन्तव्यअनुसार थप बसको समेत व्यवस्थापन हुने उहाँले बताउनुभयो । यात्रुको सहजताका लागि नयाँ बसर्पाकसहित चाबहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलङ्कीलगायत स्थानबाट समेत अग्रिम टिकट बुकिङ भइरहेका छन् । ट्राफिक प्रहरी महाशाखाले चाडपर्व लक्षित विशेष सडक सुरक्षा अभियान चलाउने भएको छ ।

Author

मीनराज भण्डारी