• १५ वैशाख २०८१, शनिबार

पोखरा विमानस्थलमा पर्यटकलाई बाजागाजासहित स्वागत

blog

विश्व पर्यटन दिवसका अवसरमा मङ्गलबार पोखरा विमानस्थलमा पहिलो उडानबाट आइपुगेका पर्यटकलाई स्वागत गर्दै गण्डकी प्रदेशका शिक्षा, संस्कृति तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ । तस्बिर : राधिका कँडेल/रासस

कास्की, असोज ११ गते । मङ्गलबार ४३ औँ पर्यटन दिवसको अवसर पारेर पोखरा भित्रिने पर्यटकलाई स्वागत गरिएको छ ।

पोखरामा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा आज पोखरा विमानस्थलमा पहिलो उडानमार्फत पोखरा पुगेका पर्यटकहरुलाई बाजागाजासहित स्वागत गरिएको हो ।

कार्यक्रममा पर्यटकलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, पर्यटन बाेर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारी र पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले खादासहित सम्मान गर्नुभयो । उक्त अवसरमा पोखरामा रहेका विभिन्न पर्यटक सम्बद्ध सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार विमानबाट  ओर्लने पहिलाे भारतीय पर्यटक भारती पाण्डे, दोस्रो स्पेनका नागरिक इर्न अर्टिज रोवियो र तेस्रो स्पेनकै जेन्से कार्कोसलाई खादा र प्रमाणपत्रसहित स्वागत गरिएको हो ।

त्यस्तै, पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले काठमाडौंमा आउने विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीका प्रतिनिधिहरुलाई पोखरा विमानस्थाल अवलोकनका लागि बोलाइएको र पर्यटन प्रवर्धनको बारेमा छलफल गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देखाउँछौँ । काठमाडौंमा आउने विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीका प्रतिनिधिलाई पोखरा बोलाएका छौँ । कोभिडपछि अब हामी पूर्णरुपमा पर्यटन व्यवसाय सञ्चालन गर्न तयार छौँ । पोखरालाई पर्यटनसँग झनै धेरै जोड्नका लागि कार्यक्रम गरिरहेका छौँ ।’’

उनीहरुलाई प्रमाणपत्र प्रदान गरेर र खादा लगाइदिएर मन्त्री श्रेष्ठले स्वागत गर्नुभएको थियो । अध्यक्ष श्रेष्ठले उनीहरु तीन जनासहित पहिलो उडानमार्फत पोखरा भित्रिने पर्यटकका लागि विभिन्न प्याकेजमा छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

पर्यटन दिवसको अवसर पारेर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन, अन्तरक्रियासँगै पोखराको राष्ट्र बैंक चोकस्थित पर्यटन बसपार्कमा बसमा यात्रा गरेर आउने पर्यटकलाई स्वागत गरिएको छ  । यसका साथै पोखरास्थित विभिन्न पर्यटन सम्बद्ध सङ्घसंस्थाहरुले विभिन्न कार्यक्रम गरेर विश्व पर्यटन दिवस मनाउँदैछन् । नयाँ विमानस्थल छिटो सञ्चालनमा ल्याउनसमेत माग गरेका छन् । साँझ पोखराको लेकसाइडमा मिनी सडक महोत्सवको आयोजना गरिने भएको छ ।